भौतिक रूपमा विद्यालय सञ्चालन हुन थालेपछि विद्यार्थी उत्साहित

Posted on: 03 Oct, 2021

असोज १७ , काठमाडौँ , न्युज कारखाना ।   बिहान ९ बज्नेवित्तिकै तृष्णा श्रेष्ठलाई विद्यालय जान हतार भइहाल्छ  । भक्तपुरको महेन्द्रग्राम माध्यमिक विद्यालयमा पढ्दै आएकी उनी लामो समयसम्म विद्यालय खोलेसँगै खुसी छिन् । उनी भन्छिन्,  ‘धेरै महिनापछि कक्षाकोठामा गएर पढ्न पाएका छौँ । त्यसैले स्कुल कुन बेला जाउँ भनेर हतारो भइहाल्छ।’

 दोस्रो लहरको कोरोना महामारीको संक्रमण बढेसँगै मुलुकभरका अधिकांश विद्यालय बन्द भएका छन् । संक्रमण जोखिम भएपछि भौतिक रूपमा बन्द भएका विद्यालयमा भर्चुअल माध्यमबाट कक्षा सञ्चालन भइरहेका थिए । 

हाल संक्रमण कम भएपछि भक्तपुरका चारवटा स्थानीय तहमध्ये दुईवटा स्थानीय तहले भौतिक रूपमा कक्षा सञ्चालन गर्न अनुमति दिएका छन् । यहाँको चाँगुनारायण नगरपालिका र भक्तपुर नगरपालिकाले भौतिक रूपमा कक्षा सञ्चालन गर्न अनुमति दिएको छ । सूर्यविनायक नगरपालिका र मध्यपुर थिमि नगरपालिकाले तिहारपछि मात्रै विद्यालय सञ्चालन गर्ने दिने निर्णय गरेको छ । 

लामो समयपछि विद्यालयमा भौतिक रूपमा सहभागि भई पढ्न पाउँदा विद्यार्थी पनि उत्साहित छन् । ‘अनलाइनबाट पढ्दा खासै बुझिँदैन । नबुझेको कुरा साथीहरूसँग सोध्न पनि नपाइने,’ उनी भन्छिन, ‘भौतिक रूपमा पढ्न थालेपछि पढाएको कुरालाई राम्ररी बुझ्न सकेका छौँ । अनि सरमिसलाई नबुझेको कुरा सोध्न पाएका छौँ ।’ 

भौतिक रूपमा कक्षा सञ्चालन हुन थालेपछि नानीहरूको पढाइमा सुधार भएको अभिभावक बताउँछन् । अनलाइन कक्षामा ७ वर्षीय छोरालाई अनलाइनमा पढाउन समस्या भएको सुदाउँदै उषा श्रेष्ठले भने, ‘अनलाइनमा पढाउन थालेपछि निहुँ मात्रै खोज्छ । फकाईफकाई पढाउनुपर्ने, अझ दैनिक एकजना पढाउन बस्नुपर्ने हुन्थ्यो । तर अब पढाउन सहज छ ।’

‘घर नजिकैको पारिजात विद्याकुञ्जमा पढ्छ । बिहान साढे ९ बजे विद्यालय पुर्याउन जाने अनि एकैपटक बेलुका लिन जाने मात्रै हो । स्कुल पठाएपछि आफू अरु काममा व्यस्त हुन्छु,’ उनले थपे । 

भौतिक रूपमा कक्षा हुँदा विद्यार्थीमा उत्साह भएको विद्यालयका प्रधानाध्यापकले बताएका छन् । कोरोना महामारीको संक्रमण घटे पनि संक्रमण नियन्त्रण नआएकोले विद्यार्थीहरूलाई मास्क, स्यानिटाइजर र सामाजिक दूरी कायम गरी विद्यालय सञ्चालन भइरहेको श्रीकृष्ण माध्यमिक विद्यालयका प्रधानाध्यापक अरुणकुमार चौधरीले बताए । 

चाँगुनारायण नगरपालिकाको नगरशिक्षा शाखाका अनुसार विद्यालय सञ्चालनका लागि आवश्यक पर्ने सबै तयारी गरी भौतिक रूपमा कक्षा सञ्चालन गर्न अनुमति दिइएको बताए । नगर शिक्षा शाखा अधिकृत दिनेश अर्यालका अनुसार पालिकामा हाल करिब १० हजार विद्यार्थी अध्ययनरत छन् । 

नगर शिक्षा शाखाको बैठक बसी भौतिक रूपमा कक्षा सञ्चालन गर्न अनुमति दिइएको हो । कोरोना महामारी रोकथामका लागि आवश्यक पर्ने मास्क, स्यानिटाइजर, साबुनलगायत सुरक्षाको मापदण्ड अपनाएर भौतिक रूपमा कक्षा सञ्चालन गर्न दिएका छौँ । उनले भने, ‘नगर पूर्ण रूपमा गाउँ र पूर्ण रूपमा सहर छैन । बस्ती पातलो छ । त्यसैले यता कोरोना जोखिम कम छ । बैठक गरी विद्यालय भौतिक रूपमा सञ्चालन गर्न अनुमति दिएका छौँ ।’ 

नगर शिक्षा शाखा, सरोकारवालासँग छलफल गरी भौतिक रूपमा कक्षा सञ्चालन गरेको भक्तपुर नगरपालिकाले जनाएको छ । पालिकाको अनुसार कोरोना संक्रमणको संख्यामा कमी आएपछि १० असोजदेखि नियमित रूपमा परीक्षा सञ्चालन गरेको हो । 

‘कक्षाकोठालाई नियमित निर्मलीकरण गर्न लगाएका छौँ । सुरक्षाको सामग्री वितरण गरेका छौँ,’ उनले भने, ‘विद्यार्थीको संख्या हेरेर  धेरै विद्यार्थी भएको विद्यालयमा सिफ्ट मिलाएर परीक्षा सञ्चालन गर्न लगाएका छौँ । सामाजिक दूरी कायम गरी, स्यानिटाइजर, मास्क अनिवार्य रूपमा प्रयोग गरी विद्यालय सञ्चालन गर्न अनुमति दिएका हौँ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!