काठमाडौँ महानगरपालिका भित्रकै वस्ती विकासको ओझेलमा

Posted on: 22 Jun, 2020

असार ८, काठमाडौँ । काठमाडौँ महानगरपालिका सङ्घीय सरकारको राजधानी भएको स्थल हो । महानगरपालिकामा यस्ता पनि ठाउँ छन् जहाँ आधारभूत सुविधासमेत पुग्न सकेको छैन । गोकर्णेश्वर र बूढानीलकण्ठ नगरपालिकाको सीमामा पर्ने महानगरपालिका–६ स्थित सिमल्टार नामक बस्ती ओझेलमा परेको स्थानीवासीको गुनासो छ । करिब ५०० घर र पाँच हजारभन्दा बढीको जनसङ्ख्या बसोबास गर्ने सिमल्टारको विकास निर्माणमा वडा एवं महानगरपालिकाको ध्यान नगएको साहित्यकार रामकुमार पण्डितले बताउनुभयो । 

कुना काप्चामा परेको भागको सन्तुलित विकास गर्ने उद्देश्यले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचनामा तीन तहको सरकार गठन भए पनि राजधानीकै काँठ क्षेत्रका विकासमा जनप्रतिनिधिको ध्यान जान सकेको छैन । जनप्रतिनिधि मत केन्द्रित राजनीतिमै रमाइरहेका छन् । यस्ता स्थलको विकासमा कुनै पनि दलको ध्यान जाने गरेको छैन । अहिलेसम्म सिमल्टारबाट वडा तहमा निर्वाचन लड्नसमेत कुनै दलबाट स्थानीयवासीले टिकट समेत पाउँदैनन् भन्ने गुनासोसमेत यहाँका बासिन्दाको छ ।

महानगरपालिका–६ मा विश्वमै चर्चित ऐतिहासिक एवं सांस्कृतिकस्थल बौद्ध पर्छ । बौद्ध क्षेत्रमा स्थानीयवासीको सांस्कृतिक गुठी छ । तिनै गुठीका सदस्यको मत स्थानीय निर्वाचनमा निर्णायक हुने भएकाले परका बस्ती ओझेलमा पर्ने गरेको हो । जनप्रतिनिधि मतको राजनीतिभन्दा माथि उठ्न सकेनन् भने सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाप्रति नै वितृष्णा फैलने भएकाले सचेत हुनुपर्ने स्थानीयवासी विश्वराम पुडासैनी बताउनुहुन्छ ।

सिमल्टारमा सडक राम्रो छ्रैन । सडक बत्ती बिग्रिएको वर्षौं भए पनि बनाउनेतिर कसैको ध्यान गएको छैन । ढलको राम्रो प्रबन्ध छैन । खानेपानीको समेत समस्या छ । न्यूरोड, दरबारमार्गकै जत्ति कर तिर्ने सिमल्टारवासी सुविधामा भने त्यहाँका मानिसभन्दा फरक अनुभव गरेकोप्रति महानगरपालिकाको समेत ध्यान गएको देखिँदैन ।

विगत तीन वर्षमा वर्षमा वडाले सबैभन्दा बढी काम सिमल्टारमा गरेको वडाध्यक्ष दीपेन्द्रकुमार लामा बताउनुहुन्छ । यस वर्ष पनि त्रिवेणी मार्गमा ढलान भइरहेको, ब्लक छाप्ने काम भइरहेको बताउनुहुन्छ । महामृत्युञ्जय मन्दिर क्षेत्रमा खानेपानी, ढल, सडक बत्तीको काम भइरहेको पनि उहाँले जानकारी गराउनुभयो । विगतमा सिमल्टार महानगरपालिकाकै विकट बस्तीका रूपमा रहेको वडा कार्यालयले जनाएको छ । कुनै ठाउँमा केही काम गर्नुपर्नेमा ध्यान जान नसकेको भए वडा कार्यालयमा जानकारी गराउन पनि वडाध्यक्ष लामाको आग्रह छ ।

समग्र वडाको समुचित विकास गर्न वडा कार्यालय लागिपरेको जनाइएको छ । बन्दाबन्दीका बेलामा राहत वितरणमा समेत वडा कार्यालय सिमल्टार क्षेत्रलाई प्राथमिकतामा राखेको थियो । रासस 


यस बिषयमा तपाइको प्रतिक्रिया...!