कर्णालीमा चिनियाँ लगानी भित्र्याउन पहल, मुख्यमन्त्री बुधबार चीन जाँदै

Posted on: 18 Sep, 2018

असोज २, सुर्खेत | कर्णालीको बिकास र समृद्धिका लागि प्रदेश सरकारले चिनियाँ लगानी भित्र्याउने भएको छ । कर्णालीको पर्यटकीय सम्भावनाबारे अध्ययन गरी चिनियाँ लगानी आकर्षित गर्न सरकारले योजना बनाएको छ । यसका लागि कर्णाली सरकारले सुर्खेतको मदानेचौर, वीरेन्द्रनगर र मुगुको रारामा ठुलो विमानस्थलका लागि सम्भाव्यता अध्ययन  थालेको छ ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले चिनियाँ लगानीकर्ताहरुसंग परामर्श थालेका छन् । कर्णाली आएको चिनियाँ लगानीकर्ताको टोलीसंग मंगलबार मुख्यमन्त्री शाही मुगुको रारा पुगेका छन् । रारामा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न चिनियाँ लगानीकर्तासहित आफु रारा पुगेको मुख्यमन्त्री शाहीले बताए । ‘कर्णाली प्रदेशको विकास र समृद्धिका लागि अन्तराष्ट्रिय लगानी जरुरी छ’ उनले भने, ‘अन्तरष्ट्रिय लगानीकर्ता आकर्षणका लागि सरकारले आवश्यक वातावरण बनाउने छ ।’ कर्णालीमा भौतिक पूर्वाधारको बिकासका लागि बिदेशी लगानी आवश्यक भएको उनको भनाई छ ।

कर्णाली सरकारको आग्रहमा चीनको नर्थ वेस्ट एभिएसन कम्पनीसहितको टोलीले कर्णालीका विभिन्न स्थानमा सम्भाव्यता अध्ययन गरेको छ । कर्णालीको पर्यटन बिकास, जलविद्युत आयोजना निर्माण, सडक र विमानस्थल निर्माणका लागि स्वदेशी लगानी प्रयाप्त नभएकोले विदेशी लगानी जुटाउनु पर्ने चुनौती सरकारलाई भएको मुख्यमन्त्री शाहीले बताए ।

चिनियाँ लगानीकर्ताको टोलीसंग मुगुको रारा क्षेत्रमा ठुला होटेल तथा रिसोर्ट र विमानस्थल निर्माणमा लगानी गर्न आग्रह गरेको उनले बताए । रारामा हाई अल्टिच्युट विमानस्थलका रुपमा विमानस्थल निर्माण गर्न लगानीकर्ताहरू सकारात्मक रहेको पनि मुख्यमन्त्री शाहीले बताए । चिनियाँ टोलीसंग कालिकोटको जलविद्युत विकासका लागि तिला १ र २, फुकोट हाइड्रोपावरलगायतका क्षेत्रमा अवलोकन गरिएको मुख्यमन्त्री शाहीले जानकारी दिए।

मुख्यमन्त्री बुधबार चीन जाँदै

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बुधबार पाँच दिने चीन भ्रमणमा जान लागेका छन् । भ्रमण टोलीमा कर्णाली प्रदेशबाट मुख्यमन्त्रीसहित कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, सांसद धर्मराज रेग्मी, पुण्य रेग्मी र मणि चौंलागाईचीन जान लागेका हुन् ।

चीनको सिचुवान प्रान्तमा हुने एक अन्तराष्ट्रिय कार्यक्रममा सहभागी हुन कर्णाली सरकारका मुख्यमन्त्री शाहीसहितको टोली चीन भ्रमणमा जान लागेको हो । चीन सरकारसंग कर्णालीको हिल्सादेखि कोहलपुर जोड्ने सडकमा लगानी गर्न आग्रह गरिने जनाईएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!