कामदारसँग चर्को पैसा अशुलेको भन्दै मलेसियाले बंगलादेशबाट कामदार लैजान बन्द

Posted on: 22 Jun, 2018

असार ८, काठमाडौं । मलेसिया सरकारले बंगलादेशबाट कामदार लैजादा बिचौलियाहरुले चर्को रकम अशुल्दै आएको भन्दै तत्कालको लागि बंगलादेशबाट कामदार लिन बन्द गरेको छ । मलेसियाका लागि मानव संशाधन मन्त्री एम कुलासेगरनले मलेसियामा बंगलादेशी कामदार ल्याउने प्रक्रिया तत्काललाई बन्द गरिएको बताएका हुन् ।

द स्टारसँग कुराकानी गर्दै मन्त्री कुलासेगलले भनेका छन् - 'बंगलादेशको सिन्डिकेटले श्रमिकहरुको शोषण गर्दै मानवतस्करी गरिरहेको आरोपको पूर्ण छानबिन नभएसम्म यो प्रक्रिया बन्द हुने छ’  ।

कुलासेगरनले नजीव सरकारले कामदार भर्ना गर्ने प्रक्रियालाई केही मानिसहरुलाई मात्रै फाइदा हुने व्यापार जस्तै गरी सञ्चालन गरेको आरोप समेत लगाएका छन् ।

रिपोर्टका अनुसार अझै १ लाख कामदार मलेसिया जाने चरणमा छन् । मलेसियामा कामदार पठाउँदा १० कम्पनीले मात्र पठाउन पाउने सिन्डिकेट लगाएर मानव तस्कर गरेको उल्लेख छ । बंगलादेशमा १५०० म्यानपावर कम्पनी रहेकोमा १० वटालाई मात्र मलेसिया पठाउन पाउने व्यवस्था सन् २०१६ देखि गरिएको थियो । SPPA मार्फत बंगलादेशबाट मलेसिया जाँदा ३०५ रिंगेट मात्र लाग्नेमा २० हजार रिंगेटसम्म उठाउने गरिएको रिपोर्टमा उल्लेख छ । २०१६ अघि बंगलादेशबाट मलेसिया जाने कामदारले ७ हजारदेखि ८ हजार रिंगेटसम्म तिर्ने गरेकोमा सिन्डिकेटपछी दोब्बरभन्दा बढी अशुली भएको पाईएको बताइएको छ ।

‘पुरै प्रणाली नै अस्तव्यस्त थियो जसमा कामदारहरुले बंगलादेश र मलेसियाका बिचौलियाहरुलाई चर्को पैसा तिर्नुपथ्र्यो,’ उनले भने, ‘कामदार पठाउने प्रक्रियाको सिन्डिकेटमा संलग्न १० कम्पनीलाई पनि निलम्बन गरिएको छ ।’

यस समस्याको मलेसिया सरकारले विस्तृत रुपमा छानबिन गर्ने र समाधानको लागि उपाय खोज्ने जनाएको छ । हालसालैको रिपोर्ट अनुसार बंगलादेशबाट मलेसिया कामदार पठाउंदा मानव तस्करहरुले सिन्डिकेट मार्फत एक कामदारसँग बीस हजार मलेसियन रिंगेटसम्म लिने गरेको जनाएको छ । 

यस अघि नेपाल सरकारले पनि मलेसियामा नेपाली कामदार पठाउँदा मेडिकल माफियाहरुले चर्को शुल्क असुलेको भन्दै गत जेठ ३ गते सिन्डिकेट कायम गर्ने मेडिकल संस्था खारेज गर्ने निर्णय गरेको थियो । सो लगतै मलेसियामा नेपाली कामदार पठाउन रोक लगाएको थियो । सरकारले रोक लागाउनु अघिसम्म नेपालबाट पनि मलेसिया जाने कामदारहरुबाट म्यानपावर तथा एजेन्टहरुले १ लाख देखि २ लाख ५०  हजारसम्म अशुल्दै आएका थिए ।

यस्तै समाचार तथा बैदेशिक रोजगारी बारे दैनिक अपडेट पाउन 'बैदेशिक रोजगार मोबाइल एप डाउनलोड गर्नुहोस् - लिंक तल दिईएको छ... 

https://goo.gl/QbRYoC

यस बिषयमा तपाइको प्रतिक्रिया...!