जापानसंग सम्झौता नहुँदै पर्पल एच आर सर्भिसलाई कसले दियो डिमाण्ड ?

Posted on: 11 Jan, 2019

पुस २७, काठमाडौं । बैदेशिक रोजगार विभागको निर्देशनको अवज्ञा गर्दै म्यानपावर व्यवसायीले जापानको डिमाण्ड आएको भन्दै भ्रामक विज्ञापन प्रकाशनलाई निरन्तरता दिएको पाइएको छ। 

विभागले पुस १८ गते बैदेशिक रोजगारीको लागि जापान खुलेको भनि गरिएको भ्रामक विज्ञापन प्रति ध्यानाकर्षण भएको जनाएको थियो । तर विभागको निर्देशनलाई अवज्ञा गर्दै राजधानीको बौद्धमा रहेको पर्पल एच आर सर्भिस (लाइसेन्स नम्बर १४२०/०७४/०७५) ले सामाजिक संजाल फेसबुकमा जापानको लागि भन्दै प्रचार गरिरहेको छ । 


यसै विषयमा साझा सबालले छड्के चेक गर्दा म्यानपावरले जापानको लागि कृषि र निर्माण क्षेत्रमा केहि कामदारको डिमाण्ड आएको बताएको छ । विज्ञापनमा दिईएको मध्ये एक मोबाइल नम्बरमा सम्पर्क गर्दा एक व्यक्तिले भने "जापानिज भाषाको 'एन ४ लेवल' पास भएको भए डकुमेन्ट लिएर म्यानपावर आउनुस् काम हुन्छ । जति चांडो आउनुभयो, त्यति छिटो काम बन्छ ।'' उनले प्रोसेसिङको लागि एउटा फोटो समेत चहिने बताए । सम्बन्धित १२ कम्पनिसंगको कुराकानीका आधारमा डिमाण्ड आएको ति व्यक्तिले दावी गरेका छन् । 

म्यानपावर कम्पनीले विज्ञापन प्रकाशन गर्नको लागि बैदेशिक रोजगार विभागबाट डिमाण्डको पुर्व स्वीकृति लिनुपर्छ तर यस म्यानपावरले पुर्व स्वीकृति विना नै गलत विज्ञापन दिएर सामाजिक संजाल मार्फत कामदारहरुलाई भ्रम छरेको छ । 

विभागले यसअघि जारी गरेको विज्ञप्तीमा भनेको छ- "विगत केहि समय अघि देखि केहि छापाहरुमा व्यक्ति/कम्पनि तथा बैदेशिक रोजगार संचालनको लागि इजाजत प्राप्त संस्थाहरु समेतले जापानको लागि बैदेशिक रोजगारीमा कामदारहरु पठाउने तथा श्रम अनुमति समेत खुलेको भनि विज्ञापन प्रकाशित गरेको पाइएकोले त्यस्ता कार्य नगर्न विभागको ध्यानाकर्षण भएको छ।'' 

विभागले बिज्ञप्ति मार्फत जापान पठाउने भनि संस्थागत/ व्यक्तिगत/कम्पनीबाट गरिएको सबै क्रियाकलाप कानून विपरित देखिन आएकोले त्यस्ता गतिविधि नगर्न/नगराउन सबैमा सचेत गराएको थियो । विभागले जारी गरेको सूचनाको अवज्ञा गरि गैर कानूनी क्रियाकलाप गरे/गराइएको पाइएमा त्यस्ता व्यक्ति/संस्था/कम्पनि उपर बैदेशिक रोजगार ऐन/नियम अनुसार तत्काल कारवाही गरिने जनाएको विभागले यस म्यानपावरलाई के कारवाही गर्छ त्यो भने हेर्न बाँकि छ। 

नेपालबाट कामदार बैदेशिक रोजगारीका क्रममा जापानमा पठाउने सन्दर्भमा हालसम्म नेपाल सरकारबाट कुनै पनि निर्णय भई सकेको छैन । त्यसमा पनि श्रम सम्झौता पछि म्यानपावरले जापान कामदार पठाउन पाउने/नपाउने समेत निश्चित छैन ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!