वैदेशिक रोजगारीमा जोर्डन पुगेकी धनमाया भन्छिन -'होसमा आउँदा सडकमा थिएँ'

Posted on: 19 Apr, 2018

वैशाख ६ काँकडभिट्टा | वैदेशिक रोजगारबाट घर फर्किएकी बिर्तामोड–२ की ३० वर्षीया धनमाया बस्नेतलाई परिवारले घरबाट निकालिदिएको छ । 

पन्ध्र महिनाअघि वैदेशिक रोजगारका क्रममा खाडी मुलुक जोर्डन गएकी बस्नेत गर्भवती भएर घर फर्किएपछि उहाँको परिवारले घरबाट निकालेको हो । उहाँलाई श्रीमान किरण बस्नेतसहित परिवारका सदस्यले नै वैदेशिक रोजगारका लागि जोर्डन पठाएका थिए । जोर्डन जानका लागि बस्नेतलाई साउदी अरबमा रहेका श्रीमानले नै सहयोग गरेका थिए । 

दुई वर्षकी छोरी छाडेर रोजगारीको सिलसिलामा जोर्डन पुगेकी बस्नेतलाई सँगै काम गर्ने भारतीय नागरिकले बलात्कार गरेका थिए । उहाँ काठमाडौँको एसिसी मेनपावर कम्पनीमार्फत जोर्डन जानुभएको हो । जोर्डनको एउटा गलैँचा उद्योगमा काम गर्नेक्रममा आठ महिना अघि यस्तो घटना घटेको हो । 

उहाँ भन्नुहुन्छ, “साथीसँग समूहमा थिएँ । हाम्रो पछिपछि आउँदै रहेछ, थाहा भएन । म सबैभन्दा पछाडि थिएँ । उसले मेरो अनुहारमा रुमालले छोपेको याद छ । अरु मलाई केही थाहा छैन । होसमा आउँदा सडकमा थिएँ ।” 

श्रीमान् र परिवारका सदस्यलाई घटनाबारे जानकारी नगराएको बताउनुभयो । “परिवारलाई यस्तो घटना सुनाउँदा पीडा हुन्छ भनेर कुरा लुकाए,” उहाँले पीडा सुनाउनुभयो । बलात्कारपछि उहाँ गर्भवती बनेपछि जोर्डनस्थित उद्योगले बस्नेतलाई घर फर्काइदियो । हाल उहाँ आठ महिनाकी गर्भवती हुनुहुन्छ । सात दिनअघि मात्र घर फर्किनुभएकी बस्नेतलाई उहाँका श्रीमान् किरण बस्नेतले गर्भवती भएको थाहा पाएपछि कचनकवल–२ स्थित माइतीको जिम्मा लगाएका छन् । 

बस्नेतका दुई छोरी र एक छोरा छन् । पन्ध्र वर्षकै उमेरमा बिर्तामोड नगरपालिका–२ किरण बस्नेतसँग उहाँको मागी विवाह भएको हो ।

 बुधबार बुबा र स्थानीय महिलासहित आफ्नो जीविकोपार्जनको व्यवस्था मिलाइदिनका लागि श्रीमान भेटन आउनुभएकी धनमायालाई उहाँको परिवारले स्विकार्न तयार भएन । श्रीमानले धनमायासँगको आफ्नो सम्बन्ध सकिएको बताउँदै उहाँलाई कुनै सहयोग गर्न नसक्ने बताएका छन् । 

श्रीमतीले आफूलाई समयमै साँचो कुरा नबताएका कारण यस्तो अवस्था आएको किरणको भनाइ छ । धनमायाका बुबा उदयबहादुर कार्की छोरीलाई ज्वाइँको परिवारले नै विदेश पठाएकाले यस्तो अवस्था सिर्जना भएको हुँदा जीविकोपार्जनका लागि व्यवस्था गर्नुपर्ने बताउनुभयो । “छोरीको बसोबासको व्यवस्था ज्वाइँले नै गर्नुपर्छ,” कार्कीले भन्नुभयो । रासस

यस बिषयमा तपाइको प्रतिक्रिया...!