भिएलएनका श्रेष्ठलाई जिल्ला अदालतबाट सफाई

Posted on: 12 Dec, 2018

मनोज पराजुली, मंसिर २६,काठमाडौं । मलेसिया जाने कामदारमाथि सिन्डिकेट खडा गरी ठगी गरेको आरोप लागेका भिएलएनका अध्यक्ष राम श्रेष्ठलाई जिल्ला अदालत ललितपुरले सफाइ दिएको छ। 

जिल्ला न्यायाधीश विश्वमंगल आत्रेयको इजलासले मंगलबार श्रेष्ठलाई सफाइ दिने फैसला सुनाएको श्रेस्तेदार चन्द्रप्रकाश तिवारीले साझा सवाललाई जानकारी दिए । श्रेष्ठविरुद्ध दायर भएको निवेदनमा सरकारको दाबी पुग्ने प्रमाण प्राप्त नदेखिएकाले सफाईको फैसला भएको श्रेस्तेदार तिवारीले बताए ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको जाहेरीले २०७५ असार ३ गते जिल्ला अदालतमा ठगी मुद्दा दायर गरेको थियो । मन्त्रालयको जाहेरीपछि श्रेष्ठ भदौ १६ मा पक्राउ परेका थिए। सरकारी वकिलको कार्यालयले श्रेष्ठविरुद्ध २ अर्ब ८६ करोड रुपैयाँ बिगो दाबी र ५ वर्ष जेल सजायको माग गर्दै मुद्दा दायर गरेको थियो ।

जेठ २ गते मन्त्री विष्टले ठगी रोक्न भन्दै मलेसिया जाने कामदारमाथि सिन्डिकेट धारी संस्थाहरु बन्द गर्ने निर्णय गरेका थिए। त्यसविरुद्ध उनी सर्वोच्चमा रिट हालेका थिए । तर सर्वोच्चले उनीहरुको विपक्षमा आदेश जारी गरेको थियो ।

श्रेष्ठ यसअघी धरौटीमा छुटेका थिए 

जिल्ला अदालत ललितपुरले श्रेष्ठलाई १२ लाख धरौटी लिई छोड्न आदेश जारी गरेको थियो । मलेसिया जाने कामदारसँग ठगी गरेको भन्दै २ करोड ७५ लाख २२ हजार रुपैयाँ बिगो दाबी राखेर अदालतमा मुद्दा दर्ता गरे पनि जम्मा १२ लाख धरौटीमा रिहा गर्न न्यायाधीश धनसिंह महराको इजलासले आदेश दिएको थियो । श्रेष्ठ हार्भेस्ट मुन समूहका अध्यक्षसमेत हुन् ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!