बाढी र पहिरोले देशभरका कुन कुन सडक अवरुद्ध छन् ? हेर्नुहोस् सूचीसहित

Posted on: 21 Jul, 2020

साउन ६, काठमाडौं । देशभर लगातार वर्षाका कारण बाढी र पहिरोले विभिन्न ठाउँको सडक अवरुद्ध भएका छन् । काठमाण्डौ जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग सोमबारदेखि अवरुद्ध भएको छ । धादिङ र चितवनको सीमामा पर्ने मौवा खोलाको पुल बाढीले बगाएपछि सडक अवरुद्ध छ ।

यस्तै नारायणगढ मुग्लिन सडकखण्डको चारकिलो, मलेखु धादिङबेसी सडकखण्डको परेवाटार, बाँके धन्सार सडकखण्डको चपुरदेखि झण्डै ३ किलोकिमर पूर्वको जुडिवेला कजवेमा र सिद्धिचरण राजमार्गको सिस्नेरी भिर र साल्मे भिरमा पनि पहिरो खसेपछि बाटो अवरुद्ध भएको सडक विभागले जनाएको छ ।

यस्तै सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको गौडे पुलमा पहिरो खसेको तथा बेनी जोमसोम कोरोला सडकखण्ड अन्तर्गत म्याग्दीको काभ्रेभिर, दाना, गलेश्वर र म्याग्दीकै घोप्टेभिरमा पहिरोले बेलिब्रिज बगाउँदा सडक अवरुद्ध भएको छ ।

कान्ति लोकपथको घट्टे पख, बाग धारा, शिलालेख र छपेलीमा, साँफेबगर मार्तडी सडकको अम्कोट द्धावारी खण्ड तथा बेसीशहर चामे सडक अन्तर्गतको घोप्टे खोला, रामबजार र च्याम्चेमा खसेको पहिरो खसेकाले सडकखण्डमा गाडी चल्न सकेको छैन ।

यस्तै अरनिको राजमार्गको माथिल्लो भोटेकोशी ड्याम, डाकलांग, चाकु, झ्याले, जबमु, खग्दोल, सिरिशे र खुर्सानीबारीमा खसेको पहिरोले बाटो नै बगाएकाले कहिले खुल्छ यकिन नभएको सडक विभागले जनाएको छ ।देशभरका कुन सडकको अवस्था के छ ? थाहा पाउन यो लिंकमा क्लिक गर्नुहोस् । 

आजको मौसम पूर्वानुमानमा के छ ?

जल तथा मौसम विज्ञान विभागले मंगलबार देशभर मनसुनी वायुको प्रभाव परेको र न्यून चापीय रेखा नेपालतिर सरेको अवस्था रहेकोले हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी दिएको छ । 

मौसम विभागले जारी गरेको मौसम पूर्वानुमानमा मंगलबार दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको जानकारी दिइएको छ । 

यसैगरी, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी  प्रदेशका थोरै स्थानहरुमा साथै सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

यस्तै, आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा  हल्का देखि मध्यम वर्षा हुनेछ । र, प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी  प्रदेशका थोरै स्थानहरुमा साथै   सुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक वा दुई स्थानमा  भारी वर्षाको समेत सम्भावना रहेको छ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!