यती एयरलाइन्सद्वारा अन्तर्राष्ट्रिय उडानका लागि निवेदन, यी हुन् अन्तर्राष्ट्रिय उडानको मापदण्ड

Posted on: 10 Jul, 2020

सिबी अधिकारी | असार २६, काठमाडौँ | सरकारले अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालनका लागि इजाजतपत्र प्राप्त गर्न चाहने आन्तरिक वायुसेवा कम्पनीसँग मागेको प्रस्ताव आह्वानमा एक मात्र कम्पनीको प्रस्ताव परेको छ ।

आन्तरिक उडानको यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान इजाजतका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा निवेदन दिएको हो । यतीले आफ्नो भगिनी संस्था तारा एयरमार्फत अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि निवेदन दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अन्तर्राष्ट्रिय उडान अनुमतिका लागि मुलुकमा सञ्चालनरत आवश्यक मापदण्ड पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव मागेको थियो ।

यती एयरलाइन्सले यसअघि पनि अन्तर्राष्ट्रिय उडानको इजाजत (लाइसेन्स) लिएको थियो । विसं २०६३ मा ‘यति इन्टरनेशनल’ नाममा इजाजत लिएको यति एयरलाइन्सले चीनसँगको सहकार्यमा अहिलेको अवस्थामा हिमालय एयरलाइन्स नाममा अन्तर्राष्ट्रिय उडान सञ्चालन गरिरहेको जनाइएको छ ।

कम्पनीले अन्तर्राष्ट्रिय चार्टर्ड उडानका लागि मात्रै इजाजतका लागि निवेदन दिएको पर्यटन मन्त्रालयका सहसचिव सुरेश आचार्यले बताउनुभयो । मन्त्रालयको हवाई महाशाखाका अनुसार यतीले ‘सेडुअल’ उडानका लागि नभई चार्टर्ड उडानका लागि मात्रै इजाजत मागेको छ । इजाजतका लागि प्राप्त कागजातको अध्ययन गरी निर्णय गर्न मन्त्रालयको हवाई महाशाखा प्रमुखसमेत रहनुभएका सहसचिव आचार्यको संयोजकत्वमा ६ सदस्यीय समिति गठन गरिएको छ । 

समितिमा नेपाल नगारिक उड्डयन प्राधिकरणका प्रतिनिधि तथा आमन्त्रित विज्ञ सदस्य रहनेछन् । उक्त समितिले सम्पूर्ण कागजातको अध्ययन गरी मूल्याङ्कनको आधार किटान गर्नेछ । समितिले सातदेखि १५ दिनभित्र इजाजतबारे टुङ्गो लगाउनेछ । मन्त्रालयबाट इजाजत प्राप्त भएपछि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट वायुयान सञ्चालन अनुमति एयर अपरेटर सर्टिफिकेट (एओसी) लिनुपर्ने हुन्छ । सहसचिव आचार्यले अध्ययन कमिटिले साउनको शुरुदेखि मूल्याङ्कन प्रक्रिया अघि बढाउने बताउनुभयो । यतीले अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा पुरानो श्री एयरलाइन्सको इजाजतजस्तै यात्रु र कार्गो चार्टर्डको लागि निवदेन दिएको जनाइएको छ ।

निकट भविष्यमै सञ्चालनमा आउने निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नजिकका अन्तर्राष्ट्रिय गन्तब्यमा उडान भर्ने गरी यतीले उडान अनुमतिको प्रक्रिया अघि बढाएको बुझिएको छ । आगामी डिसेम्बरभित्र निर्माण सकिने गरी भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम द्रूत गतिमा अघि बढिरहेको छ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध विमानस्थलको भौतिक प्रगति ९१ प्रतिशत रहेको छ ।

नेपालमा अहिले निजी क्षेत्रका यतीसहित बुद्ध एयर र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको इजाजत (लाइसेन्स) पाएका छन् । यीमध्ये श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान गर्न पाएको छैन । छोटा गन्तब्यमा चार्टर्ड र कार्गो उडान गर्दै आएको छ । यी कम्पनीले दक्षिण एशियाली विभिन्न मुलुकमा कार्गो र चार्टर्ड उडान भने गर्दै आएका छन् ।  बन्दाबन्दीको अवधिमै पनि बुद्धले बङ्गलादेश र यतीले सिङ्गापुर र अफ्रिकी मुलुक सुडानमा चार्टर्ड उडान गरेको थियो । बुद्धले यसअघि भारतको बनारस र कोलकात्तामा व्यावसायिक उडान गरेको थियो ।

यी हुन् अन्तर्राष्ट्रिय उडानको मापदण्ड

आन्तरिक वायुसेवालाई स्तरोन्नति गरी अन्तर्राष्ट्रिय वायुसेवाको रुपमा तीन वटा वायुयानबाट सेवा सञ्चालनका लागि कम्पनी रजिष्ट्रार कार्यालयबाट प्रमाणित चुक्ता पूँजीसम्बन्धी विवरण पेस गर्नुपर्ने हुन्छ ।

जसअनुरुप ‘क’ वर्गको वायुसेवा सञ्चालन गर्न रु एक अर्ब, ‘ख’ वर्गको वायुसेवा सञ्चालनका लागि रु ७५ करोड र ‘ग’ वर्गको वायुसेवा सञ्चालन गर्न रु ५० करोड चुक्ता पूँजी हुनुपर्छ । तीन वटाभन्दा बढी वायुयानबाट अन्तर्राष्ट्रिय वायुसेवा सञ्चालन गर्ने भएमा प्रत्येक थप वायुयानका लागि माथि उल्लेखित चुक्ता पूँजीमा रु १० करोड थप गर्नुपर्नेछ ।

अहिले नेपालका वायु सेवा कम्पनीले अन्तर्राष्ट्रिय हवाई उडानका लागि अनुमति भए पनि मालबाहक वायुसेवा (कार्गो) को इजाजतपत्र नभएकाले समस्या भएको छ । अन्तर्राष्ट्रिय उडानको इजाजत पाएमा ती कम्पनीले कार्गो, चार्टर्ड र सेडुअल उडान गर्न सक्नेछन् ।

अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि इजाजत लिन दुई प्रक्रियामध्ये एक प्रस्ताव आह्वान गरेर र अर्को खुल्ला प्रतिस्पर्धाबाट हुने प्रावधान रहेको छ । तोकिएको मापदण्ड पूरा गरेर खुल्ला प्रतिस्पर्धाबाट पनि अन्तर्राष्ट्रिय उडानको इजाजत लिन सकिने मन्त्रालयले जनाएको छ ।

आन्तरिक उडानका सौर्य, सीतालगायत वायुसेवा कम्पनी अन्तर्राष्ट्रिय उडान गर्न इच्छुक रहेपनि निवेदन दिएनन् । नेपालमा १० हेलिकप्टरसहित १९ वायुसेवा प्रदायक कम्पनीले आन्तरिक उडान गर्दै आएका छन् । हाल नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स), हिमालय एयरलाइन्स र बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

अन्तर्राष्ट्रिय उडान गर्न चाहने वायुसेवा कम्पनीको योग्यताअन्तर्गत आन्तरिक वायुसेवाबाट अन्तर्राष्ट्रिय वायुसेवा संस्थामा स्तरोन्नति हुनेतर्फ पाँच वर्ष अनवरतरुपमा आन्तरिक वायुसेवा सञ्चालन गरिरहेको, सञ्चालनका लागि चाहिने चुक्ता पूँजी भएको र वायुसेवा संस्थासँग कम्तीमा पाँच वटा वायुयान सञ्चालन रहेको हुनुपर्नेछ ।

‘अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ को खण्ड ६ बमोजिम रु ५० हजार निवेदन दस्तुर र अन्य आवश्यक कागजातसहित प्रस्ताव आह्वानको मितिबाट ४५ दिनभित्र मन्त्रालयसमक्ष निवेदन दिनुपर्नेछ । धरौटी, इजाजत दस्तुर र रुट रोयल्टीवापतको रकम तथा अन्य शुल्कहरु अन्तर्राष्ट्रिय हवाई सेवा इजाजतसम्बन्धी कार्यविधिमा भएको व्यवस्था बमोजिम लागू हुने मन्त्रालयले जनाएको छ ।

योग्यता पुगेका आन्तरिक वायुसेवाको मूल्याङ्कन गरी योग्य आन्तरिक वायुसेवा कम्पनीलाई अन्तर्राष्ट्रिय वायु सेवा सञ्चालनका लागि इजाजतपत्र प्रदान गरिनेछ । मन्त्रालयबाट इजाजतपत्र प्राप्त गरेपछि नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान सञ्चालन अनुमति (एओसी) लिनुपर्ने हुन्छ ।

मन्त्रिपरिषद्को गत वैशाख १५ गतेको निर्णयानुसार स्वीकृत नेपालका निजी क्षेत्रलाई ‘अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालनका लागि इजाजत प्रदान गर्नेसम्बन्धी कार्यविधि, २०७५’ मा भएको व्यवस्थाबमोजिम अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्नका लागि योग्यता र सर्त पूरा गरेका इच्छुक आन्तरिक वायुसेवा कम्पनीसँग प्रस्ताव आह्वान गरिएको मन्त्रालयले जनाएको छ । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!