कोरोना संक्रमणमा आशाका चहकिला किरणहरु देखिएका छन् : डा.रवीन्द्र पाण्डे, जनस्वास्थ्य विज्ञ

Posted on: 22 Jun, 2020

असार ८, काठमाडौं । हालसम्म विश्वमा झन्डै ९० लाख व्यक्ति कोरोना संक्रमणबाट संक्रमित भएका छन् | ती मध्ये लगभग ४८ लाख व्यक्ति निको भएका छन्, ३६ लाखभन्दा धेरै व्यक्तिमा सामान्य अवस्थामा छन् भने १ % मात्र अर्थात लगभग ५५ हजार व्यक्ति गम्भिर बिरामी छन् |

विश्वमा लगभग ४ लाख ७० हजार व्यक्तिको मृत्यु भएको छ | मृतकमध्ये अधिकांश ७० वर्षभन्दा बढी उमेरका संक्रमित जसलाई गम्भिर किसिमको दीर्घरोग छ, उनीहरुमध्ये लगभग २० % को मृत्यु भएको छ | तसर्थ कोरोना संक्रमण डरलाग्दो वा धेरै घातक रोग हैन भनेर बैज्ञानिक पुष्टि भएको छ |

कोरोना संक्रमणबारे यी तथ्यहरुले बताउँछन् कि हामी यो रोगमा सतर्क भए पुग्छ, धेरै डराउनु पर्दैन |

-  सबै संक्रमित व्यक्तिले कोरोना सार्न सक्दैनन् | लन्डन स्कुल अफ हाइजिन एण्ड ट्रपिकल मेडिसिनले गरेको अनुसन्धान तथा बर्न युनिभर्सिटीको अध्ययन अनुसार १० – २० % संक्रमित व्यक्तिले मात्र संक्रमण सार्न सक्छन | जसलाई सुपर स्प्रेडर भनिन्छ |

- मास्क लगाएर हिंड्दा, संक्रमितसंग छोंटो कुरा गर्दा तथा मास्क लगाएर भीडलाई अत्यन्तै छिटो गतिले पार गर्दा कोरोना सर्ने सम्भावना एकदम न्यून हुन्छ |

- फलफुल, तरकारी, दुधको प्याकेट, खाधान्न आदिलाई सामान्य सफा गरेर प्रयोग गर्दा तथा साबुनपानीले हात धोएर प्रयोग गर्दा कोरोना संक्रमण सर्दैन |

- पानीबाट कोरोना संक्रमण सर्दैन |

- खुला ठाउँमा कोरोना संक्रमण सर्ने सम्भावना निकै कम हुन्छ | झ्यालढोका लगाएको तथा एसी प्रयोग हुने बन्दकोठामा कोरोना भाइरस केहि घण्टा रहन सक्छ |

- अध्ययनले देखाए अनुसार कोरोना भाइरस १-२ व्यक्तिको सम्पर्कले भन्दा भीडभाड वा बन्द कोठामा हुने भेलाले सर्ने सम्भावना धेरै हुन्छ |

- लक्षण नदेखिने कोरोना संक्रमित व्यक्तिबाट अन्य व्यक्तिलाई रोग सर्ने दर एकदम कम हुन्छ |

- एकपटक कोरोना संक्रमण भएको व्यक्तिमा सामान्यतया अर्कोपटक संक्रमण हुँदैन | संक्रमण भएपनि अरुलाई सार्न सक्दैन तथा स्वयंलाई पनि खतरा हुँदैन भनेर कोरिया तथा चीनमा भएका अध्ययनले पुष्टि गरेका छन् |

- कोरोना संक्रमण भएको व्यक्तिले संक्रमण भएको ११ दिनपछि अन्य व्यक्तिलाई सार्न सक्दैन भनेर सिंगापुरमा भएको अध्ययनले पुष्टि गरेको छ | यसमा केहि अपबाद हुनसक्छ |

- एकपटक संक्रमण भएर निको भएको व्यक्तिको शरीरमा कोरोना संक्रमणसंग लड्न सक्ने एन्टिबोडी तयार हुन्छ | त्यसपछि उक्त व्यक्ति मास्क नलगाइ आफ्नो काम गर्न, निर्धक्क भएर हिंडडुल गर्न सक्छ |

हामीले थाहा पाएर वा नपाएर एकपटक संक्रमण भएपछि हाम्रो शरीरले यो भाइरसलाई परास्त गर्ने एन्टिबोडी बनाउँछ | जसबाट यो भाइरसको पुन खतराबाट बच्न सकिन्छ | यो इम्युनिटी कति समय रहन्छ भन्ने बारे निर्क्यौल नभएपनि १-१० बर्ष रहन्छ भनेर बिभिन्न अध्ययनले जनाएका छन् |

फ्रान्सका सामान्य संक्रमित १६० डाक्टर तथा नर्समध्ये १५९ जनाले ४१ दिनपछि गरिएको परीक्षणमा एन्टिबोडी बिकास गरेको जनाइएको छ |

- कोरोना संक्रमित ९० %  व्यक्तिलाई सामान्य लक्षण देखिएर वा नदेखिएर पनि आफै निको हुन्छ | चीनको बुहानमा ४८५ जना कोरोना संक्रमितमाथि गरिएको अध्ययनले देखाएको छ कि संक्रमण भएको १० दिनभित्र रगतजांचमा निम्न यी ३ अवस्था देखिएमात्र गम्भिर हुनसक्छन् |

१. LDH ( Lactic dehydrogenase ) नामक enzyme बढेमा |

1. WBC अर्थात  lymphocytes को संख्या घटेमा |

3. High- sensitivity C-reactive Proteins, जसले स्वाश्प्रश्वासमा सुजनको लागि भूमिका खेल्छन |

यी ३ अवस्था देखिएमा संक्रमित गम्भीर हुनसक्छ, अन्यथा हुँदैन भनेर अनुसन्धानले देखाएको छ | यसबाट उपचार ब्यबस्थापनमा सजिलो हुन्छ र मृत्युदर कम हुन्छ |

- युनिभर्सिटी कलेज लन्डन ( UCL ) मा भएको अध्ययनले बताएको छ कि कोरोना भाइरसको म्युटेसन हुँदै जाँदा भाइरस कमजोर बन्दै गएको छ | नोबेल कोरोना भाइरसले उत्पादन गरेका २७३ म्युटेसन, जसमध्ये ४३ वटा सक्रिय छन | म्युटेसन भएका ३१ वटा प्रजातिको अध्ययन गर्दा ती भाइरस ओरिजिनलभन्दा कमजोर देखिएका छन् |

तसर्थ हामीले कमजोर भाइरसको सामना गर्नुपर्दा जोखिम कम हुन्छ |

- याले युनिभर्सिटीमा गरिएको अध्ययनले देखाएको छ कि फोहोरमा कोरोना भाइरस परीक्षण गर्दा ठूलो मात्रामा भाइरसको लोड देखिएमा त्यो सहरमा अर्को हप्ता संक्रमण ब्यापक हुनसक्छ | यसबाट आवश्यक रणनीति बनाउन सजिलो हुन्छ |

- अक्सफोर्ड सेन्टर अफ एभिडेन्स मेडिसिन ( CEBM ) का अनुसार कोरोना संक्रमणको बास्तबिक मृत्युदर बढीमा ०.५ – १ % मात्र छ | उनीहरुका अनुसार मृत्यु हुनेमा अन्य रोगबाट मृत्यु भएका तर उनीहरुमा कोभिड १९ पोजिटिभ देखिएका धेरै छन् | अर्थात कोभिड १९ बाट मात्र मृत्यु हुनेको संख्या बढीमा ०.१ % र घटीमा ०.२६ % मात्र छ |

- खोप आविष्कारको लागि लागिपरेका सयभन्दा बढी प्रयोगशालामध्ये चीन, अमेरिका, इटली, इजरायल, बेलायत लगायतका देशका केहि प्रयोगशाला मानवमा परीक्षण गर्ने चरणमा पुगेका छन् | खोप पत्ता लाग्नासाथ आवश्यक पर्ने एम्पुल लगायत सबै सामग्री ठूलो मात्रामा तयार गरिएको छ | खोप पत्ता लागेमा नाफारहित ढंगले वितरण गर्नको लागि धेरै ल्याब तथा च्यारिटी तयार भएर बसेका छन् |

- कोभिड १९ को उपचारमा इबोला, जापानिज इन्फ्लुएन्जादेखि स्टेरोइड ( डेक्सामेथासोन ) को प्रयोगले गम्भिर हुने तथा मृत्यु हुने बिरामीको संख्या घटिरहेको छ |

- परीक्षणको ठूलो दायरा, क्वारेन्टाइन, आइसोलेसन, मास्क लगाउने, व्यक्तिगत दुरी कायम गर्ने, हात धोइरहने, भीडमा नजाने लगायतका जनचेतनाको कारण कोरोना संक्रमण सर्ने, गम्भीर हुने तथा मृत्यु हुने दर घटिरहेको छ |

- जनता अनुशाशित भएका देश चीन, ताइवान, कोरिया, जापान, भियतनाम, कम्बोडिया, आयरल्याण्ड, आइसल्याण्ड, न्युजिल्यान्ड, सिंगापुर, अष्ट्रेलिया, भुटान आदि देशमा कोरोना संक्रमणको प्रभाव निकै कम छ | सरकार जिम्मेवार र जनता अनुशाशित हुने देशमा कोरोना संक्रमणको ब्यबस्थापन निकै सजिलो भएको छ |

- नेपालको परिप्रेक्ष्यमा हेर्ने हो भने आजको मितिमा संक्रमित ९०२६ जना पुग्दा मृतकको संख्या २३ छ | अर्थात मृत्युदर आजको मितिमा ०.२५ % छ |

यस बिषयमा तपाइको प्रतिक्रिया...!