नेपाल–जापान श्रम सम्झौता काठमाडौँमा हुने

Posted on: 11 Jan, 2019

पुस २७, काठमाडौँ (रासस) | नेपाल र जापानबीच हुने श्रम सम्झौता गर्न जापानी टोली निकट भविष्यमा नेपाल आउने भएको छ । 

नेपालको दुईदिने भ्रमणमा रहनुभएका जापानका विदेशमन्त्री तारो कोनोले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज गर्नुभएको शिष्टाचार भेटमा श्रम सम्झौता काठमाडौँमा गर्ने जानकारी गराउनुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा विदेशमन्त्री कोनोले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन जापानबाट सहयोग हुने प्रतिबद्धता व्यक्त भएको थियो । उहाँले दुई देशबीच हवाई सेवा सम्झौता भएसँगै नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

सो अवसरमा सूर्यविनायक–धुलिखेल सडक विस्तार, कलङ्की–नागढुङ्गा सुरुङमार्ग निर्माण, नेपाली श्रमिकलाई जापानमा रोजगारी प्रदान गर्नेलगायत पारस्परिक सहयोगका क्षेत्रबारे पनि विचार–विमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालको सामाजिक, आर्थिक विकासमा जापानबाट निरन्तर सहयोग प्राप्त भएकामा आभार व्यक्त गर्दै नेपाल सरकारको विकास निर्माणका प्राथमिकता, कृषि क्षेत्रको आधुनिकीकरण, ऊर्जा उत्पादन, पूर्वाधार विकासलगायत क्षेत्रमा सहायताका लागि आग्रह गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!