४० करोडको 'वैदेशिक रोजगार बचतपत्र' विक्री खुला, कसरी दिने आवेदन हेर्नुहोस् तरिका

Posted on: 24 Jan, 2020

मनोज पराजुली । माघ १०, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजबाट ४० करोड रुपैयाँ बराबरको 'वैदेशिक रोजगार बचत पत्र'को बिक्री खुल्ला गरेको छ। पाँच बर्षमा परिपक्व हुने गरी वैदेशिक रोजगार बचतपत्र २०८१ क, ख, ग बिक्री गर्न लागिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

बार्षिक १० प्रतिशतको दरमा ६/६ महिनामा व्याजदर भुक्तानी हुने उक्त बचतपत्र खरिदको लागि आउँदो चैत्र २१ गतेसम्म आवेदन दिन सकिने राष्ट्र बैंकले जानकारी दिएको छ । निष्काशन मिति माघ २७, फागुन २८ र चैत्र २७ गते तोकिएको बचतपत्रको सावाँ भुक्तानी मिति २०८१ को माघ २७, फागुन २८ र चैत्र २७ गते तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार यो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको ६ महिना नपुगेका नेपाली नागरिक वा गैर–आवासीय नेपालीले आफू  वा आफ्नो परिवारको सदस्य (बुवा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्रको नाममा खरिद गर्न सक्नेछन् ।

घटीमा १० हजार रुपैयाँ र बढीमा रु. १० हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न सकिने उक्त ऋणपत्र धितो राखेर बैंक तथा फाईनान्स कम्पनीहरुसंग कर्जा समेत निकाल्न सकिने राष्ट्र बैंकले जानकारी दिएको छ ।

ऋणपत्र खरिदको लागि  सिटिजन्स् बैंक इण्टरनेशनल लिमिटेड, नबिल बैंक, माछापुच्छ्रे बैंक, प्रभु बैंक, सनराइज बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सेञ्चुरी कमर्सियल बैंक, प्रभु मनि ट्रान्सफर, सिटी एक्सप्रेस मनि ट्रान्सफर, आईएमई लिमिटेड र सेवा रेमिटका केद्रीय कार्यालय तथा शाखा कार्यालयमा सम्पर्क गर्नुपर्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।

बचतपत्र निष्काशनको सूचना हेर्नुहोस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!