अमेरिका विरुद्ध प्रचण्डको अभिव्यक्ति: जायज कि नाजायज ?

Posted on: 03 Feb, 2019

अनिल अधिकारी |

अमेरिकाको विरुद्ध बोल्दै भेनेजुएलालाई समर्थन गरेका प्रचण्डको अबको राजनीतिक भविष्य कता जाला ? केहि राजनीतिक व्यक्तिहरुले प्रचण्डकै भविष्यबारे यसरी टिप्पणी गर्न थालेको बुझिएको छ । प्रचण्डको अभिव्यक्ति पछी दुई राष्ट्रबीच निकै चिसो बढेको भन्दै मिडियाहरुमा चर्चा भएसंगै शक्तिशाली राष्ट्रको बिषयमा कमै बोल्ने नेपालका केहि नेताहरुनै प्रचण्डले गल्ति गरेको भन्दै टिप्पणी गर्न थालेका छन् । यसैबीच प्रचण्डलाई साथ दिदै पुर्व माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका र नेकपाका प्रवक्ता समेत रहेका नारायणकाजि श्रेष्ठले अमेरिकाले भेनेजुएला माथि अन्याय गरेको भन्दै स्पष्ट जवाफ दिनुले अमेरिका नेपालसँग थप सशंकित बनेको छ । प्रवक्ता श्रेष्ठले नेपाल अमेरिका सम्बन्ध राम्रो हुनुपर्ने बताउदै अन्याय भने सहन नसक्ने अभिव्यक्ति दिएका हुन् ।  

ओली भ्रमणमा गएको बेला दुई तिहाई सरकारको नेतृत्व गरिरहेको पार्टीको अर्का अध्यक्षले अमेरिका विरुद्ध बोलेपछि त्यसले प्रचण्डको राजनीतिक भविष्यमा असर पर्न सक्ने केहिले विश्लेषण गर्न थालेका छन् । नेपालको आन्तरिक राजनितीमा भारत, चीन र अमेरिकाको सबैभन्दा बलियो प्रभाव रहेको बताइन्छ । बाह्य शक्तिशाली देशको प्रभावमा नेपालका अधिकांश नेताहरु रहेको र उनीहरुकै इशारामा नेताहरुले काम गर्दै आएको बिषय पुरानै आरोपहरु हुन् । केहि नेता तथा कर्मचारीहरु दुतावासकै भत्तामा बाचेको आरोप लाग्ने गरेको बिषय जनमानशमा ताजै छ । यस्तो अवस्थामा अमेरिका जस्तो शक्तिशाली देश नेपालसँग रिसाएमा त्यसको परिणाम के होला ? भन्ने डरकै कारण अमेरिकाको बिषयमा प्रचण्डले बोलेर गल्ति गरेको टिप्पणी छ । 

नेपालजस्तो स्वाधीन राष्ट्रलाई कुनै पनि देशको साम्राज्यवादी गतिविधि मन नपर्नु स्वभाविक नै हो । गलतनै भएको हो भने गलत भन्न सक्नु प्रचण्डको सकारात्मक पक्ष हुँदा-हुँदै पनि शक्तिशाली राष्ट्र भएकै कारण उसको बिरोध गर्न डराउनुले त्यस्ता राष्ट्रलाई अझै गलत क्रियाकलाप गर्नमा शक्ति दिन्छ भन्ने सोच्नु पनि सहि नै हो किन भने कुनै बेला कुनै शक्तिशाली देशले नेपालकै बिषयमा हस्तक्षेप गरे त्यतिबेला कसले साथ दिने ? त्यसैले प्रचण्डले दिएको अभिव्यक्तिलाई गलत नै भन्न मिल्दैन तर परिस्थिति अनुरुप नभए जुनसुकै सहि बिषयले पनि गलत परिणाम दिनसक्छ भन्ने प्रचण्डले बुझ्नुपर्छ । 

कम्युनिष्ट बिचार बोकेको पार्टीले साम्राज्यवादी गतिविधि बिरुद्ध बोल्नु स्वभाविकनै लाग्छ, अझ समाजवादको लक्ष्य लिएको पार्टीले त्यस्ता बिषयमा बोल्नुपर्छ भन्ने स्पष्ट नै छ । प्रचण्डको अभिव्यक्ति नेपालमै पनि कतिपयको लागि आलोचनाको बिषय बनेको छ । अमेरिका जस्तो गहिरो सम्बन्ध भएको राष्ट्रको बिषयमा त्यसरी बोल्न नहुने कतिपयको तर्क छ, केहिले प्रचण्डको भाषालाई गैर कुटनीतिक भनेका छन् । प्रचण्डले अमेरिकासँगको सम्बन्ध बिगारेको भन्दै कोकोहोलो मच्च्याउने केहि नेताहरुले यही अवसरलाई सदुपयोग गर्ने रणनीति समेत सुरु गरिसकेको उनीहरुको अभिव्यक्तिबाट बुझ्न सकिन्छ । अमेरिका, भारत वा चीनलाई खुसि पार्न सके सत्ता पाइन्छ भन्ने आशा अझै पनि नेपालको राजनीतिमा छाप बसेको बिषय हो । त्यसैले पनि शक्तिशाली राष्ट्रको बिरुद्ध बोल्दा तनाब बढ्ने धेरैलाई डर छ । 

प्रचण्डले बोल्दा कुटनीतिक भाषामा अलि ध्यान नदिएको हुनसक्छन्, त्यसलाई सच्याउने अवस्था पनि छ । नेकपामै शक्तिशाली अवस्थामा रहेका प्रचण्डलाई कमजोर बनाउनकै लागि कांग्रेस र नेकपा इतरकै केहि प्रचण्डको विपक्षमा रहेका नेताहरुले उनको भनाईलाई उचाल्दै उनको शक्ति तुहाउने खेल खेल्ने अवस्था देखिएको छ । अमेरिका जस्तो शक्तिशाली राष्ट्रले चाहे सामान्य जनता पनि प्रधानमन्त्री बन्न सक्छ भन्ने कुटनीतिक आरोप लाग्ने गरेको हाम्रो जस्तो मुलुकमा अमेरिकासँग सातो जानु स्वभाविकनै हो, त्यसैले पनि केहि राजनीति बुझेकाहरुले नै प्रचण्डले अमेरिकाको विरुद्ध दिएको अभिव्यक्ति न्सच्च्याए उनको राजनीतिक भविष्यनै अमेरिकाले सिद्ध्याईदिने त होइन भन्ने आशंका गरेका हुन सक्छन् । 

प्रचण्डको अभिव्यक्तिले अमेरिका गम्भीरनै बनेको हो त ? भन्ने प्रश्न जुन छ, त्यसलाई हेर्ने हो भने केहि कारणले त्यसको पुष्टि पनि गरेको छ । अमेरिकाले पछिल्लो पटक देखाएको गतिविधि त्यसैको उदाहरण हुन् । अमेरिकी राजदुत र्याडी बेरीले यसै बिषयमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञावालीसँग भेट्नु, ज्ञावालीले प्रधानमन्त्री ओलीको समेत उपस्थिति रहेको कुटनीतिक समूदायलाई दिएको ब्रिफिङमा अमेरिकि राजदुतको उपश्थिति नरहनु र अमेरिका स्थिति नेपाली राजदुतलाई समेत बोलाएर स्पष्टिकरण लिनुले अमेरिका नेपालसँग चिसिएको छनक दिन्छ । 

नेकपा पार्टी भित्र प्रचण्डको अभिव्यक्तिलाई लिएर दुई ध्रुव देखिएको छ । केहि नेताहरुले आवश्यक नै नरहेको बिषयमा बोलेको भन्दै दाहालको आलोचना गरेका छन् भने केहीले प्रचण्डले पार्टीको सिद्धान्त अनुसार नै बोलेको भन्दै समर्थन गरेका छन् । नेपालको परम्परागत कुटनीतिक सिद्धान्त तटस्थतामा आधारित हुँदा कतिपयलाई प्रचण्डको अभिव्यक्तिले अचम्मित पनि बनाएको छ । हुन पनि दक्षिण एसियाली मुलुकहरुले यस बिषयमा अभिव्यक्ति दिईनसक्दै नेपालले उछिनेर परम्परा समेत तोडेको छ । यो परम्परा तोडाईले नेपाल-अमेरिका सम्बन्धलाई कुन दिशामा लैजान्छ हेर्न बाँकी छ ।  

केहि कुटनीतिक विश्लेशज्ञहरुले नेपाल आफ्नो तटस्थ कुटनीतिमा कायम रहनुपर्ने भन्दै प्रचण्डको अभिव्यक्ति अनावश्यक रहेको बताउँछन् । अमेरिकाले नेपालसँग सम्बन्ध चिसिएको संकेत देखाउनु नेपालको लागि नै बेफाइदाजनक रहेको उनीहरुको विश्लेषण छ । नेपालजस्तो बिकाशोंमुख राष्ट्रले अमेरिका जस्तो शक्तिशाली राष्ट्रसँग सम्बन्ध बिगार्दा त्यसले राम्रो संकेत नदिने बताइएको छ । प्रचण्ड आफ्नै जीवनकालमा धेरै छलाङ हान्न चाहन्छन् । ससस्त्र युद्धदेखि संसद राजनीति हुँदै नेकपाको अध्यक्षसम्मको यात्रामा आएर देशकै ठूलो पार्टीको पनि बहुमतको अवस्थामा आईपुग्नु प्रचण्डका महत्वपूर्ण छलाङ मानिन्छ । व्यक्तिगत रुपमा उनले छलाङ हानेपनि सिंगो देश र जनताको जीवनस्तरले त्यहि गतिमा छलाङ हान्न सकेको छैन । अझै पनि नेपालका नागरिक तिनै शक्तिशाली देशले केहि सहयोग गर्लान र अर्थतन्त्र सुधार्न सकिएला भनेर आशा गर्दै बस्ने अवस्थामा छन् । यहाँको अर्थतन्त्र तिनै राष्ट्रले ऋण देलान्, उद्घ्योग खोल्देलान्, पर्यटक बनेर घुम्न आईदेलान् भन्ने आशाले धानिएको छ । अझै पनि यहाँका युवा तिनै देशमा भविष्य बनाउने सपनामा मानव तस्करहरुद्वारा ठगिन बाध्य छन् । प्रचण्डको अभिव्यक्तिले अमेरिका-नेपाल सम्बन्ध बिग्रेला कि भन्दै चिन्ता लिनुमा अमेरिकासँग कयौं बिषयमा नेपालको निर्भरताले महत्वपूर्ण भुमिका खेल्छ | आफ्नो देश शक्तिशाली बनाउन नसकेपनि कम्तिमा आत्मनिर्भर बनाएर मात्र यस्ता छलाङपूर्ण अभिव्यक्ति दिनु नेपालको हितमा हुने देखिन्छ।  

प्रचण्डले सच्चा समाजवादको अभ्यास स्वरूप आफ्नो अभिव्यक्ति दिएको हो भने आफ्नै देशबाट सुरु गर्न सक्नुपर्छ । आफ्नै देशको सिमाना मिचिदा, आफ्नै देशको सम्पदा बेचिदा, आफ्नै देशका कयौं बेरोजगार युवाहरु तस्करहरुद्वारा बेचिदा, कानुनी राज्यमा तस्कर र बेथितिवादीहरुको मनोमानी चल्दा त्यसबिरुद्ध भने बोल्न नसक्ने प्रचण्डलाई अमेरिका विरुद्ध बोलेर के पाउनु छ ? कस्तो छलाङ मार्नु छ ? कहाँ पुग्नु छ ? बुझ्न सकिएन ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!