न्यूयोर्कका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट बिमोचन

Posted on: 24 May, 2019

जेठ १०, अमेरिका | अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउदै आएका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट बिमोचन गरिएको छ । 

सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको बिमोचन गरेका हुन् । शेर्पाले २३ औं पटक सगरमाथा आरोहणको आफ्नो पुरानो किर्तिमान तोडेर २४ औं पटक सगरमाथाको शिखर चुम्न सफल भएका थिए ।

सन् २०१५ को महाभूकम्पमा सगरमाथामा हिमपहिरोका कारण झण्डै २ दर्जनको ज्यान गएको थियो, जसमा गुगलका कार्यकारी अधिकारी डानियल पल समेत रहेका थिए । सगरमाथा आधार शिबिरमा गएको हिमपहिरोमा पुरिएर उनीहरुको ज्यान गएको थियो । हिमपहिरोका कारण ६० जनाभन्दा बढी घाइते भएका थिए भने डेढ सय बढीको उद्दार गरिएको थियो ।


पुस्तकमा हिमपहिरो छल्दै नाम्चेसम्म आएका एकजना विदेशी र हिमपहिरोमा गाउँ नै पुरिंदा बाँच्न सफल नेपालीको अनुभव समेत समेटिएको छ । महाभूकम्पपछिको आर्तनाद र आशामा आधारित पुस्तक कम्पनमा महाभूकम्पमा आफन्त गुमाउनेहरु, मुस्किलले बाँचेकाहरु, राहत र उद्दारमा खटिनेहरु, उपचारमा खटिनेहरु र समाचार संकलनमा खटिनेहरुको जीवन्त बयान समेटिएको छ ।

कामीरिता शेर्पाले यसपटक एउटै मौषममा दुईपटक सगरमाथा आरोहण गरेर नयाँ रेकर्ड समेत कायम गरेका हुन् । सोमबार विहान ६ बजेर ३८ मिनेट जाँदा सगरमाथाको शिखर चुम्न सफल कामीरिता शेर्पाले त्यहाँबाट पुस्तक कम्पनको बिमोचन गरेको चलचित्र निर्माता तथा फोटोपत्रकार विनोद अधिकारीले जानकारी दिए । 

अधिकारीले विश्वको सबैभन्दा अग्लो स्थानमा टेलिभिजन (दुर दर्शन ) विज्ञापन निर्माण गरेर अभिलेख कायम गरेका थिए । उनले सन् २०११ मा सगरमाथामा दुई महिना लगाएर निर्माण गरेको टेलिभिजन विज्ञापन सार्वजनिक गरेका थिए ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!