८ कम्पनी तीन अर्बको हकप्रद सेयर बेच्दै

Posted on: 13 Nov, 2018

कात्तिक २७, काठमाडौं । विभिन्न ८ कम्पनीले रु तीन अर्ब ८३ करोड दुई लाख ७४ हजार ४५० बराबरका तीन करोड ८३ लाख दुई हजार ७४४ कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गरेका छन् ।

ती कम्पनीले अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा विभिन्न समयमा आवेदन दिएका छन् ।

आवश्यक प्रक्रिया पूरा गरेपछि ती कम्पनीलाई हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिइने बोर्डले जनाएको छ ।

बोर्डमा आवेदन दिएका कम्पनीमध्ये श्रीराम सुगर मिलले रु ८९ करोड तीन लाख ९४ हजार ९८१ मूल्य बराबरका ८९ लाख तीन हजार ९४९ कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गरेको छ ।

उत्पादन क्षेत्रको सो कम्पनीले हकप्रद सेयर बिक्री गर्न सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

मिथिला लघुवित्त वित्तीय संस्थाले रु तीन करोड ९८ लाख ८ हजार ९६९ मूल्य बराबरका तीन लाख २९ हजार ८८९ कित्ता हकप्रद सेयर बिक्री गर्न काठमाडौं क्यापिटललाई बिक्री प्रबन्धकसमेत तोकिसकेको छ ।

माइक्रोफाइनान्स समूहको सो कम्पनीले दुई बराबर एक कित्ताका दरले हकप्रद सेयर बिक्री गर्न लागेको हो ।

त्यस्तै, बरुण जलविद्युत् कम्पनीले एक बराबर एक कित्ता हकप्रद सेयर दिने प्रस्ताव गर्दै स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ ।

सो कम्पनीले रु २५ करोड ५१ लाख १५ हजार मूल्य बराबरका २५ लाख ५१ हजार ५०० कित्ता सेयर बिक्री गर्ने जनाएको छ । कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

नाडेप लघुवित्त वित्तीय संस्थाले पनि एक बराबर एक कित्ता हकप्रद सेयर दिने प्रस्ताव गर्दै स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ ।

सो संस्थाले रु १६ करोड मूल्य बराबरका १६ लाख कित्ता हकप्रद सेयर बिक्री गर्न नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई बिक्री प्रबन्धक तोकेको छ ।

वित्त समूहको सिर्जना फाइनान्सले १० बराबर ६ कित्ता हकप्रद सेयर बिक्रीको तयारी गरेको छ ।

सो कम्पनीले रु २४ करोड चार लाख ८ हजार मूल्य बराबरका २४ लाख चार हजार ८० कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । त्यसका लागि सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

बिमा कम्पनीतर्फ एभरेस्ट इन्स्योरेन्स कम्पनीले पनि एक बराबर एक कित्ता सेयर दिनेगरी स्वीकृतिका लागि बोर्डमा आवेदन दिएको छ ।

सो कम्पनीले रु १४ करोड तीन लाख ३२ हजार ५०० मूल्य बराबरका १४ लाख तीन हजार ३२५ कित्ता हकप्रद सेयर बिक्री गर्ने लक्ष्यसहित सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।

जलविद्युत् कम्पनीतर्फ अपि पावर कम्पनीले पनि लामो समयदेखि एक बराबर दुई कित्ता हकप्रद सेयर बिक्री गर्ने तयारी गर्दै आएको छ ।

सो कम्पनीले रु दुई अर्ब १० करोड मूल्य बराबरका दुई करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री गर्ने गरी सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ । तर, अपि पावरले हालसम्म कुनैपनि कागजात बोर्डमा भने बुझाएको छैन ।

माइक्रोफाइनान्स समूहको उन्नति माइक्रोफाइनान्स कम्पनीले पाँच बराबर एक कित्ता हकप्रद सेयर बिक्रीको अनुमति माग्दै बोर्डमा आवेदन दिएको छ ।

रु एक करोड १० लाख मूल्य बराबरका एक लाख १० हजार कित्ता हकप्रद सेयर बिक्रीका लागि सिद्धार्थ क्यापिटललाई नै बिक्री प्रबन्धक तोकेको छ ।

यस्तै, बोर्डले विभिन्न तीन कम्पनीका रु १६ करोड ९० लाख २५ हजार मूल्य बराबरका १६ लाख ९० हजार २५० कित्ता हकप्रद सेयर बिक्री गर्न स्वीकृति दिएको छ ।

चालू आर्थिक वर्षको हालसम्म उक्त अनुमति पाउनेमा स्वदेशी लघुवित्त वित्तीय संस्था, माहुली सामुदायिक लघुवित्त वित्तीय संस्था र किसान माइक्रोफाइनान्स वित्तीय संस्था रहेका छन् । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!