विहे नगरी बा बन्न चाहिँ पाउने कि नपाउने ?

Posted on: 05 Jun, 2018

विमल नेपाल | कुनै पनि नारीले बिहे नगरी आमा बन्न पाउने गरी कानुन बनेसँगै समाजमा अनेकथरी बहस सुरु भएको छ । विश्वका विभिन्न देशहरुमा प्रचलनमा आइसकेको यो कानुन नेपालका लागि बन्दा बहसको विषय बन्नु अस्वभाविक भने होइन । किनकि, पितृसत्ताले गाँजेको देशमा महिलालाई विवाहबिना नै आमा बन्ने कानुनी अधिकार दिनु ठूलो कुरा हो । 

‘आफ्नो शरीरमा आफ्नै हक’ भन्दै आन्दोलन गरिरहेका महिला अधिकारकर्मी र पश्चिमा समाजको प्रभावबाट ग्रस्त आधुनिक नेपाली नारीसमाज यो कानुनबाट निकै उत्साहित भएका छन् । तर हाम्रो सामाजिक सोच र सँस्कारले भने यसलाई विवादित बनाएको छ ।

विवाहपछि मात्रै बच्चा जन्माउने कुरा मूलतः हाम्रो सामाजिक कानुन हो । बिहे नगरी बच्चा जन्माउँदा समाजमा विकृति फैलने तर्क गर्नेहरु पनि छन् । त्यो केवल जकडिएको मान्यताबाट मात्रै प्रेरित भएको तर्क हुनसक्ला । तर यसले विद्यमान सामाजिक सँस्कारमाथि धावा बोल्ने निश्चित छ ।

बिहे फरक कुरा हो, बच्चा जन्माउने वा नजन्माउने कुरा फरक हो । हाम्रो समाजले त बिहेलाई ‘यौन सम्पर्क गर्ने लाइसेन्स’का रुपमा लिएको छ । बिहेअघिको यौनसम्पर्कलाई अवैध मान्दै आएको छ । त्यो अझ यौनलाई जैविक आवश्यकता भन्दा चरित्रसँग जोडेर हेर्ने चलन छ । निश्चय नै बच्चा जन्मने कुरासँग यौन जोडिन्छ । तर, बिहे जोडिन आवश्यक छैन । तर हाम्रो समाजले विहे र यौनलाई पनि जोडिदिएको छ । त्यसैले नै नयाँ कानुनी प्रावधानप्रति बढ्ता बहसको सिर्जना गरेको हो ।

झट्ट सुन्दा ‘आफ्नो शरीरमाथि आफ्नै अधिकार’ भन्ने कुरा प्रिय छ । यो स्वभाविक हो ।  तर बच्चा जन्माउने कुराले पार्ने सामाजिक असरको पाटो अर्को हो । एउटी अविवाहित नारीले आफ्नो शरीरको आफैंले सदुपयोग गरेर बच्चा जन्माइन् । उनी आमा भइन् । बच्चाको आमा भयो । तर, अब बच्चाका धेरै नातासम्बन्धहरु हुँदैनन् । ठूलाबा, फूपूलगायतका थुप्रै विद्यमान सम्बन्धहरु हुँदैनन् । ‘हाडनाता’ भन्ने पनि नहोला । ऊ फुक्काफाल हुन्छ ।

हिजो कानुनी रुपमा बाउको नामबाट मात्रै नागरिकता दिने कुराको विरोध गर्दै नारी अधिकारका कुरा गर्नेहरु अब बच्चालाई बाउबिहीन बनाउन खोज्दैछन् । यो ‘प्रगतिवादी’ सोच नै होला । तर, आधिकारिक बाउबिना मात्रै आमा बन्न मन लाग्नुको पछाडि धेरै कुराहरु छन् । त्यसको मूल कारण हाम्रो गलत पितृसत्ता नै हो । तर, पितृसत्ताको विकल्पमा श्रीमानबिनाको आमा बन्ने कुरा हुन सक्छ कि सक्दैन ? बहस जरुरी छ ।

अझ बिहे नगरी आमा बन्न सकिने कुराले त कानुनी रुप पाउँदैछ । तर, बिहे नगरी बाउ बन्न पाउने नपाउने कुरा चलनमै भरपर्नुपर्ने स्थिति छ । खासमा बिहे केका लागि ? बच्चा केका लागि ? यौन केका लागि ? यसबारे हाम्रो सोचाई स्पष्ट नहुँदा समस्या आउने खतरा छ । एउटासँग बिहे गर्ने बच्चा अर्कैको जन्माउने, एउटाको बच्चा जन्माउने, उसँग बिहे नगर्ने, एउटासँग यौनसम्बन्ध मात्रै राख्नेः बिहे पनि नगर्ने, बच्चा पनि नजन्माउने । क्या रोचक हुन्छ । किनकि, आफ्नो शरीरमाथि आफ्नो अधिकार न हो । हो, एउटा बहसको सुरुवात मात्रै हो । योसँग जोडिर थुप्रै विषयहरु सतहमा आउन जरुरी छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!