बिहान उठेदेखि राति सुतुन्जेलसम्म भारतीय सामान

Posted on: 04 Jun, 2018

निरोज खड्का |

बिहान जुरुक्क उठेपछि शौचालय छिर्नुस्, त्यो प्यान भारतमा बनेको । त्यहाँ भित्रको जीआई पाइप र पानीको धारा उतै बनेको । टुथपेष्ट चाहे पेप्सोडेन्ट लिनुस्, चाहे डाबर वा कोल्गेट त्यो भारतमै बनेको । प्रत्येक दिन नुहाउने साबुन होस् वा स्याम्पु त्यो भारतबाटै ल्याइएको ।

युवायुवतीले प्रयोग गर्ने फेसियलका सामग्री क्रिम, पाउडर, सनस्क्रिन भारतमै बनेको । भान्सामा बाल्ने ग्यास चुलो हेर्नुस् वा पकाउने प्रेसर कुकर, राइस कुकर त्यो भारतबाटै आएको । चामल, नुनदेखि तरकारीमा हाल्ने मसला अनि लसुन, प्याज, गोलभेँडा, अदुवा ती उतैबाट आउँछन् ।

जुनसुकै कम्पनीको किन नहोस्, साइकलदेखि मोटरसाइकल, कार, ट्याक्टर, ट्रिपर, बस, स्काइभेटर, डोजरदेखि तिनलाई हाल्ने पेट्रोल, डिजेल भारतबाटै आउँछन् । हवाई इन्धन उतैबाट आउँछ । हाम्रा राजा–महाराजादेखि अहिलेका नेताजीहरू चाहे राजनीतिक सल्लाह माग्न होस् वा स्वास्थ्य उपचार गर्न होस्, उतै धाउने प्रचलन छ । चाहे हाम्रो राजनीतिमा जुनसुकै परिवर्तन हुन्, त्यसको प्रारूप वा रोडम्याप दिल्लीमै तयार भएका छन् । बच्चाले हेर्ने कार्टुन होस् कि युवाले हेर्ने गेम वा प्रौढले हेर्ने सिरियल प्रत्येक दिन रिमोटमा घर झगडा पर्छ । हाम्रा युवायुवतीहरू चलचित्रहलमा नेपाली फिल्मभन्दा हिन्दी फिल्म हेर्न झुमिन्छन् । यहाँ राजेश हमाल वा रेखा थापाभन्दा बढी सलमान खान वा कट्रिना कैंफहरूका फ्यान छन् । सामानहरू सक्कली हुन् वा नक्कली धेरै उतैबाट आउँछन् । उपल्लो स्तरको सर्टिफिकेट सक्कली हुन् कि नक्कली धेरै भारतबाटै आउँछन् । हाम्रो देशबाट वैदेशिक रोजगारमा जानेहरू उत्तिकै छन् । नेपालमा भने व्यवसायमा केस काट्ने हजामदेखि ठूलठूला कम्पनीका मालिक भारतीय नै छन् ।

देशको अधिकांश भूगोल भारतसँगै जोडिएको छ । हामीले चाहेर वा नचाहनेर छिमेकी फेर्न सक्दैनौं । हाम्रो भारतसंगको परनिर्भरता ज्युँकात्युँ छ । जसले जति नै ठूलो कुरा गरे पनि हाम्रो दैनिकी बिहान उठेदेखि राति सुतुन्जेलसम्म भारतीय सामानको प्रयोग र प्रभावबाट मुक्त छैन । तत्काल यो नियतिको अन्त्य सम्भव छैन । हाम्रो देशमा चुनावताका बडो राष्ट्रवादका कुरा गरिन्छ, उही भारत विरुद्ध सडक तताइन्छ, चर्को नारा घन्काइन्छ, स्वाभिमान र आत्मसम्मानको भाषण गरिन्छ । जब चुनाव जितेर आउँछन्, सरकार बनाउँछन्, तब देशलाई आत्मनिर्भर बनाउने कुनै योजना ल्याउँदैनन् । अरू विकल्प दिँदैनन्, उत्पादनमा ध्यान दिँदैनन् । फेरि उही माग्ने नियति दोहोर्‍याउँछन्, हिजो जसलाई सत्तोसराप गर्‍यो, उसैका सामु लम्पसार पर्छन्, धनुष्टंकार गर्छन् । उसैगरी सहयोगको भिख माग्छन् । मुख्य कुरा हामीले आफ्नै देशभित्रको विविध क्षेत्रमा सम्भावनाको पहिचानलाई उजागर गरेर स्वनिर्भर हुने प्रयास नगर्दासम्म चर्को स्वरमा आत्मसम्मान, स्वाभिमान र स्वतन्त्रताको गीत गाउनु बेकार छ । 

जापान, चिन, मलेसिया वा दक्षिण कोरिया पहिला आफ्नै मिहेनतले उठे । अरूलाई गाली गरेर समय बर्बाद गर्नुभन्दा पहिले आफ्नै खुट्टामा उभिने प्रयास गरौं । देश बने सम्मान, सान र स्वाभिमान मागिरहनु पर्दैन, आफै आउँछ । 

लिखु गाउँपालिका –३, रामेछाप

यस बिषयमा तपाइको प्रतिक्रिया...!