ओमानका नेपाली सुरक्षित, बहराइनमा कन्सुलर सेवा स्थगन

Posted on: 10 Apr, 2020

चैत २८, काठमाडौँ | कोभिड–१९ बाट ओमानमा रहेका नेपाली सुरक्षित रहेका छन् । मस्कटस्थित नेपाली दूतवासले हालसम्म कुनै पनि नेपालीमा कोरोनाको सङ्क्रमण नभएको जनाएको छ । 

कोरोना भाइरसबाट आजसम्म ओमानमा ४५७ सङ्क्रमित भएको तथा दुईको मृत्यु र ७१ जना स्वास्थ्यलाभ गरी घर फर्केका छन् । कोरोनाबाट विभिन्न मुलुकका नौ नेपालीको ज्यान गइसकेको छ भने १०० भन्दा बढी नेपाली कोरोनाको सङ्क्रमणको चपेटामा परेका छन् । यही चैत २८ देखि आगामी वैशाख १२ गतेसम्म ओमान सरकारले लकडाउन गर्ने तयारी गरेको भन्दै दूतावासले उक्त समयमा अत्यावश्यकबाहेक कुनै पनि काममा घर बाहिर ननिस्कन त्यहाँका सबै नेपालीमा आग्रह गरेको छ । 

ओमानमा रहेका तथा बिदामा नेपाल आएका नेपालीको भिसाको म्याद समाप्त भए अनलाइनबाट भिसा थप गर्ने व्यवस्था मिलाएको दूतावासले जनाएको छ । 

बहराइनमा कन्सुलर सेवा स्थगन 


बहराइनमा कोरोना सङ्क्रमितको सङ्ख्यामा बढोत्तरी भएसँगै मनमास्थित नेपाली दूतावासबाट प्रदान हुँदै आएको कन्सुलर सेवा तत्कालका लागि स्थगन गरिएको छ । दूतावासले बिहीबार सूचना जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि कन्सुलर सेवा स्थगन गरिएको जनाएको हो ।

अत्यावश्यक अवस्थामा कन्सुलर सेवा लिन परेमा दूतावाससँग समय लिई एक जनामात्र उपस्थित भएर सेवा लिन सकिने बताइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!