म्यानपावर सञ्चालकको शैक्षिक कन्सल्टेन्सीमा छापा, युरोप पठाउने धन्दा गरेको भेटियो

Posted on: 12 Aug, 2019

साउन २७, काठमाडौं । वैदेशिक रोजगार विभागद्वारा पहिलोपटक वैदेशिक रोजगारीका नाममा ठगी गर्ने कन्सल्टेन्सीमा छापा मारेको छ । पछिल्लो समय बैदेशिक रोजगार बिभागले अनुगमनलाई तीब्रता दिईरहेको बेला विभागले काठमाडौंको सिनामंगलस्थित एलाइन्स इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीमा छापा मारेको हो ।

यो कन्सल्टेन्सी म्यानपावर व्यवसायी सुजितकुमार श्रेष्ठले चलाएको भेटिएको छ । म्यानपावरबाट छलेर कामदार अवैध रूपमा पठाउन उनले कन्सल्टेन्सीलाई प्रयोग गर्ने गरेको विभागको प्रारम्भिक अनुसन्धानबाट फेला परेको छ । उनले कन्सल्टेन्सीबाटै प्रक्रिया मिलाएर  कामदार भिसामा विभिन्न देशमा पठाउने गरिएको दावी विभागको छ । 

कानूनअनुसार म्यानपावरले मात्रै वैदेशिक रोजगारीमा पठाउन पाउँछन् तर श्रेष्ठले कन्सल्टेन्सीबाटै मोटो रकम अशुली गरेर युरोप पठाउने धन्दा चलाएको भन्दै उजुरी परेको थियो । सामाजिक सञ्जालमार्फत युरोपका विभिन्न देशमा विभिन्न पदको लागि विज्ञापन गर्दै कन्सलटेन्सीले अन्तरवार्ता लिएर अवैध रुपमा वैदेशिक रोजगार सम्वन्धी काम गरेको बिभागले सूचना पाएको थियो ।

अनुगमनको क्रममा उक्त कन्सल्टेन्सीवाट साइप्रस देशमा वैदेशिक रोजगारमा जानको लागि अवेदन दिएकाहरुको आवेदन फाइल तथा व्यक्तिहरुको राहदानीको स्क्यान कपी, कामदार भिसा र युरोपका विभिन्न मुलुकमा कामदार भिसामा पठाएका व्यक्तिहरुको विवरण समेत अनुगमन टोलीले फेला पारेको छ ।

टोलीले कन्सल्टेन्सीमा भेटिएका वैदेशिक रोजगार सम्वन्धी कागजात र कम्प्युटर सिपियु जफत गरी ल्याएको महानिर्देशक भीष्मकुमार भुसालले जानकारी दिए । कन्सल्टेन्सीमा संचालक श्रेष्ठलाई आवश्यक वयानको लागि विभागमा उपस्थित हुनको लागि पत्र थमाइएको बिभागले जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!