प्रदेश नं ५ को सूचना टाँसेर बैठक स्थगन

Posted on: 18 Jun, 2018

असार ४, बुटवल | प्रदेश नं ५ मा प्रदेशसभाको बैठक आज स्थगन भएको छ । 

प्रदेशसभाका सभामुख पूर्णबहादुर घर्तीले विशेष कारण जनाउँदै बैठक स्थगन भएको सूचना टाँस गरेर जानकारी दिनुभएको छ । 

यसअघि २० मिनेटका लागि प्रदेशसभाको बैठक स्थगन भएको थियो । 

प्रदेश नं ५ मा प्रतिपक्ष नेपाली काँग्रेसले बजेटमा असहमति जनाउँदै प्रदेशसभाको बैठकमा उभिएर विरोध गरेपछि सभामुख घर्तीले केही समयका लागि बैठक स्थगन गर्नुभएको थियो । 

बैठक शुरु हुनासाथ नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरीले प्रदेशसभाको हैसियत स्पष्ट नभएको भन्दै हामी सुकुम्बासी वा टुहुरा हौँ भनेर प्रश्न गर्नुभयो । 

उहाँले बजेटलाई कनिका छरेजस्तो भएको टिप्पणी गर्दै बजेटमा नीति कार्यक्रम अभिव्यक्त नभएको आरोप लगाउनुभयो । 

उहाँले भन्नुभयो, “बजेट सैद्धान्तिकरुपमा असफल भएको छ र बजेटमा हाम्रो सुनुवाइ नभएसम्म कारवाही अघि बढ्दैन ।” बैठक भोलि मङ्गलबारका लागि तोकिएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!