पुल निर्माण सम्पन्नः आवतजावतमा सहज

Posted on: 03 Aug, 2020

साउन १९, काठमाडौं । काठमाडौँको टोखामा रु तीन करोड २३ लाख ३६ हजार लागतमा मनोहर तीर्थ पुल निर्माण भएको छ । 

टोखा नगरपालिकाको रु दुई करोड ९६ लाख तथा वाग्मती प्रदेशको रु २७ लाखको लागतमा टोखा नगरपालिका–८ र ११ जोड्ने उक्त पुलको आज टोखाका नगरप्रमुख प्रकाश अधिकारीले उद्घाटन गर्नुभयो । 

कार्यक्रममा नगरप्रमुख अधिकारीले उक्त पुल निर्माणसँगै झोर, साङ्ला, फुटुङ र नुवाकोट आवतजावतमा सहज भएको बताउनुभयो । “टोखा नगरपालिकालाई विकास र समृद्धि बनाउने लक्ष्यअनुसार विकासनिर्माणका कामलाई प्राथमिकता दिएका छौँ,” उहाँले भन्नुभयो । 

मनोहर तीर्थ पुल स्थानीय तहको गौरव गर्न लायक योजना भएको उहाँको भनाइ छ  । पछिल्लो समय टोखाले सडक कालोपत्र, पुल निर्माण, खानेपानी, ढल व्यवस्थित बनाउने काम गर्दै आएको छ । टोखाले चाँडै नै बाँनियाटार र मेरिगोल्ड पुलसमेत निर्माण गर्दैछ । 

विसं २०७६ जेठमा एएनएस र केएम जेविसँग सम्झौता गरेर असारमा शिलान्यास भएको उक्त पुल एक वर्षमा निर्माण सम्पन्न भएको हो । पुलको लम्बाई १५ मिटर छ । 




यस बिषयमा तपाइको प्रतिक्रिया...!