ईपीएल : हाई स्कोरिङ खेलमा ललितपुरको पहिलो जित

Posted on: 01 Oct, 2021

असोज १५,  काठमाडौं। डिफेण्डिङ च्याम्पियन ललितपुर प्याट्रीयट्सले चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटमा शुक्रबार पहिलो जित हात पारेको छ । त्रिवि क्रिकेट मैदानमा शुक्रबार विराटनगर वारियर्सलाई ३७ रनले पराजित गर्दै ललितपुरले पहिलो जित दर्ता गरेको हो ।

ललितपुरले दिएको २ सय २७ रनको लक्ष्य पाएको विराटनगरले जवाफी ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो । विराटनगरका लागि दिल्शन मुनाविराले ५९ रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीको हार टार्न सकेनन् ।

यस्तै आसिफ शेखले ३७ रन जोड्दा चन्द्रपउल हेमराजले २८ रन जोडे । सिकन्दर राजा २४ रनमा आउट भए । अनिल साह ८, कप्तान करण केसी ४, सुमित महर्जन २ रनमा आउट हुँदा सौरभ खनाल शून्य रनमा आउट भए।

बसन्त रेग्मी ९ रनमा अविजित रहँदा प्रतिष जिसीले अविजित ४ रन बनाए । ललितपुरका अज्मतुल्लाह ओमारजाईले ४ विकेट लिए । ललित राजवंशीले २ तथा योगेन्द्र सिंह कार्कीले १ विकेट लिए । 

यसअघि सन्दुन विराकोड्डी र अज्मतुल्लाह ओमारजाईको अर्धशतकीय इनिङ्स खेलेपछि ललितपुरले ५ विकेट गुमाएर निर्धारित २० ओभरमा २ सय २६ रनको विशाल योगफल तयार पारेको थियो ।

ललितपुरले तयार पारेको यो योगफल ईपीएल इतिहासकै सर्वाधिक ठूलो योगफल हो । यस अघि २०१८ मा भैरहवा ग्लाडीयटर्सले पोखरा राइनोजविरुद्ध बनाएको २ सय १६ रन सर्वाधिक उच्च रहेको थियो

यस बिषयमा तपाइको प्रतिक्रिया...!