एनआरएन अमेरिकाको अध्यक्ष पदको लागि संजय थापाद्वारा आधिकारिक उम्मेदवारी घोषणा (पूर्ण पाठ)

Posted on: 11 Mar, 2019

विजय थापा | फागुन २७, अमेरिका | गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिकाका वर्तमान कार्यकारी समिति सदस्य संजय थापाले आगामी एनआरएन अमेरिकाको निर्वाचनको लागि अध्यक्ष पदको लागि आधिकारिक रुपमा उम्मेदवारीको घोषणा गरेका छन् । 

उनले गत मार्च १० का दिन पत्रकार सम्मेलन मार्फत उक्त घोषणा गरेका हुन् । उनले उक्त पत्रकार सम्मेलनमा आफूले नेपाल देखि नै गरेका सामाजिक सेवा तथा तथा नेतृत्व स्तरमा गरेका अनुभव र आफ्नो सकारात्मक धारणा प्रष्ट पार्दै आफूलाई सहयोग गर्न सबैमा आग्रह गरेका छन् । 

उक्त घोषणामा पत्रकारले राखेका जिज्ञाशाको उत्तर दिएका थिए । उनले  विगत लामो समयदेखि आफू  एनआरएन अमेरिकालाई सशक्त बनाउने मात्रै नभएर गैर आवासीय नेपालीहरुको अधिकार स्थापित र सुरक्षित गर्न लागि परिरहेको जनाएका थिए । 


काठमाण्डौंको गोकर्णमा सन् १९६४ सालमा मध्यम् वर्गीय परिवारमा भएको थापाले भने । उनले काठमाण्डौंकै आनन्दकुटी हाईस्कुलबाट एसएलसी, अमृत साईन्स क्याम्पसबाट आईएस्सी, पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट डिप्लोमा र भारतको मद्रास कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक सम्मको अध्ययन पूरा गरेको छु भनि जानकारी दिएका थिए । 

उनले मन्तब्य दिने क्रममा बिभिन्न समयमा हुने गरेका आकस्मिक घटना/दुर्घटनामा परेका पीडित परिवारलाई उचित क्षतिपूर्तिको लागि सम्बन्धित पक्षसँग पहल गर्नुका साथै प्रत्येक सदस्यको लागि कम्तिमा ५० हजार अमेरिकी डलर बराबरको जीवन बिमा गर्न/गराउनको लागि अमेरिकी सरकार, राज्य र बिमा कम्पनीसँग आवश्यक पहल र प्रक्रिया अघि बढाउँनेछु भनि प्रतिबद्धता जाहेर गरेका छन् । 


थापाले निर्वाचन निस्पक्ष र स्वतन्त्र होस भन्ने हेतुले सदस्य बन्ने अभियानमा केहि कडाई गरिए तापनि सोचे जस्तो हुन नसकेको अनुभुति भएको कारण निर्वाचन आयोग सँंग निर्वाचन आयोगको कुनै पनि सदस्यले सफ्टवेयर को एडमिनको एक्सेस लिन नपाउने माग समेत राखेका छन् । 

उनले पत्रकारहरुलाई यस बिषयमा खबरदारी गर्न तथा यसमा राको बल्न समेत आग्रह गरेका छन् । 

थापाको छापा बिज्ञप्ति जस्ताको तस्तै को पुर्ण पाठ :

प्रेस विज्ञाप्ती

मितिः मार्च १०, २०१९

आदरणीय पत्रकार साथीहरु

साथै उपस्थित सम्पूर्णमा सादर नमस्कार ।

पृष्ठभूमीः

समाजको हित र सामाजिक अभियानमा कहीं न कहीं आफ्नो भूमिका रहोस् भन्ने हामी सबैको चाहना हुन्छ । हाम्रो त्यही चाहना र समाजप्रतिको हाम्रो प्रतिवद्धताको जगमा नै सामाजिक संघ/संस्थाहरुको जन्म हुन्छ, अनि त्यस संस्थाको नेतृत्वको भिजन अनि संस्थाका पदाधिकारीहरुदेखि सदस्यहरु समेतको सक्रियतामा संस्थाको गरिमा मात्रै होईन उसको आवश्यकताको औचित्य र जीवन गाँसिएको हुन्छ । यहाँहरुलाई विदितैै छ, अमेरिकामा रहेका हामी नेपालीहरु कुनै न कुनै रुपमा समाज र समुदायको हितमा काम गर्न रुचाउँछौ र हाम्रो त्यही स्वभावको कारण हामी बिभिन्न संघ/संस्थामा आवद्ध रहँदै आएकाछौं । हामी जहाँ रहन्छौं, त्यहाँबाट आफुले सकेको भूमिका समाज र समुदाय प्रति खेल्दै पनि आएकाछौं ।

भौगोलिक, जातिय, सांस्कृतिक एवं बिभिन्न वैचारिक आस्था वा अन्य कुनै निकटताको आधारमा संस्थाहरुको जन्म हुने र त्यसरी जन्मिएका संस्थाहरुको दायरा पनि तुलनात्मक रुपमा साँघुरो हुने सत्य बुझ्दै गएपछि सबैलाई गोलबन्द गर्न सक्ने, सशक्त र सर्वव्यापी सामुदायिक संस्थाको आवश्यकताको मनन गर्दै गैर आवासीय नेपाली संघ (एनआरएनए) को जन्म भएको सत्य हो । आवश्यकताको आधारमा सकारत्मक सोँच सहित स्थापित यस एनआरएनले विश्वको बिभिन्न देशमा जस्तै अमेरिकामा पनि सशक्त बन्दै गएको हामीले देखेको मात्रै होईन, त्यस्ता कर्ममा हामी आफैं प्रत्यक्ष रुपमा सक्रिय र सहभागी रहँदै आएकाछौं । 

संस्था स्थापनादेखि आजको मितिसम्म आईपुग्दा एनआरएन अमेरिकाले आफुलाई क्रमसः थप जनमुखी, परिष्कृत बनाउँदै लगेको पनि हामीले देख्दै आएकाछौ । यद्यपी अझै पनि एनआरएन अमेरिकालाई थप सेवामुखी र विश्वसनीय बनाउन प्रशस्तै कामहरु पूरा गर्न बाँकी छन् । जसरी अहिलेसम्म हामीले मिलेरै सकारात्मकता तर्फ उन्मुख काम गर्दै आएकाछौं । अब पनि हामीले मिलेर नै एनआरएनलाई सशक्त बनाउनु पर्ने हुन्छ ।  

यहाँहरु सबैलाई अवगत छ कि, विगत लामो समयदेखि म एनआरएन अमेरिकालाई सशक्त बनाउने मात्रै नभएर गैर आवासीय नेपालीहरुको अधिकार स्थापित र सुरक्षित गर्न लागि परिरहेकोछु । त्यस काममा मलाई यहाँहरुको सदैव सहयोग रहँदै आएको छ । मेरो त्यही सेवामुखी स्वभाव अनि सकारात्मक काम गर्न यहाँहरुको सधैं सहयोग रहने विश्वास सहित एनआरएन अमेरिकाको आगामी नेतृत्वको निम्ति प्रतिस्पर्धा गर्ने निर्णय गरेको छु ।

मलाई विश्वास छ, सदा झैँ यहाँहरुको विश्वास र सहयोग अवश्य मिल्नेछ । यहाँहरुबाट विश्वसको मत र सहयोगको अपिल गर्दै गर्दा म, मेरा भावी सोंच र कार्यक्रमहरु संक्षिप्त रुपमा यहाँहरुको बीचमा राख्नु बाञ्छनीय हुने ठानेर यहाँ प्रस्तुत गरेकोछु ।

उनले १२ बुदे आफ्ना प्रतिबद्धता जाहेर गरेका छन् भने उक्त प्रतिबद्धता प्रति पहल गर्ने बताएका छन् । 

विषय प्रवेशः

मेरो जन्म काठमाण्डौंको गोकर्णमा सन् १९६४ सालमा मध्यम् वर्गीय परिवारमा भएको हो । मैले काठमाण्डौंकै आनन्दकुटी हाईस्कुलबाट एसएलसी, अमृत साईन्स क्याम्पसबाट आईएस्सी, पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट डिप्लोमा र भारतको मद्रास कलेज अफ इन्जिनियरिङ एण्ड टेक्नोलोजीबाट सिभिल इन्जिनियरिङमा स्नातक सम्मको अध्ययन पूरा गरेको छु । 

उच्च शिक्षा आर्जनको लागि अमृत साईन्स क्याम्पस (अस्कल) जाने पहिलो दिनमै राजाको सवारी कारण कलेज बन्द गरिएपछि मभित्र राज्य र शासकप्रति एककिसिमको बितृष्णा जाग्यो । यससँगै कलेजका प्रारम्भिक दिनहरुमा भएगरेका अनियमितता र असान्दर्भिकताको बिपक्षमा संस्थागत बिरोध र परिवर्तनको महसुस हुन थालेपछि तात्कालिन कलेजमा क्रियाशील अखिल नेपाल विद्यार्थी युनियन अन्तर्गत अस्कल सह-प्रारम्भिक कमिटीको सचिव भएर मैले विद्यार्थीहरुको हक, हित र अधिकारको लागि काम गर्ने अवसर प्राप्त गरे । उच्च शिक्षाको क्रममा भारत रहदा अखिल भारत नेपाल स्वतन्त्र विद्यार्थी युनियन मद्रास नगर कमिटीको अध्यक्ष एवं तत्कालिन मद्रास शहरमा पढ्ने नेपाली विधार्थीहरुको संस्था युनियन अफ नेप्लिज स्टुडेन्ट (SUN) को अध्यक्ष समेत रहेर काम गरे । 

अध्ययन पूरा गरेपछि केही समय स्थानिय विकास मन्त्रालय अन्तर्गत फोहोर मैला तथा श्रोत परिचालन केन्द्रमा काम गरे र पछि आफ्नै निर्माण कम्पनी मार्फत व्यवसाय सुरु गरी २०५४ सालमा काठमाण्डौं जिल्ला विकास समितीको क्षेत्र नं. ३ बाट सदस्यमा निर्वा्चित हुने मौका मिल्यो र ५ बर्ष काम गरे । यो अवधिमा सामुदायिक उच्च मावि र कलेजको पनि व्यवस्थापन समितिको सदस्य भई काम गर्ने अवसर प्राप्त भयो । 

अमेरिका र सामुदायिक संलग्नताः

नेपालमा रहदा बिभिन्न सरकारी एवं गैरसरकारी संघ संस्थामा सक्रिय भईरहने क्रममा मैले लायन्स क्लव नेपालको एक कार्यक्रममा सहभागी हुन २००६ सालमा अमेरिका आउने अवसर प्राप्त गरे । सन् २००७ मा लायन्स क्लवकै एक कार्यक्रममा सहभागि हुन अमेरिका आएको बेला नेपाल फर्कन केहि आर्थिक जोहो गर्ने क्रममा एक कम्पनीमा आफ्नै अध्ययन अनुसारको काम गर्ने अवसर प्राप्त गरेसँगै सोहि समयदेखि स्थायी रुपमा सपरिवार अमेरिका बस्दै आईरहेको छु । 

 नेपाल हुँदा बिभिन्न सामाजिक संघ/संस्थाको बिभिन्न तह र तप्कामा रहेर काम गरेको अनुभवलाई अमेरिकामा रहेका नेपाली समुदायबीच बाँडने मौका मलाई युनाईटेड नेप्लिज डेमोक्रेटिक फोरम (युएनडिएफ) ले (पछि परिवर्तित नाम प्रवासी नेपाली मञ्च) जुराई दियो । 

म २००८ मा यस संस्थाको महासचिव हुँदै २०१३ सम्पन्न मञ्चको प्रथम अधिवेसनबाट अध्यक्षमा निवार्चित भएर नेपाल र नेपालीको हितमा केहि न केहि गर्ने अवसर समेत मैले प्राप्त गरे । 

“नेपालीको लागि नेपाली” भन्ने मूल नारा लिएर स्थापित गैर आवासीय नेपाली संघ (एनआरएनए), राष्ट्रिय समन्वय परिषद (एनसिसी) अमेरिकामा विगत दुई बर्षदेखि संघको बोर्ड अफ डाईरेक्टरमा रहेर हाल बिभिन्न क्षेत्रमा संयोजनकारी भूमिका निवार्ह गर्दै आईरहेकोछु । मैले संघमा गठित सरकारी संयोजक समितिको संयोजक, एनआरएन हेल्प डेस्क सह-संयोजक, विधान मस्यौदा समिति सदस्य भएर तीनै जिम्मेवारीहरुलाई कुशलतापूर्वक निर्वाह गरेकोछु । 

मैले एनआरएन अमेरिकाको दुई बर्षे कार्य अनुभवलाई अझ संस्थागत बनाउँन र समुदायको हितमा अझ कसरी स्थापित गर्न सकिन्छ भन्ने उद्देश्य अनुरुप संघको आगामी कार्यकाल (‪२०१९-२०२१‬) को लागि अध्यक्ष पदमा उमेदवारी दिने निणर्य गरेको समेत यसै विज्ञाप्ती मार्फत राख्न चाहन्छु । 

संघमा हाल विद्यमान विकृित बेथितिहरुको स्थायी निवारण गरेर संस्थागत विकास र बिस्तार गर्न नेतृत्व पंक्तिमै उभिनु पर्ने सत्यलाई स्वीकार्दै यहाँहरुको सहयोगको अपेक्षा समेत राखेकोछु । संघको “नेपालीका लागि नेपाली” भन्ने मूल नारालाई पूर्णता दिलाउन नेपाली समुदायकै हक, हित र अधिकार प्राप्तिको लागि भरमग्दुर प्रयास गर्नेछु । जसको लागि मेरा प्रतिबद्धताहरुलाई बुँदागत रुपमा प्रस्तुत गर्न चाहन्छु ।

१) एनआरएन अमेरिकाको स्थापनाकालदेखि हालसम्म संस्थागत रुपमा समयानुकुल परिमार्जित हुँदै आएको विधान र यसले निर्देश गर्ने योजना र कार्यक्रमलाई प्रमुखताका साथ सम्पन्न गर्नेछु । जसको लागि संघको उद्देश्य प्राप्तिको लागि सम्बन्धित निकायमा संस्थागत पहल गर्नेछु ।  

२) संघको सदस्यता वितरण हालको भन्दा अझ सरल, प्रभावकारी र विश्वश्नीय बनाउँदै सदस्यको व्यक्तिगत विवरणलाई गोपनीय र भरपर्दाे तरिकाले अभिलेख राखिनेछ । साथै अमेरिकी कानुन वमोजिम दर्ता भई केन्द्रिय स्तरमा कृयाशिल सामाजिक संघ/संस्थाका प्रमखुहरु, विभिन्न क्षेत्रका विज्ञहरु, नेपाल सरकारका अवैतनिक वाणिज्य दुतहरु सहित कम्तिमा ३३ प्रतिशत महिला सहभागिता रहेको सल्लाहकार समिति गठन गरी संस्थालाई समयानुकुल र समावेशी बनाउँनेछु ।।

३) बिभिन्न समयमा हुने गरेका आकस्मिक घटना/दुर्घटनामा परेका पीडित परिवारलाई उचित क्षतिपूर्तिको लागि सम्बन्धित पक्षसँग पहल गर्नुका साथै प्रत्येक सदस्यको लागि कम्तिमा ५० हजार अमेरिकी डलर बराबरको जीवन बिमा गर्न/गराउनको लागि अमेरिकी सरकार, राज्य र बिमा कम्पनीसँग आवश्यक पहल र प्रक्रिया अघि बढाउँनेछु ।

४) नेपालीहरुको घना आवादी भएको ठाउँहरुमा आवश्यकता अनुसार नेपाल सरकारको सेवा सुलभ तरिकाले उपलब्ध गराउन आवश्यक पहल गर्नेछु । साथै बिभिन्न राज्यमा रहेका नेपालीहरुको सीप र दक्षता अभिबृद्धि गराई आर्थिक स्तर बढाउँनको लागि अमेरिकाका सरकार र स्थानिय निकायसँग संस्थागत समन्वय गर्नेछु ।

५) अमेरिकाको बिभिन्न राज्यमा स्थापित नेपाली संघ/संस्थाहरुसँग एनआरएन अमेरिका र मातहतको च्याप्टरसँग आवश्यक समन्वय गरी नेपाली भाषा, कला, साहित्य, संस्कृति र खेलकुद लगायतका अन्य गतिविधिहरुको प्रर्वद्धन र प्रवर्तनको लागि आवश्यक पहल गर्नेछु ।

६) अमेरिकामा रहेका नेपालीहरुको नियमित र आकस्मिक समस्या समाधानको लागि कानुनी परामर्श, उपचार र अन्य सेवाको लागि एनआरएन हटलाईन र हेल्प डेस्कको प्रभावकारी व्यबस्था गर्नेछु ।

७) नेपाली राजदूतावास, वाणिज्य दूतावास, तथा अन्य सरकारी कार्यालयका प्रतिनिधिहरुको काम कारवाहीलाई अझ सर्वसुलभ र प्रभावकारी बनाउन सम्बन्धित संघ/संस्थाहरुसँग समन्वय गरी अमेरिकामा रहेका नेपालीहरुले तुरुन्तै सेवा पाउँन सक्ने गरी बिशेष कार्य योजना ल्याउँनेछु । साथै संघले नेपाली दूतावाससँग समन्वय गरी तत्काल अस्थायी सचिवालय र निकट भविष्यमा स्थायी कार्यालयको स्थापनाको लागि पहल गर्नेछु । 

८) नेपाल र अमेरिकाबीचको विद्यमान दोहोरो कर प्रणालीको अन्त्य गरी अमेरिकामा रहेका नेपालीले नेपालमा लगानी अभिवृद्धि गर्न/गराउँन अमेरिकी सरकारसँग समन्वय गर्नेछु । 

९) दोहोरो नागरिकता नियमावली सम्बन्धी आईपर्ने कुनै पनि अप्ठ्यारा र झन्झट भएमा नेपाल सरकारसँग अविलम्ब समन्वय गर्ने र दोहोरो नागरिकताको प्रमाणपत्र राजदूताबास लगायत अन्य कुटनीतिक कार्यालयबाट उपलब्ध गराउँन आवश्यक पहल कदमी गर्नेछु ।

१०) नेपाल र अमेरिकाको बिभिन्न गाउँ, नगर र शहरबीच भगिनी सम्बन्ध स्थापित गर्न सम्बन्धित निकायमा पहल गर्नुका साथै विश्वविद्यालय र अन्य शैक्षिक संस्थामार्पmत दुवै देशबाट “स्टुडेन्ट एक्चेञ्ज” जस्ता कार्यक्रमको लागि समन्वय आवश्यक पहल गर्नेछु ।

११) “नेपाल भ्रमण २०२०” लाई प्रत्यक्ष रुपमा सहयोग पुर्याउनको लागि अमेरिकाको बिभिन्न शहरहरुमा मेला, महोत्सव र परेडहरुको आयोजना गर्नुका साथै सम्बन्धित निकायमा नेपाल भ्रमणको लागि नेपाल सरकार र एनआरएनको पहलमा संस्थागत निमण्त्रणा गरिनेछ ।

१२) अमेरिका आई बिभिन्न क्षेत्रमा बिशेषज्ञता हासिल गरेका र आ–आफ्नो ज्ञान र सीपको माध्यमबाट नेपालको समृद्धिको निम्ति योगदान गर्न तत्पर अमेरिकाबासी नेपालीहरुलाई त्यस्तो योगदान गर्न सक्ने वातावरणको निमार्ण गर्न एनआरएनले त्यस्ता बिशेषज्ञहरुको पुल निमार्ण गरी वहाँहरुको बिशेषज्ञता र नेपाल सरकारको आवश्यकता मिल्दो–जुल्दो व्यत्तित्वहरुलाई नेपाल सरकारसँग प्रत्यक्ष सहभागी भई कार्य गर्ने वातावरणको निमार्ण गर्न आवश्यक पहल गर्नेछु ।

र अन्तमा निर्वाचन निस्पक्ष र स्वतन्त्र होस भन्ने हेतुले सदस्य बन्ने अभियानमा केहि कडाई गरिए तापनि साँेचे जस्तो हुन नसकेको अनुभुति भएको कारण निर्वाचन आयोसँंग निम्न मागहरु प्नि राख्न चाहन्छु । 

क. One Device (IP) One Vote गर्नु पर्ने ।

ख Verification Code सदस्यता आवेदनमा प्रयोग भएको फोन नम्बरमा मात्रै उपलब्ध गराउनु पर्ने ।

ग. अध्यक्षको उमेदवारको एउटा प्रतिनिधि निर्वाचन अनुगमनमा राख्नु पर्ने र निर्वाचन आयोगले गर्न लागेको सवै कामको जानकारी उक्त प्रतिनिधिलाई उपलब्ध गराउनु पर्ने ।

घ. निर्वाचन आयोगको कुनै पनि सदस्यले Software को Adimin /Access लिन नपाउने ।

ङ. निर्वाचनको परिणाम ईमेलबाट नभएर कम्प्युटरको सिस्टमबाटै निर्वाचन आयोगलाई पठाउने र निर्वाचन आयोगले त्यसैको आधारमा निर्णय सार्वजनिक गर्नु पर्ने ।

“सवल, सक्षम र समवेसी एनआरएन” निमार्णमा यहाँहरुको भूमिका अहम् र अवर्णनिय रहनेछ । यहाँहरुको निरन्तर निगरानीले नै “हाम्रो एनआरएन” लाई “राम्रो एनआरएन” बनाउँन सम्भव छ । 

धन्यवाद ।

जय एनआरएन ।

यहाँहरुको अमुल्य सल्लाह, सुझाव र प्रतिक्रियाको लागिः 

सञ्जय थापा

अध्यक्षका उमेदवार

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, अमेरिका

(‪२०१९-२०२१‬)

फोन नं. ‪९१७ ७०३ ३१९५‬

इमेलः [email protected]

यस बिषयमा तपाइको प्रतिक्रिया...!