एसओएस म्यानपावरमा विभागको छापा, महत्वपूर्ण कागजातहरु नियन्त्रणमा

Posted on: 18 Apr, 2019

बैशाख ५, काठमाण्डौं । राजस्व अनुसन्धान विभागले एसओएस म्यानपावरमा छापा मारेको छ । कर छलीको आरोपमा विभागको टोलीले बुधबार राजधानीको धापासीस्थित म्यानपावरमा छापा मारी महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएको हो ।

कल छलीको आशंकामा अझै आधा दर्जनभन्दा बढी म्यानपावर कम्पनीमाथि अनुसन्धान जारी राखेको विभागले जनाएको छ । विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहत ल्याइएपछि म्यानपावर कम्पनीमा दोस्रो पटक छापा मारिएको हो । यस अघि वैदेशिक रोजगार व्यवसायी संघका पूर्व अध्यक्ष बलबहादुर तामाङको स्काई ओभरसिजमा छापा मारी आवश्यक प्रकृया पुरा गरेर विभागले अदालतमा मुद्वा दायर गरिसकेको छ । 

म्यानपावर कम्पनीले वैदेशिक रोजगारीमा कामदार आपूर्ति गर्दा हुने आयमा कर छली गरेको पाइएपछि उनीहरुलाई कारबाहीको दायरामा ल्याइएको र थप अन्यको पनि अनुसन्धान जारी रहेको विभागले जनाएको छ । म्यानपावरले विदेशमा कामदार पठाएको विवरण यथार्थ नबुझाएको र ठूलो मात्रामा राजश्व छली गर्ने गरेको सूचना आइरहेको राजश्व विभागको भनाई छ । 

म्यानपावर व्यवसायीहरुले आफूले व्यवसाय गरेबापत कमाएको आय अत्यन्त कम देखाउने र त्यस बापतको राज्यलाई तिर्नुपर्ने कर नतिरेको भन्ने विभिन्न सूचना प्राप्त भइरहेकोले केही म्यानपावरमाथी छानविन भइरहेको विभागको भनाइ छ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!