सभामुख सापकोटाद्वारा समवेदना

Posted on: 14 Aug, 2020

साउन ३०, काठमाडौँ | सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा ठूलो पहिरामा परी मृत्यु भएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नुभएको छ । 

अविरल बर्षापछि गाउँमाथिबाट खसेको पहिराले ३७ घरमा गम्भीर क्षति पुगेको छ । तीमध्ये १३ घर पूर्ण रुपमा पुरिएका छन् । पहिरामा परेका ३८ स्थानीयमध्ये ११ को शव निकालिएको छ । सभामुख सापकोटासहितको टोलीले आज पहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणसमेत गर्नुभएको थियो । 

घटनास्थलबाट तत्काल पाँचजना घाइतेको उद्धार गरी उपचारका लागि चौतारा र काठमाडौँ पठाइएको थियो । स्थानीयवासीले आफ्नो गाउँमा परेको पीडाबारे सभामुख सापकोटालाई जानकारी गराएको उहाँका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिनुभयो । पहिरो स्थल पुगेको नेपाली सेनाको टोलीसँगको समन्वयमा तत्काल खोजी कार्य शुरु गरिएको तथा नेपाल प्रहरी र स्थानीयवासीको सक्रियतामा खोजी जारी रहेको छ । 

पहिराका कारण विस्थापित भएकाका लागि तत्काल राहत सामग्री पठाउने काम गरिएको छ । बेपत्ताको खोजी र पुनस्र्थापनाका लागि पहल जारी रहने सभामुख सापकोटाले स्थानीयवासीलाई विश्वास दिलाउनुभएको छ । 


भूकम्पका कारण ठूलो जनधनको क्षति र भौगोलिक रुपमा जर्जर भएको भूगोलका कारण अझै यस्ता प्राकृतिक विपत्तिका घटना दोहोरिन सक्ने भएकाले सचेत रहन सम्पूर्ण जिल्लावासीलाई सभामुख सापकोटाले अपिल गर्नुभएको छ । 

यसैगरी गए राति कालीकोटको महावै गाउँपालिकामा खसेको पहिरामा परी एकै परिवारका छ जनाको मृत्यु भएको र मकवानपुरमा पनि एक जनाको मृत्यु भएको खबरले आफूलाई दुःखित तुल्याएको सभामुखले उल्लेख गर्नुभएको छ । 

सिन्धुपाल्चोकका लिदीवासी, कालीकोट र मकवानपुर जिल्लामा पहिरामा परी सिन्धुपाल्चोकको लिदीबाट उद्धार गरी चौतारा अस्पतालमा उपचार गराइरहेका चारजना र काठमाडौँस्थित सिभिल अस्पतालमा उपचार गराइरहेका घाइतेको शीघ्र स्वास्थ्यलाभको कामनासमेत सभामुख सापकोटाले गर्नुभएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!