म्यानपावर कम्पनीको धरौटी रकम पुन: परिमार्जन, वर्षमा कम्तिमा १०० कामदार पठाऊनै पर्ने

Posted on: 11 Feb, 2019

माघ २८, काठमाण्डौ । म्यानपावर कम्पनीको धरौटी रकम पुन: परिमार्जन भएको छ । सोमबार बसेको कानून समितिको बैठकले म्यानपावर कम्पनीलाई तीन भागमा वर्गीकरण गर्दै धरौटी रकम परिवर्तन गरेर पेश गर्ने निर्णय गरेको हो ।


समितिले वर्षमा ३ हजारसम्म कामदार पठाउनेलाई ५० लाख नगद र १ करोड ५० लाख बैंक ग्यारेन्टी, ३ हजारदेखि ५ हजारसम्म कामदार पठाउनेलाई १ करोड नगद २ करोड बैंक ग्यारेन्टी र पाँच हजारभन्दा बढी  कामदार पठाउनेलाई २ करोड नगद र ४ करोड बैंक ग्यारेन्टी राख्नुपर्ने व्यवस्था गरेको छ । 

यसअघि, सरकारले ५ हजारभन्दा बढी कामदार पठाउनेलाई नगद २ करोड र ४ करोड बैंक ग्यारेन्टी र कम पठाउनेलाई १ करोड नगद र २ करोड बैंक ग्यारेन्टी धरौटी सहितको पस्ताव सहितको  विधेयक दर्ता गरेको थियो । हाल सबै म्यानपावर कम्पनीको धरौटी सात लाख रुपैयाँ नगद र २३ लाख बैंक ग्यारेन्टी राख्नु पर्ने व्यवस्था रहेको कायम रहेको छ ।

समितिले बैदेशिक रोजगार व्यवसायी संघले दिएको सुझाव अनुरुप नै वर्षमा १ सय जना कामदार विदेश पठाउन नसक्ने म्यानपवारलाई खारेजसम्म गर्न सकिने व्यवस्था गरेको छ। नेपाल ऐनमार्फत वैदेशिक रोजगार ऐनमा संशोधन गरेको संशोधन प्रस्तावमा समितिले कामदार कम्पनीलाई एक पटक अवसर दिने र अर्को पटक पनि सयभन्दा बढी कामदार पठाउन नसकेमा खारेज गर्ने निर्णय गरेको छ । 

एकाघरका परिवारले एउटाभन्दा बढी म्यानपावर कम्पनी सञ्चालन गर्न नपाउने र त्यस्तो भए ६ महिनाभित्रमा मर्ज गर्न समय दिने निर्णय पनि गरेको छ । हाल एकै व्यवसायीका १ भन्दा बढी म्यानपावर कम्पनी संचालनमा रहेका छन् । 

समितिले पारित गरेको विधेयक संघीय संसदको बैठकमा पेश गरिनेछ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!