दर्जनौं म्यानपावर कम्पनीको सम्पूर्ण कारोवार रोक्का हुनसक्ने

Posted on: 15 May, 2019

जेठ १, काठमाडौँ | म्यानपावर कम्पनीको सम्पूर्ण विवरण अद्यावधिक गर्न अन्तिम पटक म्याद थप गरिएसँगै थप म्यादमा पनि आफ्नो विवरण नदिने म्यानपावरहरुको सम्पूर्ण कारोवार बन्द गरिने बैदेशिक रोजगार बिभागले जनाएको छ । 

वैदेशिक रोजगार विभागले इजाजत प्राप्त मेनपावर कम्पनीको सम्पूर्ण विवरण अद्यावधिक गर्न अन्तिम पटक समय थप गरेसँगै जेठ ३ गतेसम्म पनि आफ्नो विवरण नदिने धेरै म्यानपावर कम्पनीको कारोवार रोक्का हुन सक्ने देखिएको छ ।  सरकारले धरौटी बढाएसँगै कतिपय म्यानपावर व्यवसायी हतोत्साही पनि भएका छन् । उनीहरु म्यानपावर संचालन गर्ने/नगर्ने भन्नेमै दोधारमा देखिएका छन् । त्यसो त यसअघि आफ्नो सहजताको लागि एकै म्यानपावर संचालकको अधिनमा फरक दुई म्यानपावर कम्पनी चलाउने गरेकोमा त्यस्तो कम्पनीहरु आफै मर्जमा आउने गरि तयारीमा लागेका छन् । 

बैदेशिक रोजगार विभागले इजाजत प्राप्त मेनपावर कम्पनीलाई उनीहरुको विवरण यही वैशाख २३ गतेदेखि २९ गतेसम्म बिभागको सूचना व्यवस्थापन प्रणालीमा अद्यावधिक गर्न निर्देशन दिएको थियो । उक्त मितिसम्ममा आफ्नो म्यानपावरको विवरण अद्यावधिक गर्न नसकेका केहि म्यानवापर कम्पनीको आग्रहमा विभागले पुनः जेठ ३ गतेसम्मको लागि म्याद थप गरेको छ । अन्तिम पटक तोकिएको समयावधिभित्र पनि विवरण अध्यावधिक नगरे त्यस्ता म्यानपावर कम्पनीको अनलाइन मार्फत हुने सबै कारोवार रोक्का हुने बिभागले जनाएको छ ।

कारोवार बन्द भएपछि ती कम्पनीले वैदेशिक रोजगारसँग सम्बन्धित कार्य गर्न पाउने छैनन् । म्यानपावरले आफ्नो कम्पनीका कर्मचारीको विवरण र शाखा सञ्जालन लगायत विवरण सूचना अद्यावधिक गर्नुपर्ने छ । विभागमा एक हजार ५२७ मेनपावर दर्ता भएकामा अहिले एक हजार २४० मात्र सञ्चालनमा छन् । 

विभागले हालसम्म नियम विपरीत काम गर्ने २०७ मेनपावरको दर्ता खारेजी गरेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!