पाइपलाइनबाट पेट्रोलियम पदार्थ केही दिनभित्रै, पाइपलाइनको परीक्षण सफल

Posted on: 19 Jul, 2019

साउन ३, काठमाडौँ | नेपाल आयल निगमले प्राविधिक काम सकेर केही दिनभित्रैमा पाइपलाइनबाट पेट्रोलियम पदार्थको नियमित आयात गर्ने जनाएको छ । 

भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्म पाइप विच्छ्याउने कार्य सम्पन्न भई विभिन्न चरणमा पाइपलाइनको चापीय परीक्षक कार्य भएको जानकारी दिँदै मोतिहारी–रक्सौल–अमलेखगञ्ज पाइपलाइन परियोजना व्यवस्थापक प्रदीपकुमार यादवले छिट्टै आयातलाई नियमित गर्ने उल्लेख गर्नुभएको छ । 

परियोजनाले आज एक विज्ञप्ति जारी गरी पछिल्लो पटक भारतले पटनाको मोतिहारी हुँदै अमलेखगञ्जसम्म पाइपलाइनबाट पठाएको डिजल अमलेखगञ्ज डिपोमा प्राप्त गरेको र सो कार्यको परीक्षणसमेत भइरहेको जनाइएको छ ।

“अबको केही दिनभित्र अमलेखगञ्ज डिपोका प्राविधिक प्रक्रिया सम्पन्न गरी पाइपलाइनबाटै पेट्रोलियम पदार्थ आयात कार्यको शुरुआत गरिने छ”, विज्ञप्तिमा उल्लेख छ । 

पाइपलाइनको परीक्षण सफल 

वीरगञ्ज–मोतिहारी रक्सौल अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजल आएपछि यसको प्रादेशिक परीक्षण सफल भएको छ । बिहारको राजधानी पटनाबाट बाराको अमलेखगञ्ज डिपोमा एक हजार किलोलिटर डिजेल आइपुग्दा यसको अन्तिम परीक्षण सफल भएको आयोजना कार्यालय सिमराले जनाएको छ । 

“अमलेखगञ्जमा राखिएको ट्याङ्किमा डिजल पठाउन पटनामा तयारी अवस्थामा रहेको छ र सुइच अन गरेपछि सो डिजल अमलेखगञ्ज आउने छन”, आयोजनाका इञ्जियर शरदकुमार पौडेलले राससलाई भन्नुभयो । 

यसअघि सो पाइपलाइनबाट पानी पठाएर परीक्षण गरिएको थियो । आज पनि डिजल पठाएर परीक्षण गरिएको छ । शुरुमा पाइपलाइनबाट ६५० किलोलिटर पानी र एक हजार किलोलिटर डिजल पठाएर परीक्षण गरिएको जनाइएको थियो । पटनाबाट अमलेखगञ्जसम्म डिजल आइपुग्न करीब १८ घण्टा लागेको थियो । सो पाइपभित्र तरल पदार्थसँगै रबरका टुक्रा, इलेक्ट्रिक, चुम्बकीय पदार्थ आदिको मात्रा सहितका पदार्थ पठाएर पाइपको भित्री भाग सफा गरिएको थियो । 

सो पेट्रोलियम पदार्थ भारतको बरौनीदेखि बिहारको राजधानी पटना, मोतिहारी र अमलेखगञ्जसम्मको भूभागबाट आएको डिजेलको शुद्धतासमेत परीक्षण गरिएको थियो । 

यसमा नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेशनको संयुक्त लगानी छ । जसमा दुई अर्ब भारत सरकारको र रु ७५ करोड नेपाल सरकारको रहेको छ । कूल लम्बाइ ६९.५ किलोमिटर रहेको सो पाइपलाइन भारततर्फ ३२.५ किलोमिटर र नेपालतर्फ ३७.५ किलोमिटर रहेको छ । विसं २०७२ मा नेपाल भारतबीच भएको सम्झौताअनुसार पाइपलाइन दैनिक २० घण्टा सञ्चालन गर्दा चार हजार किलोलिटर डिजल ल्याउन सकिने छ ।  

अमलेखगञ्जस्थीत आयल निगमको डिपोमा कूल १६ हजार किलोलिटर तेल भण्डारण गर्न सकिनेछ । सो पाइपलाइनको उद्घाटंन दुवै देशका प्रधानमन्त्रीले संयुक्त रुपमा गर्ने तय भए पनि मिति तोकने प्रक्रिया शुरु भएको जनाइएको जनाइएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!