चाडवाड र यसको प्रशासनिक तथा आर्थिक प्रभाव

Posted on: 14 Oct, 2020

दामोदर रेग्मी । असोज २८, काठमाडौं । 

चाडवाडमय चौमासिक

नेपालीहरुको महान चाड दशैंको चहल पहल शुरु भैसकेको छ र यस पछिका लगभग एक महिना लक्ष्मीपूजा, भाइटिका, म्ह पूजा, नेपाल सम्बत र छठ पर्व का कारणले पूरै कार्तिक महिना नेपाली समाज चाडपर्वको सुखद वातावरण, परिवार, नाताकुटुम्ब र आफन्त संग रमाइलो र खुशी साटासाटमा व्यस्त हुन्छन् । 

घटस्थापना अगाडीका १५ दिन सोह्र श्राध्द करीव करीव सवै परिवारले पूर्वज तथा पितृको स्मृति प्रति आफ्नो श्रध्दा अर्पण गरे ।  त्यस भन्दा अघि हरितालिका तीजका केही औपचारिक दिनहरु हुने भए पनि केही वर्ष यता लगभग एक महिना नेपाली नारीहरु तीजको नाचगान र खानपानमा रमाइलो गर्नमा संलग्न रहदै आएका छन् । नारी पीर  र वेदना पोख्ने चाडको रुपमा समेत परिचित तीज ले सभ्रान्त वर्गमा समेत पकड जमाउन सफल भएको छ ।   यसरी आर्थिक वर्षको शुरु देखि अहिले सम्मको यो अवधि चाडमय भएको छ । यी चाडपर्वका आफना मौलिक सांस्कृतिक विशेषता छन्, यिनीहरुले विशिष्टि ऐतिहासिक परम्परा बोकेका छन्, समयको क्रम संगै ऐतिहासिक मूल्य मान्यताको निरन्तरतामा आधुनिकता पनि क्रमशः समाहित हुदै गइरहेको छ ।  यसको अतिरिक्त कुनै जाति, जनजाति वा क्षेत्र विशेषले मनाउने उधौली उभौली, विभिन्न ल्होसारहरु,माघी, इद, गौरा पर्व फागु, चैते दशैं का आ आफ्ना महत्व र विशेषता छन् । केही वर्ष यता क्रिसमस डे, इस्वी सम्बतको नयां वर्ष, भ्यालेन्टाइन डे समेत अव क्रमशः नेपालीहरुको सांस्कृतिक परम्परा संग नजिकिदै गएको छ । 


नेपाल भाषिक, धार्मिक , भौगोलिक, सांस्कृतिक विविधतामा एकताको  संगमको पहिचनलेयुक्त मुलुक हो । यहाका हरेक जात, जाति, धर्म र सम्प्रदायको आ आफ्नै सांस्कृतिक महत्व छ ।  हाम्रा प्रत्येक चाड पर्वहरु मनाउनुको पछाडी विशिष्ट उद्देश्य रहेका छन् । हाम्रा चाड पर्वहरु धार्मिक सहिष्णुता र सामाजिक एकताको प्रतिकको  रुपमा रहेका छन् । हाम्रा प्रत्येक चाड पर्वहरु आपसी भाईचारा,बन्धुत्व, स्नेह सम्बन्ध, सदाचरण आदि गुण अभिवृद्धि गर्नमा  सहायक बन्ने गरेका  छन् । यो धार्मिक र सांस्कृतिक सहिष्णुता नेपालको विविधता भित्रको सुन्दर पक्षको रुपमा रहेको छ । 

चाडवाडको प्रशासनिक व्यवस्था र प्रभाव 

विदाः चाडहरु र दिन वा दिवसको महत्वलाई दृष्टिगत गरेर सार्वजनिक विदा दिइने गरिएको छ । नेपाल सरकारले सार्वजनिक गरेको सूचीमा नयाँ वर्ष, शिवरात्री र फागु पूर्णिमामा देशभरी नै बिदा हुनेछ। सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि १३ दिन बिदा दिइएको छ । सबै महिलाका लागि तीज र जितीया पर्व मनाउने महिलाका लागि १ दिन बिदा हुनेछ। यसैगरी बुद्ध जयन्तीको दिनपनि देशभरी नै बिदा हुनेछ । काठमाडौं उपत्यकाको लागि चार दिन जात्रा बिदा र शिक्षण संस्थाको लागि वसन्त पञ्चमीमा एक दिन बिदा हुनेछ । दशैंमा फूलपातीदेखि एकादशीसम्म पाँचदिन मात्र सार्वजनिक बिदा हुनेछ । यस्तै दिवस बिदा अन्तर्गत मजदुर दिवस र अन्तराष्ट्रिय महिला दिवसको दिन देशभरी नै बिदा दिइएको छ। संविधानसभाबाट संविधान जारी भएको दिन असोज ३ गतेलाई संविधान दिवसको दिन देशभरी नै राष्ट्रिय दिवसको बिदा हुनेछ । वैशाख ११ को लोकतन्त्र दिवस, जेठ १५ को गणतन्त्र दिवस, माघ १६ को शहीद दिवस, पुस २७ को राष्ट्रिय एकता दिवस र फागुन ७ गतेको प्रजातन्त्र दिवसमा अब बिदा हुने छैन । ल्होसार, क्रिसमस, छठ, माघी लगायत पर्वको दिन राष्ट्रिय बिदाको सट्टा सम्बन्धित समुदाय र भेगमा मात्र बिदा हुनेछ । महिलाले पाउने ऋषिपञ्चमीको बिदा पनि कटौती भएको छ । जनै पूर्णिमा, रामनवमी र कृष्णाष्टमीमा पनि अब बिदा हुने छैन।

सेवा शर्त नियमावली बमोजिम पाउने विदाः निजामती सेवा र अन्य सार्वजनिक संस्थान र निकायहरुमा छ दिन पर्व विदा,  छ दिन भैपरी विदा र ३० दिन घर विदा पाउने व्यवस्था छ । विदा अधिकारको विषय नभै सुविधाको कुरा हो तथापि यी विदाहरु कर्मचारीले आफनो आवश्यकता अनुरुप लिन पाउने व्यवस्था छ ।

चाडपर्व खर्चः सवै कर्मचारीले आफूले मनाउने चाडको लागि प्रत्येक वर्ष सो चाड शुरुहुनु १५ दिन पूर्व एक महिनाको तलव बराबरको रकम चाडवाड खर्च वापत पाउने व्यवस्था छ । शुरुमा दशै पेश्की , दशैं खर्च हुदै चाडपर्व खर्चमा रुपान्तरण भएको यो सुविधा दशैं खर्चको रुपमा उपभोग गर्ने कर्मचारीको बाहुल्यता रहेको छ  केही वर्ष यता अन्य चाडपर्वहरुको यो सुविधा उपभोग गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । यस्तो सुविधा उपभोग गर्ने कर्मचारीहरुले आफ्नो चाड विशेषमा सुविधा लिनुको साटो नयां नियुक्ति हुनासाथ जुन चाड अगाडी आएको छ त्यसैको नाममा सुविधा लिने परिपाटी बढेको छ । 

 विदाको चापः विशेष चाडवाडहरु  खास गरी दशैं, तिहार , तीज , सोह्र श्राध्द जस्ता अवधिका विदा नहुने दिनहरुमा ठूलो संख्याका कर्मचारीहरु विदामा वस्ने प्रवृत्ति छ यसवाट यी दिनहरुमा कार्यालयमा कर्मचारीको कम उपस्थिति हुने र फलस्वरुप सेवा प्रवाह वा दैनिक प्रशासनिक कार्य प्रभावित हुने गरेको छ । दशैंको घटस्थापना पूर्व र छठ सम्मका अवधि कार्यालयमा सवभन्दा वढी विदा वसिने अवधिको रुपमा रहेका छन् । हरितालिका तीज महिलाका लागि  विदा हुने दिन भए पनि केही वर्ष यता तीज अगाडीका धेरै दिनहरु दरको नामवाट प्रभावित हुने गरेका छन् । 

पूंजीगत खर्चमा प्रभाव : पहिलो चौमासिकमा पंूजीगत खर्च नहुनुको  विभिन्न कारणमध्ये पहिलो चौमासिक चाडवाडको सघन अवधि र कर्मचारीहरु वढी विदा वस्नु पर्ने अवधि हुनु पनि एउटा कारक तत्व हो । 

आर्थिक प्रभावहरु 

उपभोगमा बृध्दि

चाडवाडहरु जति सांस्कृतिक रुपमा महत्वपूर्ण हुन्छन् त्यति नै आर्थिक क्षेत्रमा प्रभाव पार्ने हैसियत राख्ने गर्दछन् । नेपालीहरुको लगभग २६ अर्वको कूल उपभोगको २० प्रतिशत  दशैं र तिहारमा र लगभग ५ प्रतिशत अन्य चाडवाडकै अवधिमा हुने गरेको छ । नेपालीहरुको कूल वार्षिक आय मध्ये ७५ प्रतिशत चाडवाडमा र त्यस मध्ये ५० प्रतिशत दशैं तिहारमा खर्च हुने गरेको छ । दशैं तिहारको अवधिमा लगभग ५ खर्व र अन्य चाडवाडहरुमा लगभग १ खर्व उपभोग हुने गरेको देखिन्छ ।  

व्यापारमा पनि दशैं र दशा

व्यापारिक दृष्टिले वर्ष भरिमा हुने कूल व्यापार मध्ये चाडपर्व अझ खास गरि दशैं तिहारको अवधिमा लगभग ४० प्रतिशत व्यापारमा यी चाडपर्वहरुको योगदान रहेको छ । मांसजन्य वस्तुहरु, दूधजन्य वस्तुहरु, खाद्यान्न र तरकारीहरुको बढी विक्री हुने समय पनि चाडवाडकै अवधि हो । यी वस्तुहरुको विक्रीमा आउने यो उच्च अवस्थाले किसानहरु को आयस्तरमा पनि केही वृध्दि हुने गर्दछ । तर किसानले आफ्नो उत्पादन सिधै बजारमा ल्याउन नसक्ने र वीचमा विचौलियाको प्रवेश हुने हुनाले व्यवसायिक विक्रेता वा विचौलियामा नाफाको ठूलो अंश जाने र किसानले कम मूल्य पाउने र उपभोक्ताले बढी मूल्यको भार खप्नु पर्ने अवधि पनि यहि नै हो । कपडा, इलेक्टेनिक्स सामान, जुत्ता, रंग रोगन, फर्निचर, चिनी मदिरा, पेय पदार्थ ले बढी बजार पाउने समय पनि चाडवाडकै अवधि हो । यसको अतिरिक्त स्थल यातायात र  हवाई यातायात का दृष्टिले यातायात संचालकहरुको लागि यी अवधिहरु सुनौला अवधि हुन् , क्यू कुर्न पर्ने, खाली सीट राखेर साधन संचालन गर्नु पर्ने , टिकटमा छूट दिनु पर्ने जस्ता समस्याहरु यी अवधिमा रहदैनन । 

अधिक मूल्य वृध्दि 

यस अवधिमा यी सर्व वस्तु वा सेवाको मूल्य वृध्दि अधिक हुने गर्दछ यसका कारणहरुमा बजारको नियम अनुसार माग बढ्ने र आपूर्ति सो अनुरुप हुन नसक्दा मूल्य बढ्नु स्वभाविक  हो । यसको अतिरिक्त कुनै वस्तु वा सेवाको आपूर्ति निश्चित व्यापारिक समूहमा रहेको हुन्छ उसले चाडवाडमा चाहिने सामानहरु आन्तरिक रुपमा वा आयात मार्फत केही समय अगाडी देखिनै आफ्नो नियन्त्रणमा राखेको हुन्छ जसवाट मूल्य माथि पनि उसकै नियन्त्रण रहेको हुन्छ । हाम्रो अनुगमन संयन्त्रहरु को कमजोर क्षमताको कारणले एकाध ठांउमा मूल्य बृध्दि र गुणस्तर नियन्त्रणमा सफल देखिए पनि यसको सर्वत्र सकारात्मक प्रभाव पर्न सकेको देखिदैन । व्यापारिक क्षेत्रमा देखिनु पर्ने संस्थागत सुशासन वा व्यवसायिक सुशासनको कमी पनि यसको कारक तत्व हो । 

आयात र राजस्व संकलनको  लागि उर्वर अवधि

आयातको दृष्टिले श्रावण पछिका महिनाहरु  बढी चापका महिना हुन् । आयातकर्ताले तीज, दशैं, तिहार र छठ जस्ता चाडहरुको अवसरलाई उपयोग गर्न र ती सामानहरु डिलर मार्फत रिटेलर सम्म यथासमयमा पुर्याउन श्रावण लागे देखिनै आयात गर्ने गर्छन । यसकारण चाडवाडको यो अवधि आयातको दृष्टिले मात्र होइन भन्सार राजस्व संकलनका दृष्टिले पनि महत्वपूर्ण हुने गर्दछ । आयातको यो चाप र बजारमा सामान विक्रीमा बढेको चापले यसै अवधिमा आन्तरिक राजस्वको ठूलो श्रोतको जोहो पनि यसै अवधिमा हुने गर्दछ । 

सकारात्मक सम्बन्धका अन्य श्रृंखला

आर्थिक गतिविधिमा आउने यी श्रृंखलाहरुले श्रम सम्बध्द व्यक्तिहरुको रोजगारीमा वृध्दि हुने र आय आर्जन हुने  गर्दछ । चाडवाडको अवधि चलचित्र व्यापार को दृष्टिले अव्वल रहने गर्दछ यसै कारणले नयां चलचित्रहरुको प्रदर्शनका शुरुवात यसै अवधिमा गरिन्छ । विज्ञापन बजारका दृष्टिले पनि चाडवाडको अवधि सुखद मानिन्छ । शहरी क्षेत्र, बजार क्षेत्र र सीमावर्तीक्षेत्रका बजारहरु यस अवधिमा गुल्जार हुने गर्दछन् । देशभित्रका उद्योग र उत्पादकहरुले पनि आफ्नो उत्पादन यस अवधिमा बढाउने गर्दछन् ।

रकमको व्यापक प्रवाह

वैदेशिक रोजगारीमा गएका कामदारले पठाउने विप्रेषण प्राप्तिको ठूलो हिस्सा यसै अवधिमा केन्द्रित हुने गरेको छ । नेपाल सरकारको कोषवाट मासिक तलव र निवृत्तिभरण प्राप्त गर्ने कर्मचारीहरुको लागि लगभग रु १२ अर्व रकम चाडवाडखर्च वापत भुक्तानी हुने गर्दछ भने अन्य क्षेत्रमा काम गर्ने कामदार कर्मचारीहरुले यस अवधिमा यसै नाममा पाउने वोनस, अतिरिक्त सुविधा वा चाडवाडखर्चको रकम यो भन्दा वढि हुने गर्दछ । यसरी २५ अर्व भन्दा वढी रकम यस अवधिमा कर्मचारीहरुको हातमा पर्ने गर्दछ जुन रकमले बजारमा स्थान पाउने गर्दछन् ।साथै नयां नोटहरुको प्रवाह पनि यसै अवधिमा हुने गर्दछ ।

अनुत्तरित नियमितताहरु

भदौ असोज लागेपछि  हामीले हरेक वर्ष भोगिरहनु परेको एउटा समस्या चिनीको आपूर्तिको पक्ष हो । नेपाली चिनी व्यवसायीहरुको भनाईमा नेपाल चिनीमा आत्म निर्भर छ यसै कारणले सरकारले चिनी आयातमा आन्तरिक उत्पादक हरुको हितको लागि चिनीको आयातमा संकुचनको नीति लिएपनि  चिनीको आपूर्तिको असहजता र मूल्य बृध्दि र अन्तत चिनीको आयातमा उदार वन्नुपर्ने प्रवृत्ति कायमै रहेको छ । आन्तरिक आपूर्ति, आयात र मूल्यको यो त्रिकोणीय समीकरण मिल्न सकिरहेको छैन । 

कृषि प्रधान देश नेपालले यस अवधिमा आफ्नो तुलनात्मक लाभका क्षेत्रहरु खसी , बोका, रांगाको समेत अत्यधिक आयात गर्नु पर्ने बाध्यता छ । अर्को वर्ष आउने चाडवाडलाई लक्षित गरेर मासुको आपूर्ति बढाउने वा आयातमा न्यूनीकरण गर्ने रणनीति बनाउन र सो को कार्यान्वयन गर्न हामी चुकिरहेका छौं । त्यसै गरि प्रत्येक नेपालीको घर आंगनमा हुने र जतासुकै फूल्न सक्ने मखमली फूलको केही महिनाको मात्र व्यवसायिक योजना बनाउन नसक्दा तिहारमा करोडौंको मखमली फूल र मालाको समेत आयात हुने गरेको छ । 

सरकारले सार्वजनिक संस्थाहरुको सहभागितामा सुपथ मूल्य पसल यस्ता चाडवाडहरुमा संचालन गर्ने गरेको छ यस्तो सुविधा काठमाण्डौ वा शहर केन्द्रित हुने गरेको छ यसको क्षेत्र विस्तारको आवश्यकता छ ।

(प्रशासन र संघीयताका विषयका विश्लेषक तथा कुशल प्रशिक्षक दामोदर रेग्मी साझासबाल डटकमका नियमित लेखक हुन् ।)



यस बिषयमा तपाइको प्रतिक्रिया...!