हुवावेले ल्यायो आफ्नै म्याप सर्भिस, गुगल म्यापलाई टक्कर

Posted on: 18 Aug, 2019

भदौ १, एजेन्सी | चिनिाँ कम्पनी हुवावेले गत हप्ता आफ्नै स्मार्टफोन अपरेटिङ सिस्टम सार्वजनिक गरी प्रविधि क्षेत्रमा हलचल पैदा गरेको थियो । हुवावेको यस अपरेटिङ सिस्टमले गुगलको एन्ड्रोइडलाई टक्कर दिने अनुमान गरिएको छ । आवश्यक परेको बेला हुवावे जुनसुकै बेला एन्ड्रोइडबाट आफ्नै अपरेटिङ सिस्टममा सिफ्ट गर्न सक्दछ ।

अपरेटिङ सिस्टममार्फत् गुगललाई चुनौती पेश गरेको हुवावे यत्तिमा रोकिनेवाला छैन । अब गुगल म्याप्सलाई टक्कर दिनका लागि उसले आफ्नो नेभिगेसन सिस्टम तथा म्याप सर्भिससमेत ल्याउने तयारी गरिरहेको छ ।

एन्ड्रोइड अथोरिटी नामक वेबसाइटका अनुसार हुवावेले आफ्नै म्याप सर्भिसको विकास गरिरहेको छ । चाइना डेली पत्रिकालाई उद्धृत गरिएको उक्त रिपोर्ट अनुसार हुवावेको म्याप सर्भिसको नाम Map Kit हुन सक्दछ ।

हुवावेको म्याप किटले रियल टाइममा ट्राफिक अवस्था, लेन परिवर्तनको पहिचान तथा अगमेन्टेड रियालिटीसँग सम्बन्धित फिचरलाई सपोर्ट गर्नेछ । यो सर्भिस यहीँ अक्टोबरमा लञ्च हुने र यसले विभिन्न ४० वटा भाषाहरुमा उपलब्ध हुने बताइएको छ ।

हुवावेले हालै सार्वजनिक गरेको आफ्नो हार्मोनी अपरेटिङ सिस्टम सुरुवातमा चीनमा लञ्च हुने कम्पनीको कन्जुमर डिभिजनका सिइओ रिचर्ड यूले बताएका छन् । चीनमा लञ्च गरेपश्चात् मात्र यो अपरेटिङ सिस्टम विश्वव्यापी रोलआउट गरिनेछ ।

उनका अनुसार हुवावे कम्पनी स्मार्टफोनका लागि एन्ड्रोइडसँग जोडिइरहनेछ तर यदि परिस्थितिवस् आवश्यक ठानिएमा कम्पनी आफ्नै अपरेटिङ सिस्टममा तुरुन्तै फड्को मार्न सक्नेछ । गुगलको यस कदमले उसको अब गुगलमाथिको निर्भरता अन्त्य भएको देखाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!