मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सूचीकृत हुन २९० संस्थाको आवेदन

Posted on: 15 Apr, 2019

बैशाख २, काठमाडौँ ।  वैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणमा सूचीकृत हुन २९० स्वास्थ्य संस्थाले आवेदन दिएका छन् । पहिले सुचीकृत भएका २२६ र अहिले थप आवेदन दिएका १२६ गरि कुल ३५२ मध्येबाट २९० स्वास्थ्य संस्थाले दिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ।

मापदण्ड पुगेका स्वास्थ्य संस्थालाई सूचीकरण हुन आवेदन दिनका लागि दिएको समयसीमा सोमबारबाट सकिएको छ। मलेसिया सरकारले कामदारको स्वास्थ्य परीक्षण मापदण्ड पठाएपछि सो मापदण्ड पूरा गरेका सबै स्वास्थ्य संस्थालाई आवेदन दिन सरकारले २०७५ चैत १८ गते सूचना प्रकाशित गरेको थियो। सूचना प्रकाशित गरिएको १५ दिनभित्र आवेदन दिन मापदण्ड पूरा भएका सबै स्वास्थ्य संस्थाहरुलाई आह्वान गरिएको थियो। 

मलेसिया रोजगारीका लागि जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरु यसअघि ३७ वटा मात्रै थिए। तर ३७ वटा संस्थाले स्वास्थ्य परीक्षण लगायतका नाममा कामदारसँग चर्को शुल्क असुलेको भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टको निर्देशनमा यी संस्थालाई गत जेठ २ गतेबाट कारबाही गरिएको थियो । 

गएको कात्तिकमा नेपाल र मलेसियाबीच भएको श्रम समझदारी अनुसार मलेसियाले पठाएको मापदण्ड पूरा गरेका स्वास्थ्य संस्थाले स्वास्थ्य परीक्षणका लागि निवेदन दिएका हुन् । सूचीकरणका लागि आएको निवेदनका आधारमा स्वस्थ्य मन्त्रालयको विशेषज्ञ टोलीले मापदण्ड पुगे, नपुगेको निरीक्षण गरेपछि गर्ने सिफारिसका आधारमा स्वास्थ्य संस्था छनोट गरिने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

मलेसियाले कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूको स्वास्थ्य परीक्षण मापदण्ड पूरा हुनका लागि विभिन्न भौतिक तथा मानव संसाधन हुनुपर्ने मापदण्ड पठाएको छ । त्यस्तै मन्त्रालयले सूचीकरण लागि सबै स्वास्थ्य संस्थालाई आह्वान गरेको थियो । जसमा ३५२ वटा स्वास्थ्य संस्थाले आवेदन दिएका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!