शेयरबजार सुधारको माग राख्दै लगानीकर्ताहरु आमरण अनसनमा

Posted on: 17 Dec, 2018

पुस २, काठमाडौँ | पूँजीबजारको सुधारको माग राख्दै आएका शेयर लगानीकर्ता दबाव समूहले आजदेखि आमरण अनशनलगायतका कार्यक्रम सार्वजनिक गरेका छन् । 

नेपाल स्टक एक्सचेञ्जको कार्यालय बाहिर दबाव समूहका संयोजक हरि ढकाल र सदस्य तिलक कोइरालाले आमरण अनशन सुरु गरेको जानकारी दिनुभयो । दबाव समूहले विगत आठ दिनदेखि रिले अनशन गर्दै आएका छन् । उनीहरूले पूँजीबजार सुधारको मागमा सरकार र सरकारी निकायले ध्यान नदिएको गुनासो गरे । 

दबाव समूहका संयोजक ढकालले पूँजीबजारको सुधार गरी लगानीकर्ताको लगानी संरक्षण गर्नुपर्ने र लगानीको वातावरण बनाउनुपर्ने आफुहरूको माग रहेको बताउनुभयो । उहाँले सरकारले गठन गरेको कार्यदलले आफूहरूको मागको सुनुवाइ नगरेको समेत गुनासो गर्नुभयो । 

लगानीकर्ताले पूँजीबजारको वृहत्तर हितका लागि अत्यावश्यक ऐन, नियम र कानूनसमेत समयमा ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन् । सरकारले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठन गरेको कार्यदलले अर्थमन्त्री डा युवराज खतिवडालाई प्रतिवेदन बुझाउने तयारी गरेको छ । (रासस)

यस बिषयमा तपाइको प्रतिक्रिया...!