भारत प्रवेशमा कडाइ- नेपालीलाई भिसा अनिवार्य, सूचना हेर्नुहोस्

Posted on: 22 Jun, 2019

असार ७, काठमाडौँ | भारत जाने नेपालीलाई कडाइ गर्दै भारतले भिसा अनिवार्य गरेको छ । चीन, मकाउ, हङकङ र पाकिस्तानलगायतका देशबाट भारत जाने नेपालीका लागि भारत सरकारले कडाइ गरेको हो ।  

दिल्लीस्थित नेपाली दूतावासले एक सूचना जारी गर्दै भारत सरकारको निर्णय अनुसार काम गर्न सूचित गराएको छ । दूतावासले जारी गरेको सूचना अनुसार चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपालीका लागि भारतको भिसा आवश्‍यक पर्नेछ ।

यस्तै, भारत हुँदै तेस्रो मुलुक जाने नेपालीले दिल्लीस्थित नेपाली राजदूतावासको नो अब्जेक्सन लेटर अनिवार्य लिनुपर्ने भएको छ । दूतावासका अनुसार तेस्रो मुलुक जाने नेपालीले नो अब्जेक्सन लेटर लिनुपर्ने र त्यसका लागि आवश्यक प्रक्रियासमेत पूरा गर्नुपर्ने जनाएको छ ।


साउदी अरेबिया, कुवेत, ओमान, बहराइन, कतार, कुवेत, यूएई, मलेसिया र लेबनान जान परेमा नो अब्जेक्सन लेटर लिनुपर्ने व्यवस्था लागू भएको हो । दुतावासको अनुइसार भारतीय अध्यागमन पार गरि साउदी अरव, कतार, कुवेत, यएई, ओमान, बहराइन, इराक, लिविया र लेवनान यात्रा गर्ने नेपाली नागरिकलाई भारतीय अध्यागमन पार गर्दा राजदुतावासको सिफारिस पत्र आवश्यक हुने जारी सूचनामा उल्लेख छ ।

भारत हुँदै ति देशमा जाँदा मनाशिव कारण सहित सम्बन्धित व्यक्तिको हस्ताक्षर सहितको निवेदन, यात्रा गर्ने व्यक्तिको राहदानी, गन्तव्य देशको भिषा र हवाई टिकटको प्रति लिपि आवश्यक पर्ने उल्लेख छ । त्यस्तै रोजगार भिसामा विदेश जाने जोसुकै व्यक्तिले रोजगार बिभाग वा अन्तर्गतबाट जारी श्रम स्वीकृति लैजानु पर्नेछ । 

जारी सूचनाको (ख) बुदामा भनिएको छ कि 'चीन, मकाउ, हङकङ र पाकिस्तानबाट भारत प्रवेश गर्ने नेपाली नागरिकहरुका लागि भारतको भिसा आवश्यक पर्ने जानकारी प्राप्त भएकोले सोहि बमोजिम गर्नुहुन जानकारी गराइन्छ  ।'

दूतावासले जारी गरेको सूचना हेर्नुहोस् 


यस बिषयमा तपाइको प्रतिक्रिया...!