शेयर बजारमा नेप्से परिसूचक चार अंकले घट्यो

Posted on: 12 Feb, 2018

माघ २९, काठमाडौँ | लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा आज पनि नेप्से परिसूचक ४.४२ बिन्दुले घटेको छ । 

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक लगातार ओरालो लागेर एक हजार ३८० बिन्दुमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.७४ बिन्दुले घटेर २९२ बिन्दुमा पुगेको छ । 

आज कूल १५६ कम्पनीको छ लाख ८४ हजार २८ कित्ता शेयर रु २४ करोड ६७ लाख ६ हजार ७८१ मूल्यमा कारोबार भएको छ । 

आज व्यापार ४.७२, विकास बैंक ६.७६ र अन्य समूह ३.९३ बिन्दुले उकालो लागेको थियो भने बैंकिङ चार, होटल ९.२८, जलविद्युत् १.७४, फाइनान्स २.१६, बीमा ७३.०३, उत्पादन १४.६३ र माइक्रोफाइनान्स ६.७ बिन्दुले ओरालो लागेको छ । 

शिवश्रीको आइपिओ आउँदै 

शिवश्री हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई साधारण शेयर (आइपिओ) निष्कासन गर्ने भएको छ । 

कम्पनीले दिएको जानकारीअनुसार आयोजना प्रभावित सिन्धुपाल्चोक जिल्लावासीलाई १० प्रतिशत शेयर निष्कासनको तयारी गरेको छ । 

कम्पनीले पहिलो चरणमा रु १४ करोड ७६ लाख ४० हजार बराबरको १४ लाख ७६ हजार ४०० कित्ता साधारण शेयर जारी गर्ने तयारी गरिएको छ । 

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणलाई रु २० करोड बराबरको साधारण शेयर निष्कासन गर्ने तयारी गरेको छ । आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत शेयर दिनुपर्ने कानूनी प्रबन्धका कारण कम्पनीले दुवै समूहलाई शेयर दिन लागेको हो । 

कम्पनीले साधारण शेयर जारी गर्नका लागि यसअघि नै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ । 

यस्तै कम्पनीले आगामी तीन महिनाभित्र २२ मेगावाट क्षमताको माथिल्लो चाकुखोला जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन शुरु गर्ने छ । कम्पनीका प्रमुख उमेश कसजुका अनुसार हाल आयोजनाको ९० प्रतिशतभन्दा बढी निर्माण सम्पन्न भइसकेको छ । आयोजनाको लागत रु चार अर्ब तीन करोड छ । रासस


यस बिषयमा तपाइको प्रतिक्रिया...!