भेरी–बबई डाइभर्सन आयोजना: पाँच महिनामा ३५ सय मिटर सुरुङ्ग

Posted on: 16 Apr, 2018

बैशाख ३, सुर्खेत | राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माणाधीन भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्ने कामले तीव्रता पाएको छ । नेपालमा पहिलो पटक प्रयोगस्वरूप भित्र्याइएको टनेल बोरिङ्ग मेसिन (टीवीएम) मार्फत आयोजनाले काम सुरु गरेपछि निर्माण कार्यले तीब्रता लिएको हो ।पाँच महिनाको अवधिमा तीन हजार पाँचसय मिटर सुरुङ खनिएको छ ।

सामान्य मेसिनरी गडबडीबाहेक टीवीएममा कुनै समस्या नभएकाले सुरुङ खन्ने काम सहज भइरहेको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुक्मागत खनालले जानकारी दिए । मेसिनको प्रयोगबाट आयोजनाको सुरुङ खन्ने काम द्रुत गतिमा अघि बढेको पनि खनालले बताए । सन् २०२० मार्चसम्म सम्पन्न गरिसक्नुपर्ने आयोजनाको सुरुङ निर्माण २ वर्षसम्म सकिने छ । ‘टीवीएममार्फत दैनिक औसतमा २५ मिटर सुरुङ खन्ने काम भइरहेको छ’ खनालले भने, ‘आयोजनाको २ वर्षमा भेरीबबई डाइभर्सनको १२ किलोमिटर सुरुङ खन्ने लक्ष्य रहेको छ ।’

तश्विरमा: सुर्खेतको हात्तीखालस्थित टनेल बोरिङ्ग मेसिनमार्फत खनिएको आयोजनाको सुरुङ । 

आयोजनाले सुरुङका साथै भेरीको मुहानतर्फ डाइभर्सन हेडवर्क, सुरुङ वारपार ब्यारेज र बबई नदीतर्फ पावरहाउस निर्माणका आगामी आर्थिक वर्ष २०७५/०७६ गर्ने गरी डिजाइन अध्यावधिक भइरहेको खनालले जानकारी दिए । आयोजनाको सवै काम ५ वर्षभित्र सकिनेछ । कुल १० अर्ब ५६ करोड रुपैयाँ लागतमा सञ्चालित सुरुङ निर्माण कार्यमा केही महिना अघि बजेट अभाव भएको थियो । तर सरकारले राष्ट्रिय गौरवको आयोजनाका लागि थप बजेट विनियोजन गरेपछि हाललाई कुनै अवरोध नभएको खनाल बताउँछन् । सिँचाइ मन्त्रालयमार्फत निर्णय गरी अर्थ मन्त्रालयले अपुग रुकम ३ अर्ब ९६ करोड निकासा दिएको थियो ।

राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना निर्माणको सम्झौता चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप कोभेकसंग भएको हो । आयोजनाअन्तर्गत भेरी–बबई नदीबीचको सुरुङ खन्ने काम सुरु गरिएको थियो । नेपालमा पहिलो पटक चुरे पहाडमा प्रयोगस्वरूप सुरु गरिएको (टीवीएम) मेसिन पाकिस्तानको नेलम झेलममा प्रयोग भइसकेको छ । नेपालको शिवालिक (चुरे क्षेत्र) मा प्रयोग गरिएको मेसिन सफल भएको खनाल बताउँछन् । टीवीएम मेसिनले भेरी–बबई आयोजनाको सफलतासँगै नेपालका अन्य आयोजनाहरु मेट्रो रेल, हाइड्रोपावर लगायत फास्ट ट्याक निर्माणमा सहयोग पुग्ने अपेक्षा खनालको छ ।

आयोजना सम्पन्न भएपछि बाँके र बर्दियाको ५१ हजार कृषि क्षेत्र सिँचित हुनेछ भने ४८ मेघावट जलविद्युत उत्पादन गरिनेछ । टीवीएमको सफलतासँगै आधुनिक प्रविधिको प्रयोगले नेपालका निर्माणाधीन अन्य आयोजनामा समेत सफलता मिल्ने अपेक्षा सरकारको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!