आन्तरिक रोजगारीका लागि छिट्टै नीति तथा कार्यक्रम ल्याइने

Posted on: 15 May, 2018

प्रज्वल पौडेल | जेठ १, काठमाडौँ | श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले छिटै रोजगार ऐन ल्याउने बताएका छन् । उनले आन्तरिक रोजगारीलाई प्राथमिकता दिन नयाँ कानुनी व्यवस्था बनाएर युवालाई रोजगार दिन नीति तथा कार्यक्रम छिट्टै ल्याइने बताए । 

युवासंघ नेपालले राजधानीमा स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले देशमा सीप प्राप्त गरेपछि मात्रै वैदेशिक रोजगारीमा पठाउनुपर्ने बताए । उनले अदक्ष व्यक्ति विदेशमा जाने विभिन्न समस्या भोग्नु परेकाले सीप आर्जन गरेर मात्रै जानुपर्ने बताए । वैदेशिक रोजगारमा रहरले नभई बाहिर पठाउनुपर्ने बाध्यता भएकाले स्वदेशमा नै रोजगारी सिर्जना गर्न राज्य लागि पर्ने विष्टको भनाई छ । 

मन्त्री विष्टले श्रावण १ गतेदेखि श्रमजीवीको न्युनतम पारिश्रमिक निर्धारण गरिने बताए । उनले सीपयुक्त जनशक्तिलाई स्वदेशमा परिचालन गर्न सके समृद्धि नेपाल निर्माण अभियान सफल हुने धारणा राखे ।


देशलाई विश्वको मानचित्रमा समावेश गराउनका लागि युवासंघको नेतृत्वमा श्रमप्रति सम्मान गर्नुपर्छ भन्ने अभियानका अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको विष्टले बताए । 

अमेरिकाका जनताको मेहनतले अमेरिका बन्यो, जापानका जनताको मेहनतले जापान बन्यो, बेलायतका जनताले बेलायत बनाए, युरोपका जनताका मेहनतले युरोप बनेको छ विष्टले भने -'अब नेपाली जनताले नेपाल बनाउने हो, अन्य देश बनाउने होइन, देश बनाउन लागि पारौं ।'

विष्टले विदेशमा जस्तोसुकै काम गर्न तयार हुने नेपालीले नेपालमा पनि श्रमको सम्मान गर्दै देशमा पसिना बगाउनुपर्ने धारणा राखे ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!