म्यानपावर व्यवसायीहरुद्वारा सरकारलाई यस्तो ध्यानाकर्षण

Posted on: 21 May, 2019

जेठ ७, काठमाडौँ | म्यानपावर व्यवसायीले कानूनी तथा व्यवस्थापकीय सुधार गरेर मात्र सीपमूलक तालीम लिएका कामदारलाई श्रम स्वीकृति प्रदान गर्ने निर्णय कार्यान्वयन गर्न सरकारसँग आग्रह गरेका छन् । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले वैदेशिक रोजगारी वा स्वदेशमै रोजगारीका क्रममा रोजगारदाता कम्पनीले प्रदान गरेको अनुभवको प्रमाणपत्र, अन्तर्राष्ट्रिय सीप परीक्षण संस्थाबाट प्राप्त गरेको प्रमाणपत्रलाई मान्यता दिन अनुरोध गरेको छ । 

सङ्घले सीप परीक्षणसम्बन्धी कार्यका लागि आवश्यक कार्यविधि तयार गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा १९ को व्यवस्थालाई परिमार्जन/संशोधन गरी रोजगारदाता कम्पनीले कामदारलाई प्रदान गरेको करारपत्रमा उल्लेख गरिएको पदलाई आधार मानी अन्तिम श्रम स्वीकृति दिने व्यवस्था गर्नसमेत आग्रह गरिएको छ ।

विदेशबाट सीप सिकेर आएका तर औपचारिक प्रमाणपत्र नभएका र देशमै काम गरी सीप सिकेका व्यक्तिलाई सातै प्रदेशमा सीप परीक्षणको व्यवस्था मिलाउनसमेत विभागको ध्यानाकर्षण गराइएको सङ्घका प्रथम उपाध्यक्ष रामप्रसाद भन्तनाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सीप परीक्षणका लागि कामदार राजधानी नै धाउनुपर्ने अवस्थाको अन्त्य गरिनुपर्छ, सीप परीक्षणलाई विकेन्द्रीत गरिनु आवश्यक छ, सीप परीक्षणको प्रमाणपत्र अनिवार्यरुपमा पेश गर्ने सरकारको निर्णय र वैदेशिक रोजगार ऐनको दफा १५ देखि १९ सम्मका व्यवस्थाबीच तालमेल खाँदैन, यही नीतिगत सुधारका लागि आग्रह गरेको हौँ ।”

सङ्घले राष्ट्रिय, अन्तर्राष्ट्रिय मापदण्ड र मान्यता प्राप्त गरी वैदेशिक रोजगार व्यवसायीद्वारा सञ्चालन भएका तालीम केन्द्रलाई प्राथमिकतामा राखी सूचीकृत गर्न अनुरोध समेत गरेको छ । सङ्घका अध्यक्ष रोहन गुरुङ नेतृत्वको प्रतिनिधिमण्डलले आज विभागमा पुगेर महानिर्देशक भीष्मकुमार भुसालको ध्यानाकर्षण गराएको थियो । 

सो अवसरमा महानिर्देशक भुसालले सरकारले वैदेशिक रोजगारीलाई सुरक्षित र प्रतिफलमुखी बनाउनका लागि सीप परीक्षणको प्रमाणपत्र अनिवार्य गर्न लागेको जानकारी गराउँदै कार्यान्वयनका क्रममा आइपर्ने व्यावहारिक जटिलता समाधान गर्न पहल गर्ने बताउनुभएको थियो । 

विभागले आगामी असार १५ गतेदेखि विभिन्न १२ प्रकारका पदमा वैदेशिक रोजगारीमा जान चाहनेका लागि सीपमूलक तालीम हासिल गरेको प्रमाणपत्र अनिवार्यरुपमा पेश गरेर मात्र श्रम स्वीकृति दिइने जनाएको छ । अनुभवको प्रमाणपत्र पेश गर्न नसक्नेको हकमा वैदेशिक रोजगार बोर्डको सचिवालयमार्फत् सीप परीक्षण गराई प्रमाणपत्र लिएर मात्र श्रम स्वीकृति दिइने विभागले जनाएको छ । 

विभागले पहिलो चरणमा विभिन्न १२ प्रकारका सीप सिकेका कामदारको मात्र श्रम स्वीकृति प्रदान गरिने निर्णय गरेको छ । हाउस वाइरिङ, इलेक्ट्रिसियन, वेटर, कुक, सेक्युरिटी गार्ड, मेसन, स्टिल फिक्चर्स, हाउस किपिङ, क्लिन, स्काफोल्डिङ, सटरिङ कार्पेन्टर, पेन्टर, गार्मेन्ट, टेलरिङ र प्लम्बिङ क्षेत्रमा जाने कामदारले अनिवार्य रुपमा सीप परीक्षण प्रमाणपत्र पेश नगरे श्रम स्वीकृति प्रदान नगरिने जनाएको छ । 

पछिल्लो समय सरकारले नेपाली नागरिकलाई न्यूनतम सीप सिकाएर मात्र वैदेशिक रोजगारीमा पठाउने निर्णय गरेको छ । सरकारले चालू आर्थिक वर्षभित्र सिकाइ परीक्षणलाई परीक्षणका रुपमा लागू गर्ने र आगामी आवदेखि सीप विकास तालीमलाई सबै प्रदेशमा विस्तार गरी गुणस्तरीय प्रशिक्षण दिने र सीप प्रमाणीकरण गर्ने व्यवस्था मिलाउने तयारी गरेको छ । सरकारले सीपमूलक कामका लागि वैदेशिक रोजगारीमा जाने कामदारले तालीम लिएको प्रमाणपत्र अनिवार्यरुपमा बुझाई श्रम स्वीकृति दिने व्यवस्थालाई क्रमशः कार्यान्वयन गर्दै लैजाने जनाएको छ ।  

यस बिषयमा तपाइको प्रतिक्रिया...!