लोकसेवाद्वारा नासु पदका लागि १२ सय ६ जनाको लागि विज्ञापन

Posted on: 08 Jan, 2020

पुस २३, काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा (नासु) पदका लागि १२ सय ६ जनाको लागि विज्ञापन आव्हान गरेको छ । आयोगले आज (बुधबार) एक सूचना प्रकाशित गर्दै राजपत्र अनंकित प्रथम श्रेणी अप्राविधिकतर्फ खुल्ला र समावेशी, ज्येष्ठता, कार्यसम्पादन र कार्य सम्पादनको मुल्याँकनद्धारा हुने बढुवाका लागि विज्ञापन गरेको हो ।

आयोगले खुल्ला र समावेशीतर्फ पाँच सय ४८ जना माग गरेको छ । जसमध्ये आयोगको धनकुटा कार्यालयबाट ७४, जलेश्वर ८९, काठमाडौँ १४९, पोखरा ६३, वुटवल ८६, सुर्खेत ४३ र दिपायल ४४ जनाका लागि विज्ञापन गरेको छ ।

त्यस्तै ज्येष्ठता र कार्यसम्पादन मुल्याँकनतर्फ चार सय ३७ जनाका लागि विज्ञापन गरेको छ । ज्येष्ठता र कार्यसम्पादनतर्फ धनकुटा कार्यालयबाट ५८, जलेश्वर ८९, काठमाडौँ ९६, पोखरा ५३, वुटवल ६१, सुर्खेत ३५ र दिपायलबाट ४५ जना माग गरेको छ ।

त्यसैगरी कार्यक्षमता मुल्याँकनतर्फ दुई सय २१ जना मागका लागि माग गरेको छ । धनकुटाबाट २७, जलेश्वर ४६, काठमाडौँ ४६, पोखरा २८, वुटवल ३६, सुर्खेत १६ र दिपायलबाट २२ जना रहेका छन् ।

माघ १० गतेसम्म दरखास्त गर्न सकिने आयोगले जनाएको छ । दोब्बर दस्तुर तिरेर माघ २१ सम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ । सबै सेवाको लागि प्रथम पत्र अनिवार्य गरिएको छ जुन फागुन २४ गते परीक्षा हुनेछ । प्रथम पत्रमा पास हुनेहरु मात्र दोश्रो चरणको परीक्षमा सहभागी हुन सक्नेछन् । सबै समुहको लागि दोश्रो पत्रको परीक्षा मिति २०७७ बैशाख ११ गतेलाई तोकिएको छ ।

आयोगले यस पटकबाट पाठ्यक्रम परिवर्तन गरि तेश्रो पत्रलाई समेत लिखित बनाएको छ ।  यस पटकबाट न्याय, न्याय, कानून र सरकारी वकिलको लागि छुटै लिखित परीक्षा दिनुपर्नेछ जुन बैशाख १२ गते परीक्षा हुनेछ । त्यस्तैगरी प्रशासन, सामान्य प्रशासन र व्यवस्थापिका संसदका लागि वैशाख १२ गते, प्रशासन, लेखा र लेखा परिक्षणका लागि वैशाख १४ गते, प्रशासन राजस्व समुहको लागि वैशाख १५ गते र पराष्ट्र सेवा पनि लिनेहरुको लागि वैशाख १६ गते परीक्षा मिति तोकिएको छ । प्रत्येक थप समुहको लागि छुट्टै २ सय थप दस्तुर लाग्नेछ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!