देश विकासको मूलबाटो

Posted on: 05 Jan, 2018

भबिसोर पराजुली | बर्तमान अवस्थामा देश विकासको मूलबाटो गाउँकोँ विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियान कार्यान्वयनमा ल्याउनुपर्ने अनिवार्य आवश्यकता रहेको छ । विकसित मुलुकहरुले यसप्रकारको गाउँ केन्द्रीत सामुदायिक अभियानलाई प्रमूख मान्यता दिदै आएका छन् । धेरै देशहरुले राष्ट्रिय एकता र छिटो विकासका लागि यस प्रकारको अभियानलाई कार्यान्वयन ल्याएका छन् र सफल पनि हुदै आएका छन् । यसले सवै जनतालाई सहभागिता गराउँदछ र रोजगारी पनि प्राप्त हुन्छ । त्यसले जनताको जीवन स्तरमा पनि ठुलो अन्तर पार्दछ । त्यसैले यसप्रकारको गाउँ केन्द्रीत सामुदायिक अभियानले विश्वव्यापी रुपमा मान्यता पाउदै गएको छ । र नेपालमा पनि गाउँको विकास र सम्वृद्धि लागि यसप्रकारको गाउँ केन्द्रीत सामुदायिक अभियानको आवश्यकता महशुस हुँदै गईरहेको छ । विश्वका कतिपय देशहरुले यसप्रकारको अभियानलाई विकासको लागि अपरिहार्य बनाउने गरेका छन् । त्यसले उत्पादनमा ठुलो वृद्धि भएको छ । तर हाम्रो देशमा सरकारले गाउँ केन्द्रीत यसप्रकारको सामुदायिक अभियान लागु गरेको छैन । त्यो अवस्थामा यस प्रकारको अभियानलाई लागु गरी विकास र सम्वृद्धि लागि अधिकत्तम प्रयत्न गर्दै यसलाई व्यवस्थित गर्न योजनाबद्ध प्रकारको प्रयत्न गर्नुपर्दछ । 

नेपालमा यसप्रकारको सामुदायिक अभियानको सन्दर्भमा विचार गर्दा प्रारम्भमा नै एउटा कुराप्रति हाम्रो ध्यान जानुपर्ने आवश्यकता छ । जहाँ सामुदायिक विकास हुन्छ । त्यहाँ नीजिकरण गर्ने प्रवृति हावी हुदैजान्छ । त्यसको उदेश्य सामुदायिकता अन्त्य गर्ने र पुजीलाई नीजिकरण गर्ने हुन्छ । त्यहीनेर सचेत भई नीजिकरण गर्ने प्रवृतिलाई निरुत्साहित गर्नुपर्छ । नत्र भने सामुदायिक उद्योग वा व्यवसायबाट हुने ठूलो मुनाफाको हिस्सा उनीहरुले लैजान्छन् र जनताको ठूलो भाग त्यसबाट हुने आयबाट बञ्चित हुन्छ । त्यही कुरा सामुदायिक क्षेत्रमा पनि सत्य हो । सामुदायिक उद्योगको विकासका साथै त्यसबाट  हुने आएको उत्पादन न्यायपूर्ण वितरण होस् र जनसाधारण पनि त्यसबाट लाभान्भित हुन सकुन । त्यसप्रति पनि ध्यान जान जरुरी छ । 

अहिलेसम्म नेपालको विकासलाई हेर्दा देशका केही सहरलाई महत्व दिने गरिएको छ । तर देशलाई वास्तवमै विकास र सम्वृद्धिको दिशामा लैजान अर्को पक्षप्रति हाम्रो ध्यान केन्द्रीत हुनुपर्ने आश्यकता छ । त्यो हो गाउँको विकास र समृद्धि । यो पक्षलाई विकसित र सम्वृद्ध गर्ने प्रयत्न गरियो भने त्यसले सम्वृद्ध र विकसित राष्ट्र निर्माणका लागि नयाँ आधार बन्नेछ । अर्को अर्थमा भन्ने हो भने यसले नेपालको आर्थिक क्रान्ति नै ल्याउने छ । त्यसबारे देशका सवै पिछडिएका गाउँहरुको विकासमा धेरै मद्धत पुग्नुका साथै जनसाधारणलाई प्रत्यक्ष रुपमा धेरै लाभ पुग्नेछ । सरकारले कार्यान्वयनमा ल्याएको १४ औ योजना खाली विकास सम्बन्धी परम्परागत पक्षप्रति नै जोड दिइएको छ । गाउँ केन्द्रीत कुनै ठोस सामुदायिक विकास योजना बनाएको छैन । तर गाउँको विकास प्रति मानिसहरुको रुचि बढ्दै गएको छ र त्यसलाई सरकारलै नै विशेष ध्यान दिने हो भने यसले देशको विकासमा महत्वपूर्ण टेवा पुर्याउने निश्चित नै देखिएको छ । तर यहाँ विकासबारे विचार गर्दा आम रुपमा गाउँको विकासको पक्षतिर कम ध्यान दिने गरिन्छ । त्यस प्रकारको पृष्ठभूमिमा नेपालको वर्तमान अवस्थामा गाउँको विकास र सम्वृद्धि विना देशलाई विकसित र सम्वृद्ध बनाउन सकिदैन । त्यसलाई सार्थक रुप दिन राष्ट्रिय रुपमै सम्वृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक अभियान कार्यान्वयनमा ल्याउनुपर्ने विषयमा केन्द्रीत भई त्यही विषयमा चर्चा गर्ने जमर्को गरिएको छ । 

बास्तबमा गाउँकोँ विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियानको संभावना अत्यन्त ठूलो छ । यसले यो कुरा स्वतहसिद्ध छ कि नेपालका प्रत्येक गाउँ विकासका केन्द्र हुन सक्दछन् । नेपाल गाउँ–गाउँले भरिएको देश हो । प्रत्येक गाउँका आ–आफ्ना बेग्लाबेग्लै प्रकारका प्राकृतिक, ऐतिहासिक विशेषताहरु छन् । यी सबै सामुदायिक विकासका सम्भावना हुन सक्दछन् । तिनीहरुलाई समेटेर सामुदायिक विकास अभियानको माध्यम द्धारा धेरै नै विकास गर्न सकिन्छ । 

सम्वृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक विकास अभियान मुख्यत गाउँलाई छोटो समयमा विकसित र सम्वृद्ध बनाउन सकिने विकासको मोडेल हो । विकास भन्नाले गाउँको सामाजिक, आर्थिक लगायत सवै क्षेत्रको विकास भनेर बुझ्नुपर्छ । तर त्यसको लागि सरकारले महत्वपूर्ण भुमिका खेल्नुपर्छ । यसमा सरकार बाहय पक्ष हुन्छ भने । गाउँ आन्तरिक पक्ष हो । गाउँको विकासका लागि दुवैपक्षको घनिष्ट सम्बन्ध हुनुपर्छ । एकातिर गाउँले मात्र मिलेर विकास हुन सक्दैन । अर्को सरकारको नीति, नेतृत्व र लगानी विना यो संभव छैन । त्यसरी यी दुवैको एकता र सहकार्य रहेमा यसप्रकारको अभियानले गाउँहरुको विकासको व्यापक सम्भावना बढेर जानेछ । त्यसको अर्थ यो पनि हुन्छ । नेपालमा गाउँको विकास हुनुको साथै सामुहिक रुपमा काम गर्ने संस्कारको विकास हुँदै जानेछ । त्यो अवस्थामा नेपालका सहरहरुमा केन्द्रीत विकास गाँउहरुमा विस्तार हुनेछ । त्यसरी गाउँको विकासले गाउँलाई सम्वृद्धितिर लैजाने मात्र नभई त्यसले देशको समग्र विकासमा पनि नयाँ आयाम थप्ने र गुणात्मक फड्को ल्याउने काम गर्नेछ । त्यसैले पनि गाउँहरुलाई विकसित र सम्वृद्ध बनाउनको लागि गाउँकोँ विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियानलाई केन्द्रीय सरकारले आफ्नो नीति तथा कार्यक्रममा समावेश गरी राष्ट्रव्यापी रुपमा कार्यान्वयनमा ल्याउनपर्छ । त्यसले पिछडिएको हाम्रा जस्तो देशलाई उन्नत राष्ट्रको रुपमा विकास गर्न र जनसाधारणको आर्थिक स्तर उठाउन पनि बलियो आधार प्रदान गर्दछ । 

राष्ट्रिय योजना आयोगले कार्यान्वयनमा ल्याएको १४ औ योजनामा गाउँको विकासको लागि केही उल्लेख गरिएको छ । यद्यपी यो पर्याप्त छैन । फेरि पनि ग्रामिण क्षेत्रको विकास गर्ने योजनाले त्यो दिशामा केही मदत पुर्याउने छ । तैपनि गाउँ केन्द्रीत विकासलाई उपेक्षा गरिएको छ । बजेटले पनि त्यसबारे खासै ध्यान दिएको पाइदैन । यद्यपी जनस्तरबाट त्यो दिशातिर प्रयत्न भईरहको छ । गाउँहरुमा सामुहिक तरकारी खेती, सामुहिक पशुपालन, आदि त्यो दिशामा गरिएका केही उल्लेखनीय उदाहरण हुन् । त्यो बाहेक कुन गाउँमा कस्तो उद्योग वा व्यवसायलाई संचालन गर्न खास–खास विषयहरु के–के हुन् । त्यो पक्षको अध्ययन गर्ने र विकसित गर्नुपर्ने आवश्यकता हुन्छ । विभिन्न गाउँहरुमा त्यहाँ हुने उत्पादन र उत्पादनका लागि रुचि वा अध्ययनका विषयहरु हुन सक्दछन् । त्यसलाई विचार पु्र्याई सम्बन्धित गाउँको वस्तुगत अवस्था, त्यहाँ हुने उत्पादनका साथै उत्पादनका लागि आवश्यक पुर्वाधारहरुको पनि गहिरो सँग खोजीकार्य गर्नुपर्दछ । कतिपय गाउँमा खनिज पदार्थका खानीहरु हुनसक्दछन् । तिनीहरुको अध्ययन अनुसन्धान वा उत्खनन कार्यलाई जोड दिनुपर्दछ । वास्तवमा नेपालका प्रत्येक गाउँमा त्यस प्रकारका वेग्लावेग्लै संभावनाहरु छन् । ती सम्भावनाहरुलाई विकसित गर्ने प्रयत्न गरेमा गाउको विकासका लागि धेरै संभावनाहरु अगाडि आउन सक्दछन् । अर्को शब्दमा केही प्रयत्न गर्ने वितिकै थोरै समयमा नै नेपालमा सयकडौ होइन, हजारौ विकसित र सम्वृद्ध गाउँहरु हुन सक्दछन् । त्यसले नेपालको आर्थिक सम्वृद्धिका लागि बलियो आधारशिला निर्माण गर्नेछ ।   

गाउँको विकास र सम्वृद्धिका लागि वास्तविक विकासको मोडेल सामुदायिक विकास परियोजना नै हो । यसलाई गाउँकोँ विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियानका नामले सरकारको नीति तथा कार्यक्रममा समावेश गराई प्रत्येक गाउँ स्तरमा लैजान प्रयास गर्दै आएका छौं । त्यसलाई योजनाबद्ध सम्वन्धित पक्षसँग छलफल र बहसका साथै जनस्तरमा सचेतना कार्यक्रमहरु हुदै आएको छन् । त्यसको लागि केन्द्रिय स्तरमा एउटा समिति बनेको छ र त्यस समितिको पहलमा देशका विभिन्न गाउँहरुमा सामुदायिक विकास अभियान सुरुगर्न सर्वेक्षण र अध्ययनको काम पनि थालिएको छ । त्यो समितिको पहलमा सामुदायिक विकासका क्षेत्रमा उल्लेख योगदान पुर्याएका व्यक्तित्वहरुको सहयोगमा सम्वृद्ध गाउँ निर्माणका लागि नयाँ सामुदायिक अभियानको रोडम्याप पनि तयार भएको छ । मुख्यत गाउँ विशेषतः सामुदायिक विकासको क्षेत्रमा उल्लेख्य योगदान पु्र्याउँदै आएका विभिन्न संघ सस्था र व्यक्तित्वहरु सँग भेटघाट गरी यस योजना कार्यान्वयनमा ल्याउन शिक्षा र प्रेरणा लिने काम भएको छ । हाम्रा यी प्रयासले यसप्रकारको अभियान प्रति जनतामा असाध्य उत्साह एवं आशा र भरोसा जागेको अनुभूति गरिएको छ ।  

नेपालको सन्दर्भमा तिव्र विकास गर्न सकिने तराई, र पहाड क्षेत्रका गाउँहरु रहेका छन् । ती क्षेत्रहरु बाहेक हिमालका गाउँहरु पनि बिशेषतायुक्त रहेका छन् । तर त्यी गाउँहरुको विकासका लागि नयाँ विकास आधारहरुको खोजी वा निर्माण गनुपर्दछ । त्यसका लागि व्यापक संभावनाहरु पनि छन् । विकास सम्बन्धी रणनीतिका आधार नेपालका ७ वटै प्रदेशलाई समान र सन्तुलित रुपमा विकसित गर्ने योजनाका साथ यसअभियानलाई अगाडी बढाउनु पर्दछ । 

सरकारले विकास सम्बन्धि कैयौ योजनाहरु बनाउँछ । तर ती मध्य धेरै लागू हुदैनन् । कतिपयलाई कार्यान्वयन गर्ने प्रयत्न  गरिए पनि  कार्यान्वयनको दौरानमा ठूलो धनराशी भ्रष्टाचार हुन्छ । कुनै योजनालाई लागू गर्ने शिलशिलामा त्यो कार्यक्रमलाई बढि भन्दा बढी कसरी सफलतापूर्वक लागू गर्ने भन्दा त्यो कार्यक्रमलाई कार्यान्वयन गर्ने सिलसिलामा कति धेरै भ्रष्टाचार गर्ने ? त्यो कुरालाई प्राथमिकता दिएर काम गर्ने गरिन्छ । त्यो प्रवृति कर्मचारीहरुमा मात्र होइन, राजनीतिक दलहरुमा पनि काफि हदसम्म पाईन्छ । यहाँसम्म कि कैयौं कार्यक्रमहरु सम्पन्न गर्न दलिय वा जनस्तरमा उपभोक्ता समितिहरु बन्दछन् । त्यस प्रकारको उपभोक्ता समितिमा एकातिर, राजनीतिकरण गर्नेतिर प्रतिस्पर्धा हुन्छ भने, अर्कोतिर, कामलाई कार्यान्वयन गर्र्ने भन्दा त्यसबाट भ्रष्टाचार गर्न खोज्नेहरुको बाहुल्यता हुन्छ । कुनैपनि विकासका लागि रकम निकास भयो भने त्यसबारे कति लाभ उठाउने ? त्यतातिर सोच्ने प्रवृति पनि निकै पाइन्छ । जसले भ्रष्टाचार गर्न चाहन्छन, उनीहरुले माथिदेखि नै विभिन्न प्रशासकीय स्तरमा विकास रकमको भागवण्डा छुटाउँदै आउँछन् । जसले भ्रष्टाचार नगरीकन सेवा भावले काम सम्पन्न गर्न चाहन्छन् । उनीहरुलाई भ्रष्ट कर्मचारीहरुको सहयोग हुन्न । त्यस प्रकारका भ्रष्ट र गैरजिम्मेवार प्रवृतिहरुका कारणले धेरैजसो विकास कार्यक्रमहरु असफल हुन्छन् वा कार्यान्वयन भए पनि तिनीहरुको गुणस्तर कम हुन्छ । त्यही कुरा आजसम्म विकास निर्माण सम्बन्धी कार्यहरुको सन्दर्भमा पनि सत्य हो । तर गाउको विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिक अभियान कार्यान्वयन ल्याउँदा भ्रष्टचार हुनै नदिने नीति अभियान सँगै कार्यान्वयनमा ल्याउनुपर्दछ । 

संसारका विकसित देशहरुको तुलनामा नेपालका लागि गाउँ केन्द्रीत सामुदायिक विकास परियोजनाहरु अपेक्षाकृत नयाँ विषय हो । विभिन्न उत्पादन आदि रचनात्मक कायहरुबारे जनता धेरै अव्यस्त भईसकेका छन् । तर सरकारले यसप्रकारको सामुदायिक विकासलाई कम महत्व दिदै आएको छ । अझै गाउँमा यस्ता योजना कार्यान्वयनका लागि कमै महत्व दिदै आएको छ । त्यो अवस्थामा सर्वप्रथम उच्च राजनीतिक र प्रशासकीय स्तरदेखि जनस्तरसम्म सामान्यतः गाउँको विकास र सम्वृद्धिका लागि विशेषत नयाँ सामुदायिक अभियान विकास परियोजना रुपमा कार्यान्वयनमा ल्याउन योजनावद्ध प्रकारले प्रयत्न गर्नुपर्ने आवश्यकता रहेको छ । 

वास्तव यसप्रकारको अभियान लागु भई गाउँमा विकास हुन थाल्छ । त्यसबाट ठूला व्यवसायीहरु नै फाइदा उठाउन अगाडी आउँछन् । यतिवेला राम्रो ध्यान पुग्न सकेन भने जनसाधारणलाई अत्यन्त कम लाभ पुग्दछ । त्यसकारण यस्ता सामुदायिक विकासका योजनाबाट जनस्तरलाई बढीभन्दा बढी लाभ पुगोस् । त्यतातिर पनि हाम्रो ध्यान जानुपर्दछ । यस्ता गाउँका सामुदायिक विकास योजनाले स्थानीय जनतालाई बढी लाभ पुर्याउन सक्दछ । कुनै गाउँमा विकास धेरै भयो भने बाहिरका र कतिपय विदेशका पनि ठूला उद्योगी र व्यावसायीहरुले ठूला उद्योगहरु खोल्न थाल्दछन् । त्यसले वास्तवमा स्थानीय जनतालाई लाभ नगण्य हुन्छ । सरकारले कानुन बनाएर नै स्थानीय जनताको लाभ सुनिश्चित गरेर मात्र त्यहाँ बाहिरका ठूला उद्योगी वा विदेशी उद्योगीहरुलाई प्रवेश गर्न पाउने व्यावस्था गर्नुपर्दछ । 

विगत छ दशकहरुमा गाउँको विकासको र सम्वृद्धिको लागि राज्यस्तरबाट खासै प्रगति भएको छैन । गाउँ विशेष प्रगतिको लागि सम्वन्धित निकायले नीति तथा कार्यक्रम बनाएको पाईदैन भने गैर गैर–सरकारी स्तरमा गाउँको विकासका लागि कैयौं संघ सस्थाहरुको गठन र विकास भएको छ । गाउँको विकासका लागि भएका यी सवै कार्यहरु महत्वपूर्ण छन् । तर राष्ट्रिय अर्थतन्त्रमा गाउँको विकासले पुर्याउने योगदान र त्यसका लागि सरकारले विनियोजन गर्ने गरेको बजेट एकदम अपर्याप्त छ । प्रत्येक आर्थिक वर्ष गाउँको विकास लागि न्युन वजेट विनियोजन गरिएको हुन्छ । यही उदाहरणबाट पनि त्यो कुरा प्रष्ट हुन्छ । तर त्यही न्यून प्रतिशत रकम पनि गाउँको विकासका लागि मात्र नभएर समग्र ग्रामिण विकासको लागि छुटाइएको एकीकृत रकम हो । त्यो न्यून रकमले गाउँको विकासका लागि उल्लेखेनिय कामहरु सम्पन्न हुन सक्दैन । खास गरेर गाउँको विकासका लागि विशेष जोड दिने हो भने गाउँको लागी बजेट कैयौं गुणा बढाउनु पर्ने आवश्यकता छ । 

सामान्यतः गाउँको विकास र सम्वृद्धिका लागि नयाँ सामुदायिकक अभियान बारे विचार गर्दा यस अभियानलाई परियोजनाका रुपमा गाउँमै सामुदायिक तवरले ५० प्रतिशत ऋण, ३० प्रतिशत अनुदान र २० प्रतिशत समुदायको लगानीमा उद्योग वा व्यावसाय संचालनमा विशेष जोडदिनुपर्ने आवश्यकता छ । त्यसका लागि खास गरेर आधुनिकरण र सहकारीतामा जोड दिनु आवश्यक छ । त्यसरी आर्थिक आधार बलियो भएपछि नै गाउँको विकासले ठोस रुप लिन सक्नेछ । र त्यसवाट देश विकासलाई पनि ठूलो टेवा पुग्नेछ । त्यसरी गाउँको विकास र सम्वृद्धिका लागि सरकारी स्तरमा यसप्रकारका योजनाहरु लागु गर्न प्रयत्न गर्नुका साथै जनस्तरमा पनि त्यो दिशामा विकासका कार्यहरु अगाडी बढाउन प्रोत्साहन गर्ने र सहयोग गर्ने सरकारको नीति हुनुपर्छ । 

 (भबिसोर पराजुली माओवादी केन्दका पोलिटव्यूरो सदस्य तथा प्रभावशाली युवा नेता)

यस बिषयमा तपाइको प्रतिक्रिया...!