औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई कारवाही गरिने

Posted on: 19 Jun, 2018

असार ५, काठमाडौँ |  उद्योग विभागले औद्योगिक विवरण पेश नगर्ने उद्योगपतिलाई कारवाही गर्ने भएको छ । 

विभागले औद्योगिक व्यवसाय ऐन, २०७३ को प्रावधानअनुसार २०७३/७४ को औद्योगिक विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरेकामा उक्त विवरण नपठाए कारवाही गर्ने भएको हो । 

विभागका प्रवक्ता दुर्गाप्रसाद भुसालले मुलुकभर रहेका ठूला, मझौला र विदेशी लगानीका साना उद्योगको विवरण अद्यावधिकका लागि सूचना प्रकाशित गरिएको जानकारी दिनुभयो । “विभागमा दर्ता भएका उद्योग सञ्चालन भए/नभएको हेर्न विवरण अद्यावधिक गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । 

उद्योग विभागअन्तर्गत दर्ता भएका करीब सात हजार ५०० उद्योगमध्ये के कति सञ्चालनमा आएका र के कति सञ्चालनमा आएका छैनन् भन्नेबारेमा सूचना प्रकाशित गरेर विवरण अद्यावधिक गर्न लागेको भुसालले बताउनुभयो । 

उद्योगको नाम, उद्योग रहेको स्थान, सम्पर्क व्यक्ति, उद्योग दर्ता नं र मिति, उद्योग सञ्चालन भएको मिति, उद्योग सञ्चालनको अवधि, कूल लगानी, विदेशी लगानी, रोजगार मजदूर, कच्चा पदार्थको प्रयोगलगायतका विषयवस्तु विवरणका साथ उद्योगले उपलब्ध गराउनुपर्ने हुन्छ । 

औद्योगिक व्यवसाय ऐनको दफा १२ ले उद्योगले तोकेको विवरण उद्योग दर्ता गर्ने निकायसमक्ष पेश गर्नुपर्ने प्रावधान रहेअनुसार विवरण पेश गर्नका लागि विभागले आग्रह गरेको हो । क्षमता र उत्पादनका आधारमा तोकिएको विवरण पेश नगर्ने उद्योगपतिलाई औद्योगिक व्यवसाय ऐनको दफा ४१ बमोजिम कारवाही गर्ने विभागले जनाएको छ । 

उद्योग विभागबाट हालरु १० करोडभन्दा कम विदेशी लगानीका साना उद्योग, रु १० देखि २५ करोडसम्मका मझौला उद्योग र रु २५ करोडभन्दा बढी लगानीका ठूला उद्योग दर्ता हुँदै आएका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!