आजदेखि मोबाइल खरिदमा ‘आईएमईआई’ दर्ता अनिवार्य

Posted on: 16 Jul, 2021

साउन १, काठमाडौं । आजदेखि सञ्चालनमा आउने मोबाइलको नेपाल दूरसञ्चार प्राधिकरणले आईएमईआई दर्ता अनिवार्य गरेको छ ।  राज्यलाई राजस्व छलेर नेपाल भित्रिने मोबाइलको नियन्त्रणसँगै आपराधिक क्रियाकलापमा संलग्नलाई पक्राउ गर्न सजिलो हुने हुँदा साउन १ गतेदेखि यो नियम कडाइसाथ लागू गरिएको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

यो नियम पहिलेदेखि रहिआएको तर हाल आएर कडाइ गरिएको उनको भनाइ छ । पौडेलका अनुसार विदेशबाट सीधै खरिद गरेर ल्याइएका मोबाइललाई प्राधिकरणको अनलाइनमा दर्ता गरेपछि मात्रै सञ्चालनमा आउनेछ ।

हाल चलिरहेका मोबाइललाई यो नियम कडाइका साथ लागू नभए पनि आजदेखि सञ्चालनमा आएका मोबाइलमा भने यो नियम कडाइका साथ लागू हुनेछ ।

नेपालमा खरिद गरिएका मोबाइल नेपाल भित्र्याउने कम्पनीले दर्ता गर्ने हुँदा त्यसको सबै जानकारी प्राधिकरणसँग हुने र बाहिरबाट ल्याइएका मोबाइलको कुनै जानकारी नहुँदा त्यस्ता मोबाइलबाट आपराधिक क्रियाकलापसमेत हुने गरेको र त्यसको नियन्त्रण गर्न मोबाइल दर्ता अनिवार्य गरेको प्राधिकरणले जनाएको छ । 

साउन १ गतेभन्दा पहिले सञ्चालनमा आएका मोबाइलमा कुनै समस्या नदेखिने भए पनि आजदेखि भने आईएमईआई दर्ताबिना नेपालको नेटवर्कमा मोबाइल सञ्चालन नहुने दूरसञ्चार प्राधिकरणका निर्देशक मीनप्रसाद अर्यालको भनाइ छ ।

नेपालमा राजस्व तिरेर खरिद भएका मोबाइलको रेकर्डिङ प्राधिकरणसँग हुने हुँदा राजस्व छली भएर भित्रिएका मोबाइलको सेवा सञ्चालन बन्द गर्न यो नियम कडाइका साथ लागू गर्न लागिएको उनको तर्क छ । यो समाचार समाचार पत्र दैनिकमा छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!