एनआरएनए मलेसियाबाट डिआरसीमा निबर्तमान अध्यक्ष न्यौपानेको उम्मेद्वारी

Posted on: 14 Oct, 2019

असोज २७, काठमाडौं । गैरआवासीय नेपाली सघ राष्ट्रिय समन्वय परिषदको आगामी नेतृत्वका लागि मलेसियाबाट एसिया प्यासिफिक क्षेत्रीय सहसंयोजक (डिआरसी)मा उम्मेदवारी दिएका खगेन्द्र न्यौपानेका पक्षमा सर्बसम्मति बन्ने भएको छ ।

एसिया प्यासिफिक सहसंयोजक पदमा दुई जना जान सक्ने भएकाले मलेसियाको प्रतिनिधित्व गरेका न्यौपानेलाई एक पद दिने प्राय सहमति भइसकेको श्रोतको भनाई छ । एनआरएन अभियानमा नेतृत्व तहसँग सहकार्य गरेर सक्रिय रुपमा लागिरहेका न्यौपाने आगामी नेतृत्वमा जसरी भएपनि ल्याउनका लागि सर्बसम्मतिको पहल भएको हो । 


एनआरएनए मलेसियाका निवर्तमान अध्यक्ष न्यौपानेले क्षेत्रीय सहसंयोजक पदका लागि ९ बूँदे घोषणापत्र जारी गर्दै उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनएको मर्म, भावना एवं उद्देश्य पुरा गर्नका लागि आगामी कार्यकालका लागि क्षेत्रीय सहसंयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेको न्यौपानेले बताएका छन् । 

एनआरएनए मलेसियाको उपाध्यक्ष, आइसीसी सदस्य हुदै अध्यक्षको जिम्मेवारी समेत कुशलतापूर्वक निभाइसकेका न्यौपानेले क्षेत्रीय सहसंयोजकमा जाने निर्णय गर्दा एनआरएन मलेसियाले पूर्ण रुपमा समर्थन गर्दै सर्बसम्मत बनाउन दवाव दिइरहेको छ ।

न्यौपानेले आफ्ना प्रतिवद्धता पत्रमा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न विभिन्न कार्यक्रम गर्ने योजना अगाडी सारेका छन् । देशमा लगानी बढाउन पहल गर्ने, पहिलो, दोश्रो पुस्ता मात्र नभएर हरेक नेपालीलाई एनआरएन अभियान भित्र समेट्न पहल गर्ने उनको योजना छ । एसिया प्यासिफिक क्षेत्रमा रहेका नेपालीहरुको सानो सानो पुजिको एकिकृत गरी लगानीको वातावरण बनाउन, एसिया प्यासिफिक क्षेत्रका एनआरएनहरुको क्षेत्रीय श्रमिक सरोकार केन्द्र स्थापना गर्ने योजना उनले ल्याएका छन् । त्यस्तैगरी म्यानमार लुम्बिनी सीधा हवाई सेवाका लागि पहल गर्ने, वैदेशिक रोजगारमा रहेका नेपालीहरुको २४ घण्टे बीमाका लागि पहल गर्ने लगायत काम गर्ने उनले प्रतिवद्धता जनाएका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!