अमेरिकी नागरिकता त्यागेका लामिछानेले अब यसरी पाउँछन् नेपाली नागरिकता

Posted on: 21 Jun, 2018

असार ७, काठमाडौँ | पत्रकार रवि लामिछानेले अमेरिकी नागरिकता र राहदानी त्याग्दै नेपालमै पत्रकारिता गर्ने बाटो रोजेका छन् । 

लामिछानेले गैरकानूनी ढंगले काम गरिरहेको पत्र अध्यागमन विभागले प्रेस काउन्सिललाई पठाएको २४ घण्टा नबित्दै लामिछानेले बुधबार अमेरिकी दूताबासमा पासपोर्ट र नागरिकता त्याग सम्बन्धी आवेदन दिएको जानकारी गृह मन्त्रालय मार्फत प्रेस काउन्सिलले प्राप्त गरेको छ । लगत्तै प्रेस काउन्सिलले लामिछानेलाई मर्यादित रुपमा पत्रकारिता गर्न निर्देशन गर्दै बिज्ञप्ति समेत निकालेको छ ।

लामिछानेविरुद्ध परेका उजुरीको छानविनका क्रममा गत चैत २३ गते प्रेस काउन्सिलले लामिछानेलाई स्पष्टीकरण सोधेको थियो । जवाफमा लामिछानेले आफू विदेशी नागरिक नभएको, पत्रकार पनि नरहेको र श्रम इजाजत लिएको दाबी गरेपनि लामिछानेको दाबी झूठो रहेको पत्र अध्यागमन विभाग र श्रम विभागले प्रेस काउन्सिललाई बुझाएको थियो । काउन्सिलले यस बिषयमा छलफल समेत चलाएको थियो । लगत्तै रवि लामिछानेले अमेरिकी नागरिकता र राहदानी त्यागेको निवेदन दिएका थिए । 

रवि लामिछानेले यस अघि नेपाली नागरिकता त्याग्दै अमेरिकी नागरिकता लिएका थिए ।  अब उनले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता कसरी पाउलान भन्ने धेरैलाई कौतुहलता जागेको छ । 

पत्रकार लामिछानेले अमेरिकी नागरिकता र राहदानी त्यागेकाले उनलाई पुन: नेपाली नागरिकता लिने बाटो खुलेको छ । 

नेपालको कानुन अनुसार नागरिकता ऐन २०६३ को दफा ११ मा ‘पुनः नेपाली नागरिकता कायम हुने’ शीर्षकमा उल्लेख भए अनुसार कुनै नेपाली नागरिकले विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि पुनः नेपालमा आई बसोबास गरेको र विदेशी मुलुकको नागरिकता त्यागेको निस्सा तोकिएको अधिकारीलाई दिएमा त्यस्तो निस्सा दर्ता भएको मितिदेखिनै निजको नेपाली नागरिकता पुनः कायम हुनेछ । यस नियम अनुसार लामिछाने अब नेपाली नागरिकता बनाउन पाउनेछन् । ऐन अनुसार लामिछानेले अब पुन: नेपाली नागरिकता भने लिइराख्नु पर्दैन । अमेरिकाको नागरिकता त्यागेको निस्सा जिल्ला प्रशासनमा बुझाउनासाथ उनको बंशजको नागरिकता पुनः कायम हुनेछ । यदी उनको पुरानो नागरिकता छैन वा हराईसकेको भए, पुरानोकै प्रतिलिपि लिन सक्नेछन् । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!