कोलकाता चेन्नईसँग पराजित भएपछि मुम्बई इन्डियन्स आइपीएलको प्लेअफमा पुग्यो

Posted on: 30 Oct, 2020

कात्तिक १४, काठमाडौँ | साविक विजेता मुम्बई इन्डियन्स यूएईमा जारी १३ औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटको प्ले अफमा पुगेको छ । 

दुबईमा बिहीबार राति भएको खेलमा चेन्नई सुपर किङ्सले कोलकाता नाइट राइडर्सलाई पराजित गरेपछि मुम्बई प्ले अफमा पुगेको हो । तालिकाको पुछारमा रहेको चेन्नईले कोलकातालाई हराएपछि शीर्ष स्थानको मुम्बई प्ले अफ पुग्ने पहिलो टिम बनेको हो ।

दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा चेन्नईले कोलकातालाई ६ विकेटले पराजित गरेको थियो । कोलकाताले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले २० ओभरमा ४ विकेट गुमाएर पुरा गरेको थियो ।


मुम्बईले १२ खेलमा १६ अंक जोडेको छ । अब बाँकी रहेको २ खेल गुमाए पनि मुम्बई शीर्ष चारमा रहनेछ । 

चेन्नई कोलकातासँग पराजित भएको भए मुम्बईले प्ले अफ पुग्न अझै एक खेल कुर्नु पर्ने थियो । अब बाँकी तीन टिमले प्ले अफमा स्थान बनाउन प्रतिस्पर्धा गरिरहेका छन् । 

तालिकाको दोस्रो स्थानको रोयल च्यालेन्जर्स बैंगलोर र तेस्रो स्थानको दिल्ली क्यापिटल्सले १२ खेलमा १४ अंक जोडेका छन् । दुबै टिम प्ले अफको मुख्य दाबेदार टिम हुन् ।

यस्तै चौंथो स्थानको किङ्स इलाभेन पन्जाब र पाँचौको कोलकाताको समेत सम्भावना रहेको छ । पन्जाब र कोलकाताले १२ खेलमा समान १२/१२ अंक जोडेका छ ।

सनराइजर्स हैदराबाद र राजस्थान रोयल्सको पनि प्ले अफ सम्भावना रहेको छ । दुबैले १०/१० अंक जोडेका छन् । चेन्नई भने प्रतियोगिताबाट बाहिरिसकेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!