आठौं कर दिवसका अवसरमा १५ विधाका उत्कृष्ट करदाता सम्मानित, यी हुन् सम्मानित हुनेहरु

Posted on: 17 Nov, 2019

मंसिर १, काठमाडौं । सरकारले  सबैभन्दा धेरै कर तिर्ने कम्पनी र व्यक्तिलाई सम्मान गरेको छ । आठौं कर दिवसको अवसरमा अर्थमन्त्री डा. युवराज खतिवडाले गत आर्थिक वर्ष ०७५/७६ मा सबैभन्दा बढी कर तिर्ने १५ विधाका उत्कृष्ट करदातालाई सम्मान गरेका हुन् । 


आर्थिक वर्ष २०७५/७६ मा सबैभन्दा धेरै कर तिर्ने कम्पनीमा सूर्य नेपाल प्रालि परेको छ । यस्तै दोस्रोमा डाबर नेपाल प्रालि, तेस्रोमा जगदम्बा प्रालि र चौथोमा राष्ट्रिय वाणिज्य बैंकले धेरै कर तिरेका छन् । गत आर्थिक वर्षमा बढी कर तिर्नेमा सूर्य नेपाल प्रालि परेको छ । सूर्यले चुरोट उत्पादनलगायतका काम गर्दै आइरहेको छ । 

निर्यातकर्तामध्ये सबैभन्दा बढी आयकर डाबर नेपालले तिरेको छ । मदिरा र चुरोटबाहेक सबैभन्दा बढी आयकर तिर्नेमा भने जगदम्बा स्टिल अग्रपंक्तिमा छ ।

कृषितर्फ अन्नपूर्ण एग्रो, सहकारीतर्फ छिमेकी लघुवित्त र बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी आयकर तिर्नेमा परेका छन् । बीमातर्फ नेपाल लाइफ इन्स्योरेन्स, स्वास्थ्य तथा शिक्षामा मणिपाल मेडिकल कलेज, सूचना प्रविधिमा वर्ल्ड लिंक र व्यापार व्यवसायमा अग्नि इन्कपोरिटेडले राज्यलाई बढी कर बुझाएका छन् ।

अर्थमन्त्रालयका अनुसार पर्यटनतर्फ तारागाउँ रिजेन्सी, हृयात र मध्यमस्तरीय करदाताबाट कामना सेवा विकास बैंक बढी कर तिर्नेमा परेका छन् । आन्तरिक राजस्वको कार्यक्षेत्रभित्र रही धेरै आयकर भियस मोरिससले तिरेको छ भने सिद्धार्थ शमशेर राणा चौथोपटक लगातार धेरै कर तिर्ने करदाता बनेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!