यस्तो छ नयाँ सामाजिक सुरक्षा भत्ता दर, कसको कति पुग्यो ?

Posted on: 13 Sep, 2019

भदौ २७, काठमाडौं | सरकारले चालु आर्थिक वर्ष २०७६/७७ को बजेटमा घोषणा गरेअनुसार जेष्ठ नागरिकदेखि सबै प्रकारका सामाजिक सुरक्षा भत्ता बढाएको छ । चौमासिक रुपमा प्रदान गरिने यस्तो भत्ताको पहिलो किस्ता १ असोजमा वितरण हुन्छ । सोही प्रयोजनका लागि विभागले उक्त दरको विवरण स्थानीय सरकारहरुलाई उपलब्ध गराएको छ ।

सामाजिक सुरक्षा भत्ताका लागि अर्थले आवश्यक रकम विभागमा दिन्छ भने विभागमार्फत स्थानीय तहबाटै वितरण हुन्छ । चालु आवको बजेटले जेष्ठ नागरिकले मासिक पाउँदै आएको भत्ता १ हजारबाट २ हजार पुर्‍‍याएको थियो । ७० वर्ष पूरा भएका जेष्ठ नागरिकले १ हजार रुपैयाँ मासिक उपचार खर्च पनि पाउँछन् । यसरी ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकको मासिक भत्ता ३ हजार पुगेको छ । यसबाहेक साविक कर्णाली अञ्चलका ६० वर्ष नाघेका जेष्ठ नागरिक र ६० वर्ष नाघेका देशभरका तोकिएका दलित समूदायका नागरिकलाई राज्यले सामाजिक सुरक्षा उपलब्ध गराउँदै आएको छ ।

यस्तो छ नयाँ सामाजिक सुरक्षा भत्ता दर

जेष्ठ नागरिक मासिक : २ हजार रुपैयाँ , एकल र विधवा महिला मासिक : २ हजार रुपैयाँ, पूर्ण अपाङ्गता भएका मासिक : ३ हजार रुपैयाँ, अति अशक्त अपांगता मासिक : १६ सय रुपैयाँ, लोपोन्मुख आदिवासी जनजाति मासिक : ३ हजार रुपैयाँ, बालबालिका (बाल संरक्षण अनुदान) मासिक : ४ सय रुपैयाँ, ७० वर्ष पूरा भएका जेष्ठ नागरिक उपचार खर्च (मासिक) : १ हजार रुपैयाँ 

यस बिषयमा तपाइको प्रतिक्रिया...!