ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँले बढ्यो

Posted on: 03 Feb, 2020

काठमाडौँ, २० माघ (रासस)  | नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिण्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिण्डर रु एक हजार ३७५ पुगेको छ । 

यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु १ घटाएको छ । समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर रु ९९ कायम गरिएको निगमले जनाएको छ । निगमले हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले  मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले जानकारी दिनुभयो ।

निगमले ‘पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि, २०७१’ अनुसार प्रत्येक १५/१५ दिनमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । भारतीय आयल निगमले प्रत्येक महिनाको १ र १६ तारिखमा पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाउँदै आएको छ । 

मूल्य समायोजन पश्चात नेपालतर्फ वीरगन्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम पेट्रोलको बिक्री मूल्य प्रतिलिटर १६ रुपैयाँ ४० पैसा र डिजलको मूल्य प्रतिलिटर १६ रुपैयाँ २७ पैसा सस्तो रहेको निगमले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!