१७ पुर्व श्रममन्त्रीलाई बोलाउंदा ३ जना मात्रै उपस्थित, तरपनि श्रममन्त्री यादवले लिए सुझाव

Posted on: 08 Jan, 2020

पुस २३, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले पुर्व श्रममन्त्रीहरु संग छलफल गरेका छन् ।  श्रममन्त्री बनेको एक महिना पछि पूर्व श्रम मन्त्रीहरुलाई (बुधबार) अपराह्न मन्त्रालयको सभाकक्षमा बोलाएर यादवले सम्मान गर्दै अनुभव साटासाट गरेका हुन् ।

मन्त्री यादवले पूर्वमन्त्रीहरुसँग मन्त्रालयहरुको आगामी रणनीति र योजना बारे जानकारी दिदै अनुभव सटासाट गरेका प्रेस संयोजक विजय यादवले जानकारी दिए । मंगलबार मात्रै एक महिने कार्य प्रगति विवरण सार्वजनिक गर्नुका साथै आगामी तीन महिने योजना सार्वजनिक गरेका मन्त्री यादवले पूर्व मन्त्रीहरुको अनुभव र सुझावलाई लिएर आफू अघि बढ्ने बताए । 


‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई सफल पार्न सबैको सहयोग अपरिहार्य रहेको बताउँदै मन्त्री यादवले वैदेशिक रोजगारका क्षेत्रमा देखा परेका विकृति र विसंगति अन्त्यका लागि आफू प्रयासरत रहेको जानकारी दिए । उनले नेपाली कामदारको गन्तव्य रहेका देशमा  सुरक्षित वातावरण बनाउने र यो सरकारको लक्ष्य देशमै रोजगारीको सृजना गर्ने रहेको उल्लेख गरे ।   

 श्रममन्त्री यादवले २०४६ साल यता बनेका १७ जना श्रम मन्त्रीहरुलाई निम्ता दिएका थिए । अनुभव साटासाट गर्ने, अहिले देखिएका समस्याहरुको विषयमा छलफल गर्ने र चुनौतीको पहिचान गर्दै आगामी दिनमा कसरी अगाडी बढ्न सकिन्छ भनेर निष्कर्ष निकाल्ने सोचका साथ मन्त्री यादवले बोलाएका बैठकमा जम्मा तीन जना पुर्व श्रममन्त्री उपस्थित भएका थिए । 


पूर्व श्रममन्त्रीहरु मुकुन्द न्यौपाने, कमल चौलागाई र सरिता गिरी मात्र उपस्थित भए । तैपनि बैठकमा सहभमगी भएका पूर्वमन्त्रीहरुले आफ्नो अनुभव सुनाएका श्रम मन्त्रीका प्रेस संयोजक विजय यादवले जानकारी दिए  ।

बैठमा पूर्व मन्त्री न्यौपानेले मन्त्रालयले काम गर्ने तौरतरिका र सोच्ने तरिकामा रुपान्तरण रहेको बताउँदै कुनै पनि काम गर्नुभन्दा पहिला विज्ञ र सरोकारवालाहरुसँग सरसल्लाह गरि अगाडी बढ्न सुझाव दिए । उनले पहिला उत्पादनको विकास र विस्तार नगरि रोजगारीको विस्तार नहुने भन्दै उत्पादकको विकासमा ध्यान दिन आग्रह गरे । त्यस्तै पूर्व मन्त्री न्यौपानेले योजना र तयारी  बिना मन्त्रीहरुले सस्तो लोकप्रियताको निम्ति बोल्ने तर, त्यस अनुरुप काम गर्दा जनतामा वितृष्णा फैलिएको उल्लेख गर्दै सरकारले बनाएको कार्ययोजना प्रभावकारी ढंगले लागू गर्नुपर्ने कुरामा जोड दिए । 

त्यस्तै पूर्वमन्त्री गिरीले छिमेकी देश चीनले गरेको मानव सँसाधनको विकास र भौतिक विकासको सुक्ष्म अध्यन गरि त्यसअनुसार अगाडी बढ्न आग्रह गर्दै अन्य देशहरु विकसित हुँदा हाम्रो मुलुक किन विकास हुन सकेन भन्ने प्रश्नको गहन अध्यन गर्नुपर्ने बताइन् । 

त्यसैगरी अर्का पूर्वमन्त्री चौलागाईले अस्तव्यवस्त बनेको वैदेशिक रोजगारी क्षेत्रको गम्भीररुपमा अध्यन गरि कार्यक्रम अघि सार्नुपर्ने बताए । वैदेशिक रोजगारीका साथै आन्तरिक, कृषि, जल र पर्यटनका क्षेत्रमा पनि सरकारले ध्यान दिन उनले आग्रह गरे । 

पूर्व मन्त्रीहरुको अनुभाव र सुझाव पछि मन्त्री यादवले उहि अनुभव र सुझावका आधारमा मन्त्रालयले आगामी रणनीति तय गर्ने पनि बताए । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!