एशिया प्यासिफिक शिखर सम्मेलनको रापमा रोटी सेक्न खोज्नेहरु

Posted on: 01 Dec, 2018

बिष्णु निश्चल | नेपालमा पहिलो पटक ४५ मुलुकका बर्तमान राष्ट्राध्यक्ष/सरकार प्रमुखहरूसहित १५०० जना सहभागी हुने एशिया प्यासफिक समिटको तयारी भइरहेका बेला केही संचारमाध्यम कुत्सित मनसाय राखेर सम्मेलनलाई बदनाम गराउन हात धोएर लागेको पाइएको छ । सरकारको एक पैसा खर्च नगरी यतिसम ठूलो संख्यामा सहभागी ल्याएर नेपालमा शिखर सम्मेलन गराउनु आफैंमा निकै चुनौतिपूर्ण कार्य हो । यस्तो अबस्थामा युनिभर्सल पिस फेडरेशनले साहसिक कार्य गरेर सबैतिरबाट स्याबासी पाउनु पर्ने हो । त्यसको बदला युपिएफले नगरेका कार्यहरुलाई समेत उछालेर केही संचारमाध्यमले सम्मेलनको रापमा रोटी सेक्ने काम गरेका छन् । 

शिखर सम्मेलनमा सहभागी हुन विश्वका ७ मुलुकका सरकार तथा राष्ट प्रमुख नेपाल आएका छन् । त्यस्तै ५ जना प्रथम महिला, १० जना पूर्व राष्ट्र÷सरकार प्रमुखहरू, १  जना वर्तमान उपप्रधानमन्त्री, ७ जना मन्त्री, ५ जना संसदका सभामुखहरू तथा उपसभामुखहरू सम्मेलनमा सहभागी हुन आएका छन् । कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी स्टेट काउन्सिलर नेतृ आङ सान सूची आफ्नै विमान लिएर आएका छन् । कम्बोडियाको टोलीसँग त द्वीपक्षीय छलफलपछि नयाँ समझदारीसमेत भएको छ । अन्य मुलुकसँग पनि नेपालका द्वीपक्षीय वार्ता भइरहेका छन् । नेपालले एउटा संस्थाले आफ्नै खर्चमा विश्वका नेताहरुलाई भेला पारिदिएको छ । त्यस्तो बेला सम्मेलनमा सहभागिता जनाउन आउने विभिन्न मुलुकका प्रतिनिधि मण्डलबाट कसरी फाइदा लिने भन्ने सुझाव नेपाली मिडियाले दिनु पर्ने हो ।

नेपाल सरकारको ‘समृद्ध नेपालः सुखि नेपाली’ को दूरदृष्टिलाई सहयोग गर्नु शिखर सम्मेलनको मुख्य जोड रहने आयोजक युपिएफले बताएको छ । शिखर सम्मेलनको बेला हुने द्विपक्षीय तथा बहुपक्षीय भेटघाटले पारस्परिक लाभ नेपालले लिन सक्नु पर्ने हो । यसरी हुने वार्ता र छलफल नेपालको नयाँ कुटनीतिक अबसरको सम्भावनाहरूको अन्वेषण गर्न केन्द्रीत हुनसक्ने छन् । सम्मेलनमा सहभागी हुन आउने राज्य र सरकार प्रमुखको प्रतिनिधि मण्डलमा विदेशी लगानीकर्ता तथा उद्यमीहरूसमेत समावेश छन् । तिनीहरूले आपसी लाभप्रद ब्यापारिक अबसरहरूको खोजी गर्न सक्छन् । त्यसरी अन्वेषण गर्न नेपाली मिडियाले सहजिकरण गर्नु पर्ने हो । 

विभिन्न ४५ मुलुकका १५०० प्रतिनिधि एकै पटक नेपालमा भेला हुनु चानचुने कुरा हैन । उनीहरुले स्वदेश फर्केपछि नेपालका बारेमा आफ्नो मुलुकमा गर्ने सकारात्मक प्रबर्धनले नेपालको पर्यटन प्रबर्धनमा ठूलो प्रभाव पार्ने कुरा छर्लङ्गै छ । त्यस्तो अबसर नेपालले आफ्नै खर्च गरेर गर्न जुटाउन प्राय असम्भवजस्तै हुन्छ । त्यस्तो अबसरलाई कसरी आफ्नो पक्षमा पार्ने भनेर नेपाली मिडियाले भूमिका निर्वाह गर्नु पर्ने हो ।

युनिभर्सल पिस फेडरेशनमा क्रिस्चियनहरु होलान् । केही मिडियाले समेत यसका प्रमुखले हिन्दू संस्कारअनुसार आमाको अन्तिम संस्कार गरेको, जनै लगाउने गरेको, विभिन्न हिन्दू चाडबाड मनाउने गरेको भनेर स्वीकारेका छन् । तिनै सञ्चारमाध्यमले युपिएफमा धर्मान्तरण अनिवार्य नभएको स्वीकारेका छन् । संस्थामा धर्म परिवर्तन अनिवार्य नभएको, संस्थाको अध्यक्षसमेत हिन्दू रहेको स्वीकारिसकेपछि युनिभर्सल पिस फेडरेशनलाई क्रिश्चियन धर्म प्रचारक संस्था भनेर बद्नाम गर्न खोज्नु ती संचामाध्यमको कुत्सित मनसाय सजिलै प्रकट हुन्छ । उनीहरु विरोधका लागि विरोध गर्न मात्र लेखिरहेका छन् भनेर सजिलै भन्न सकिन्छ । युनिभर्सल पिस फेडरेशनले कुनै एउटा मात्र धर्मको प्रबर्धन गर्दैन । यसले सबै धर्महरुलाई जोड्छ । यसले भिन्नभिन्न धर्म मान्नेहरुलाई साझा मञ्च प्रदान गर्दछ ।

युपिएफले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित भारतीय हिन्दूबादी सत्तारुढ दल भाजपाका नेता बिजय जोलीले नेपालले यस प्रकारको सम्मेलन आयोजना गरेर विश्वमा आफूलाई चिनाउने अबसर पाएको बताएका थिए । उनले आफू स्वयं हिन्दू भएको घोषणा गर्दै उनले आफू कैयौं बर्षदेखि युनिभर्सल पिस फेडरेशनमा सहभागी भइरहेको बताएका थिए । उनले यस प्रकारको सम्मेलन नेपालमा हुँदा धेरैले रोजगारीको अबसर पाउने, बौद्ध पर्यटनले प्रश्रय पाउने र नेपालको अन्तराष्ट्रिय रुपमा प्रबर्धन हुने दावी गरेका थिए । ‘म मस्कोमा भएको एउटा कार्यक्रममा सहभागी भएर सिधै शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएको छु, उनले भनेका थिए, ‘मजस्तै नेपाललाई माया गर्ने धेरै मुलुकका विशिष्ट ब्यक्तित्वहरु शिखर सम्मेलनमा सहभागी हुन आउँदै हुनुहुन्छ । उहाँहरुले नेपाललाई पक्कै संस्सारसामु राम्रो सन्देश लैजानु हुनेछ । हिन्दूबादी नेता जोलीले भनेजस्तै युपिएफले सबै धर्मको उत्तिकै सम्मान गर्छ । सबै धर्मलाई एउटै ठाउमा ल्याउने मञ्च खडा गर्छ ।  


युपिएफले आयोजना गरेको एशिया प्यासिफिक शिखर सम्मेलन भनेर कुनै धार्मिक कार्यक्रम आयोजना गर्न लागेको हैन । यसले ‘बर्तमान समयका गंभिर चुनौतीहरूमाथि सम्बोधनः अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्बब्यापक मूल्य–मान्यता’ शीर्षकमा एशिया प्यासिफिक क्षेत्रसहित विश्वका अन्य मुलुकका बर्तमान तथा पूर्वराष्ट्राध्यक्ष÷सरकार प्रमुखहरू, सभामुखहरू, सांसदहरू, राजनैतिक नेताहरू, विभिन्न धर्मका धार्मिक अगुवाहरू, महिला नेतृहरू, संचारकर्मीहरू, प्राज्ञिक ब्यक्तित्वहरू, ब्यवसायी, कलाकार तथा नागरिक समाजका अगुवाहरू सहभागी गराएर विचार मन्थन गरी काठमाडौं घोषणा पत्र जारी गर्न लागेको हो । कसैले कुप्रचार गर्दैमा सम्मेलनले आफ्नो विषयलाई परिवर्तन गर्दैन । 

सम्मेलनको मुख्य आयोजक तथा प्रायोजक युनिभर्सल फिस फेडरेशन(युपिएफ) अन्तराष्टिय हो । यो संस्था संयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषद्बाट मान्यता प्राप्त संस्था हो । विश्वका १५५ मुलुकमा यसको सक्रिय उपस्थिति छ । 

सम्मेलनमा आउने सहभागीलाई राख्न राजधानीका अधिकांश होटल बुक भएका छन् । सम्मेलनकै लागि भनेर दैनिक १ सयभन्दा बढी सवारी साधन सडकमा गुडिरहेका छन् । अधिकांश नेपाली टेलिभिजनले सम्मेलनको प्रत्यक्ष प्रसारण गर्दैछन् । सम्मेलनकै लागि एक महिनादेखि दैनिक १ सय ५० जनाभन्दा बढी ब्यक्तिहरु खटिइरहेका छन् । सम्मेलन सम्पन्न गर्न आयोजकका तर्फबाट २० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । सम्मेलनमा सहभागी हुन आउनेहरुले गर्ने ब्यक्तिगत खर्चको कुनै हिसाव छैन । यसरी अनुमानै गर्ने हो भने पनि एउटा शिखर सम्मेलनमा १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुने निश्चित छ । यति ठूलो रकम एउटा संस्था युनिभर्सल पिस फेडरेशनले आफ्नो मातृ संस्थाबाट नेपाल भित्र्याएको छ । यति ठूलो रकम खर्च गरेर मुलुकको अर्थतन्त्रलाई चलायमान बनाइ सयौंलाई रोजगारी दिने कार्यक्रम गरेकामा आयोजकलाई धन्यवाद दिनुको साटो केही संचारमाध्यम हात धोएर विरोधमा लाग्नुले उनीहरु कसको प्रवक्त बनिरहेका छन् भनेर आशंका गर्नु पर्ने भएको छ । 

सम्मेलनले गरिवी, आतंकबाद, जलवायु परिवर्तन, खाद्य असुरक्षा, नैतिक पत्तन, जबर्जस्ती विस्थापन, प्राकृतिक विपत्ति, सस्त्रको होडबाजी जस्ता बढ्दो चुनौतीलाई सामना गरिरहेको विश्वसमुदायलाई ती समस्या समाधान गर्न सघाउने विश्वास आयोजक संस्थाले लिएको छ । युनिभर्सल पिस फेडरेशनले सरकार, नागरिक समाज, नीजि क्षेत्रका प्रतिनिधिहरूको सहकार्यमा यस्ता अन्तराष्ट्रिय शिखर सम्मेलनका सृङ्खलाहरू नै विश्वब्यापी रुपमा आयोजना गर्दै आएको छ । यति बृहद् स्तरमा शिखर सम्मेलन नेपालमा पहिलो पटक आयोजना हुन लागेको हो । हाम्रो समयको गंभिर चुनौतीलाई प्रभावकारी रुपमा सम्बोधन गर्न र समाधान गर्न सघाउने यस प्रकारको कार्यक्रमको प्रबर्धन गर्नुको साटो मान मर्दन गर्नु आफैंमा निकै नकारात्मक कुरा हो । 

सम्मेलनको उद्घाटन सत्रमा विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखबाट सम्बोधन हुने छ । त्यसपछिका सत्रमा शान्ति, विकास, सुशासन र सांसदहरूको भूमिका, अन्तर–धार्मिक संगठन र नागरिक समाजको भूमिका, जलवायु परिवर्तन,संचारमाध्यमको भूमिकाबारे छलफल हुनेछन् । जलवायु परिवर्तन र काठमाडौं घोषणाबारे बिशेष उद्घोषसहित एशिया प्यासिफिक शिखर सम्मेलन समापन हुने छ । सम्मेलनलाई कसरी प्रभावकारी बनाउने भन्नेमा नेपाली मिडियाले आफ्ना समाचार, लेख, सम्पादकीय टिप्पणीहरु मार्फत भूमिका निर्वाह गर्नु पर्ने हो । 

मुलुक यतिखेर शिखर सम्मेलनमय भएको छ । सरकारले समेत आफ्नो मुलुकमा आएका विदेशी पाहुनाको स्वागत सत्कारमा नेपाली परंपराअनुसार सक्दो भूमिका निर्वाह गरिरहेको छ । यस्तो बेला अतिथि देवो भवको नेपाली परंपराअनुसार विदेशी पाहुनाको बसाइलाई सुखद बनाउन नेपाली संचारमाध्यमले भूमिका निर्वाह गर्नु पर्नेमा ती मिडिया हात धोएर सम्मेलनको पछि लाग्नुले आशंका जन्माएको छ । ती संचारमाध्यम कसैको गोटी त बनिरहेका छैनन् । 

यस्तो बेला नेपाली कांग्रेस पार्टी तथा त्यसका प्रबक्तासमेत एशिया प्यासिफिक शिखर सम्मेलनको विपक्षमा देखिए । कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा स्वयं युफिएफले यसअघि तीन मुलुकमा आयोजना भएका यस्तै सम्मेलनमा सहभागी भइसकेका छन् । त्यस्तै कांग्रेस नेताहरु शेरबहादुर देउवा, रामचन्द्र पौडेललगायतका नेताहरुसमेत विदेशमा भएका यस्तै कार्यक्रममा सहभागी भइसकेका छन् । आफू त्यही संस्थाले विदेशमा आयोजना गरेको शिखर सम्मेलनमा सहभागी हुन जाँदा संस्था ठीक हुने, त्यही संस्थाले नेपालमा आयोजना गरेको कार्यक्रम भने धर्मप्रचारक संस्थाले गरेको हुने ? यसरी दोहोरो मापदण्ड बनाएर गरिने राजनीतिले खुम्चिँदो काँग्रेसलाई अझै कति खुम्च्याउला भन्ने भविष्यले देखाउने नै छ । 

पत्रकार निश्चल नेपाल पत्रकार महासंघ काठमाण्डौ शाखाका कार्यसमिति सदस्य हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!