यूएईमा १ सय भन्दा बढी नेपाली कामदार अलपत्र, नेपाल फर्काइदिन अपिल

Posted on: 11 Jan, 2019

पुस २७,काठमाडौं । वैदेशिक रोजगारीका लागि युएईको आबुधाबी रहेका १ सय भन्दा बढी नेपाली कामदार अलपत्र परेका छन् । सन हिल्स ओभरसिज सर्भिसेज प्रालिबाट रोजगारीका लागि युएईको अल वासिता क्याटरिङ्ग एमीरेट्स कम्पनीमा गएका उनीहरुलाई कम्पनीले वेवास्ता गरेपछि अलपत्र परेको पीडितहरुले बताएका छन् । 

उक्त कम्पनीमा कार्यरत कामदारहरुले तोकिएको तलव लगायत सेवा सुविधा नपाएको बताएका छन् । म्यानपावर कम्पनीले उद्धार गर्न कुनै पहल र सहयोग नगरेको कारण आफूहरुको अवस्था दयनीय बनेको पीडितहरुले बताएका छन् । अलपत्र कामदारहरुका अनुसार उक्त कम्पनीको जोर्डनी सञ्चालक कामदारको तलव तथा अन्य सुविधा नदिई अलपत्र पारेर भागेका छन् । कम्पनी सञ्चालक भागेपछि कामदारहरुलाई खान बस्नको समस्या परेको बताएका छन् । हाल उनीहरुले प्रयोग गर्दै आएको पानी र बिजुलीको लाइन समेत काटिएकोले समस्या थपिएको बताएका छन् ।

अलपत्र परेका कामदारलाई भारतीय दूतावासले सहयोग गरी खाना खुवाएको पीडितहरुले बताएका छन् । अलपत्र पर्नेहरुमा करिव १८ महिनादेखि झन्डै ५ वर्षसम्म काम गरेको कामदार रहेको पीडितहरुले बताएका छन् । अधिकांशले कामदारले ९ महिनादेखि तलब नपाएको कारण तलब बिना नेपाल फर्कन पनि नसकेको बताएका छन् । उनीहरुले आफुले पाउनुपर्ने तलब उपलब्ध गराई छिटो भन्दा छिटो नेपाल फर्कन पाउने व्यवस्था गरिदिन सरकारको ध्यानाकर्षण गराएका छन् । अलपत्रमध्ये कतिपय कामदारको राहदानी साथमा नभएको बताएका छन् भने कतिपयको भीषा म्याद सकिएर अवैध बनेको बताएका छन् । पीडितहरुले नेपाली दूतावासमा समेत उजुरी दर्ता गराईसकेको बताएका छन् । 

म्यानपावर कम्पनीले आफुले पठाएका कामदारहरुमा समस्या आएको स्वीकार गरेको छ। म्यानपावर कम्पनीले सन् २००९ देखि उक्त कम्पनीमा कामदार पठाउँदै आएको तर यस अघि कुनै समस्या नरहेको बताएको छ। पीडितहरुको समस्या समाधानको लागि म्यानपावर संचालक सूर्य अधिकारी स्वयं आज बेलुकी यूएई जान लागेको म्यानपावरले साझा सवाललाई जानकारी दिएको छ। 

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!